काठमाडौं। शिक्षा मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ मा विदेश अध्ययनका लागि १ लाख १२ हजार ५९३ विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएको जनाएको छ।
मन्त्रालयको एनओसी शाखाका अनुसार २०८० साउन १ देखि २०८१ असार ३१ सम्म उक्त संख्यामा एनओसी जारी भएको हो।
विभिन्न ६६ देशमा अध्ययनका लागि १ लाख १२ हजार ५९३ जनाले एनओसी लिएको मन्त्रालयको तथ्यांक छ। ९४ विषय अध्ययनका लागि विद्यार्थीले उक्त संख्यामा एनओसी लिएका हुन्।
एनओसी शाखाका अनुसार नयाँ एनओसी जारी गर्दा पुरानो एनओसी पत्र रद्द हुने भएकाले देशगत र विषयगत तथ्यांक फरक पर्न सक्नेछ।
विदेश अध्ययनका लागि सबैभन्दा बढी जापान गएका छन्।
जापान अध्ययनका लागि ३४ हजार ७३१ विद्यार्थीले एनओसी लिएका छन्। दोस्रोमा क्यानडाका लागि १५ हजार ९८२ जनाले एनओसी लिएका छन्।
अस्ट्रेलियाका लागि १४,३७२, बेलायतका लागि १३,३३९, अमेरिकाका लागि ११,२६१, कोरियाका लागि ६,८८९ जनाले एनओसी लिएका छन्। मन्त्रालयको एनओसी शाखाका अनुसार सबैभन्दा बढी जापानी भाषा पढ्न ३३ हजार ६९७ एनओसी जारी भएका छन् ।
यस्तै, व्यवस्थापनका लागि २८,८९१, बिजनेसका लागि १०,०२९, हेल्थका लागि ४,१५९, साइन्स एन्ड टेक्नोलोजी अध्ययनका लागि ४१०२ एनओसी जारी भएको मन्त्रालयले जनाएको छ।