काठमाडौं । नेपाल चेम्बर अफ कमर्स पदाधिकारी एवं कार्यसमिति सदस्यले नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाइ एवं शुभकामनासहित ४३ बुँदे सुझाव बुझाएका छन्।
अध्यक्ष कमलेशकुमार अग्रवाल सहितको पदाधिकारी एवं कार्यसमिति सदस्यले बालुवाटमा प्रधानमन्त्री ओलीलाई भेटेर नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको हो।
बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन चेम्बरले प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेको छ। चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘करिब ४ वर्षदेखि मुलुकको अर्थतन्त्र अस्थिर अवस्थामा छ। कोभिड महामारीको प्रभाव, रुस–युक्रेन युद्धले विश्वव्यापी आपूर्ति शृंखलामा पारेको असर एवं पछिल्लो ३ वर्षदेखिको निरन्तर संकुचित नीतिले आर्थिक गतिविधिमा शिथिलता उत्पन्न भएको छ।’
चालू आर्थिक वर्षको बजेट र आगामी मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने अध्यक्ष अग्रवालले बताए।
आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भएपनि निजी क्षेत्रमा लगानी आकर्षण नभएकोप्रति अध्यक्ष अग्रवालले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको चेम्बरले बताएको छ।
मुलुकको अर्थतन्त्रमा झन्डै ८१ प्रतिशत लगानी भएको निजी क्षेत्रमा वित्तीय सहजीकरण हुनुपर्ने चेम्बरले उल्लेख गरेको छ।
चेम्बर पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले उद्यमशीलता विकास र रोजगारी सिर्जना सरकारको पहिलो प्राथमिकता रहेको बताए। मुलुकको आर्थिक अवस्था सुदृढ र प्रभावकारी परिणाम दिने गरी काम सुरु भएको प्रधानमन्त्री ओलीको भनाइ छ।
मुलुकको समग्र आर्थिक पक्षको मूल्यांकन गरी सरकारले नीतिगत निर्णय गर्दै जाने विश्वास प्रधानमन्त्रीबाट व्यक्त भएको चेम्बरले जनाएको छ।