काठमाडौं । श्यामबहादुर पाण्डे होटल क्षेत्रको पायोनियर नाम हो। सरकारी सेवा छाडेर पाण्डेले चार दशकअघि काठमाडौंको लाजिम्पाटमा पाँच तारे होटल सांग्रिला सञ्चालनमा ल्याए।
मध्यमवर्गीय पर्यटकलाई लक्षित गरी निर्माण तथा सञ्चालन गरिएको सांग्रिला नेपालको पुरानो होटलमध्येकै एक हो। सांग्रिला सञ्चालनमा आउँदा सोल्टी र अन्नपूर्ण होटल मात्र चलेका थिए।
ती दुवै होटल उच्च वर्गका लागि विशेष रहेकोले मध्यमवर्गीय पर्यटकलाई लक्षित गरेर सांग्रिला सञ्चालन गरेका थिए। आफ्नै बलबुँतामा स्थापना गरेको सांग्रिला त्यो बेला नेपालको सबैभन्दा ठूलो होटलको रूपमा परिचित थियो।
२००९ मा म्याट्रिक पास गरेका पाण्डे फेलोसिप पाएर अमेरिका उच्च शिक्षा अध्ययन गर्न गएका थिए। अमेरिकाबाट फर्किएपछि गृहमन्त्रालयमा काम गरेका पाण्डेले सरकारी सेवामा लामो समय रहेनन्। उनले सरकारी सेवाबाट बिट मार्दै व्यवसायीक यात्रामा फड्को मारे।
छुट्टै नाम र ब्रान्ड बनाएको सांग्रिलालाई मूलकभर विस्तार गर्ने योजना पाण्डेले बुनेका थिए। त्यही अनुसार काठमाडौंका होटल सञ्चालन गरेको १८ वर्षपछि पोखरामा सांग्रिला होटल सञ्चालन गरे। प्रसिद्ध नेपाली चेन होटल बनाउने योजना उनको थियो। सोही मुताबिक पोखरा बेगनास ताल नजिकै उनले होटल बनाउन सुरु गरे।
...
८० वर्ष पार गर्दासमेत उनी होटलमा आउजाउ गरिरहन्थे। सक्रियरुपमा होटल क्षेत्रमै क्रियाशील रहन चाहने पाण्डेका दुई छोरा प्रसिद्ध र प्रवीणले अहिले होटल हाँकिरहेका छन्। दुई छोराले होटल हाँके पनि सबै सल्लाह बुबासँगै लिने गर्थे।
ब्रान्डलाई विश्वव्यापी बनाउने पाण्डेको सपना कोभिड १९ ले प्रभावित पार्यो। उनले लामो समयसम्म कोभिड प्रभावपछि होटललाई नयाँ ढंगबाट चलाउने सोच बनाए। नेपाली व्यवस्थापन र नेपाली ब्रान्डमा मात्र चलाएर होटल क्षेत्र अगाडी बढ्न नसक्ने निष्कर्ष निकाल्दै सांग्रिला ग्रुपले विदेशी ब्रान्डलाई नेपाल ल्याउने निधो गर्यो। चार दशक बढी लिगेसी बोकेको सांग्रिलालाई नयाँ रूप दिँदै एक साथ चार वटा होटल हेर्ने गरी लक्जरी ‘आइएचजी होटल्स एन्ड रिसोर्ट’लाई दिए।
इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी)ले काठमाडौं लाजिम्पाटमा ‘इन्टरकन्टिनेन्टल काठमाडौं लाजिम्पाट’, पोखरा घारीपाटनमा ‘होटल इन्डिगो पोखरा', पोखरा बेगनास तालमा ‘इन्टरकन्टिनेन्टल पोखरा बेगनास लेक’ र चितवन मेघौलीमा ‘इन्टरकन्टिनेन्टल रिसोर्ट चितवन'को नामबाट सञ्चालनको अन्तिम तयारीमा छ।
लाजिम्पाटबाट सुरु भएको व्यवसायीक यात्रा मुलुकको चार ठाउँमा एक साथ चलेको देख्ने सपना श्याम पाण्डेको थियो। विडम्बना उनले चार होटल सञ्चालन भएको देख्न पाएनन्। पाण्डेका कान्छा छोरा प्रवीणले केही समयअघि सञ्चारकर्मीसँग कुरा गर्दै चार वटै होटल सञ्चालन तयारी अन्तिम चरणमा रहेको बताएका थिए। छोराहरूको सपना पनि बुबालाई विदेशी लक्जरी ब्रान्डले व्यवस्थापन सम्हालेको चार वटा होटलमा घुमाउने थियो। तर, सपना अधुरै रह्यो।
सन् १९३६ मा जन्मिएका पाण्डेको सोमबार ८८ वर्षको उमेरमा निधन भएको हो। पर्यटन व्यवसायी विजय अमात्यका अनुसार पाण्डे सरल र मिजासिलो स्वभावका थिए। सबैसँग मिल्न सक्ने क्षमता रहेका पाण्डेले नेपालमा विदेशी पर्यटकलाई ल्याउन ठूलो भूमिका निर्वाह गरेका थिए। ‘मध्यमवर्गीय पर्यटकको रोजाई नेपाल पर्नुमा सांग्रिला होटलको ठूलो योगदान छ,’ व्यवसायी अमात्यले भने, ‘पाण्डेको निधनले पर्यटन क्षेत्रले अभिभावक गुमाएको छ।’
होटल संघ नेपालका पूर्वअध्यक्ष समेत रहेका पाण्डे नेपाली पर्यटन क्षेत्रका अग्रणी व्यक्तित्व भएको संघका अध्यक्ष विनायक शाहको भनाइ छ। संघका अध्यक्ष विनायक शाहले सन् १९९१ देखि १९९३ सम्म होटल संघ नेपालको अध्यक्ष रहँदा पाण्डेले होटल क्षेत्रको विकास र संवर्द्धनमा अतुलनीय योगदान पुर्याएको बताए।
मुलुकमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न तारे होटेल तथा रिसोर्टको सञ्चालन गरी अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा विशेष योगदान गरे बापत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक तथा सम्मान उनले पाएका थिए। पाण्डेलाई होटल संघ नेपालले ह्यान हल अफ फेम सम्मानबाट २०२४ मा विभूषित गरेका थियो। राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका पाण्डेले सोमबार बिहान अन्तिम श्वास फेरे। हार्दिक श्रद्धाञ्जली।