काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अटोमोवाइल क्षेत्रका समस्या समाधानमा सरकार सकारात्मक रहेको बताएका छन्। नाडाका अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्।
अध्यक्ष चौधरीले प्रधानमन्त्रीसामु अटोमोवाइल व्यवसायमा देखा परेका समस्याबारे चर्चा गर्दै सरकारका विभिन्न कार्यविधिका कारण अटोमोवाइल व्यवसाय सञ्चालन गर्न निरुत्साहित हुँदै गएको सन्दर्भमा व्यवसायमाथि उठाउन नीतिगत सुझाव पेस गरेका थिए।
अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन बैकबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने पर्क्रियामा लोन टू भ्यालु रेसियोको हालको ५० प्रतिशत सीमा वृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्ने, चालू पुँजी कर्जा मार्ग दर्शन २०७९ लागू भएपछिको मितिभन्दा अगाडी कर्जा लिएकालाई त्यो व्यवस्था लागू नहुने तर यो लागू भएको मितिपछि कर्जा लिएकालाई मात्रै चालू पुँजी कर्जा मार्गदर्शन २०७९ लागू हुनेगरी कार्यान्वयनमा ल्याउनुपर्ने उनको सुझाव छ।
नेपालमा विद्युतीय सवारी साधनको आयात बढ्दै गएको भए पनि सोही अनुरूप राजमार्ग तथा सहरमा चार्जिङ स्टेसनको निर्माण हुन नसकेको भन्दै नेपालमा विद्युतीय सवारी साधनका सम्बन्धमा सरकारले स्थायी नीति ल्याउनु पर्ने उनको सुझाव थियो।
‘दुई पाङ्ग्रे सवारी साधनको सन्दर्भमा पैठारीकर्ताले डिलरलाई बिल गरेको दिनबाट सवारी कर लाग्दै आएकोमा डिलरले ग्राहकलाई बिल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्था गरिनुपर्छ। करिब ९८ प्रतिशतभन्दा बढी आयात भारतमा निर्मित दुई पाङग्रे सवारी साधन भएको तर हाल नेपालमा लागू भएको इम्बोस्ड नम्बर प्लेटको साइज भारतमा लागू भएको इम्बोस्ड नम्बर प्लेटको साइज अनुसार नभई फरक साइजको भएकोले सवारी सञ्चालनको क्रममा अगाडीको सकरमा ठोकिने भएको कारणले चालकको सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको हुँदा इम्बोस्ड नम्बर प्रयोगको हकमा भारतमा लागू भएको वा नेपालमा लागू साइजमध्ये कुनै एक राख्ने व्यवस्था गरिनुपर्छ,’ उनले भने।
यस्तै नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले नेपालको अटोमोवाइल उद्योगको समस्या र चुनौतीबारे जानकारी दिएका थिए।
छलफलमा प्रधानमन्त्रीले सवारी साधन, टायरटयूव, ब्याट्री तथा लुव्रिकेण्टस उद्योगको वर्तमान अवस्था बारे चासो राखेका थिए।