काठमाडौं । एक वर्षको अवधिमा साढे ११ हजार विद्युतीय गाडी नेपाल भित्रिएका छन्। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ११ हजार ७०१ युनिट विद्युतीय गाडी नेपाल भित्रिएका हुन्।
एक वर्षको अवधिमा कार, जिप र भ्यान गरी कुल २९ अर्ब ४८ करोड रुपैयाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएको हो। गाडी आयातबाट सरकारले १३ अर्ब २८ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा भने ११ अर्ब ८४ करोड रुपैयाँ बराबरको ४ हजार ५० युनिट विद्युतीय गाडी नेपाल भित्रिएको थियो। गत वर्षको तुलनामा यस वर्ष भित्रिएको विद्युतीय गाडीको संख्या ७ हजार ६५१ युनिटले बढी हो।
गत वर्षको सोही अवधिमा भित्रिएको ४ हजार ५० युनिट गाडीबाट सरकारले ३ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष सरकारले ९ अर्ब ८२ करोड बढी राजस्व प्राप्त गरेको छ।
कुन देशबाट कति ईभी आयात भए?
एक वर्षको अवधिमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट आयात भएको छ। गत आर्थिक वर्ष चीनबाट २२ अर्ब १२ करोड रुपैयाँ बराबरको ८ हजार ६५ युनिट विद्युतीय गाडी नेपाल भित्रिँदा भारतबाट ६ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ बराबरको ३ हजार ३ सय ७७ युनिट गाडी आयात भएको छ।
सोही अवधिमा इन्डोनेसियाबाट २९ करोड रुपैयाँ बराबरको १ सय ५० युनिट विद्युतीय गाडी नेपाल भित्रिएको छ।
कति किलोवाटका गाडी कति आयात भए?
भन्सार विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमतासम्मको विद्युतीय गाडी नेपाल भित्रिएका छन्। ५० किलोवाट क्षमताको ४ हजार ५ सय ७१ युनिट विद्युतीय गाडी आयात गरिएको छ।
५१ देखि १०० किलोवाटको ६ हजार ८ सय ८५ युनिट गाडी भित्रिएको छ। १०१ देखी ३०० किलोवाट क्षमताको २४५ युनिट गाडी आयात गरिएको छ।