चालु आर्थिक वर्ष सुरु भएपछि कर्जाको वृद्धिदर घटेर अहिले १५ देखि १६ प्रतिशतमा आएको छ । गत वर्ष २७ खर्ब रुपैयाँ निक्षेपमा १९ प्रतिशत भन्नु र ३० खर्ब रुपैयाँमा १५ देखि १६ प्रतिशत भन्नु उस्तै हो । आर्थिक गतिविधि कम भएर कर्जाको माग घटेको अवश्य हैन । यो एउटा साइकल पनि हो । पुँजीगत खर्च बढ्न थालेपछि कर्जा प्रवाह पनि बढ्ने छ ।
ओभर ड्राफट र हायरपर्चेज कर्जालाई नीतिगत रुपमा कडाइ गरिएको छ । यीनीहरुले अर्थतन्त्रमा त्यति सहयोग नपुर्याउने भएकाले कडाइ गरिएको हो । लगातार ३ वर्षको क्रेडिट क्रञ्चको चरम अवस्थाले आक्रमक भएर लगानी गर्नुहुन्न भन्ने सन्देश बैंक तथा वित्तीय संस्थालाई दिएको छ ।
बैंकरहरुले कर्जा लगानी कम गरेर यसलाई ‘करेक्सन इयर’को रुपमा लिएको भनेका छन । बैंकहरु आक्रमक नहुँदा अहिले वित्तीय बजारमा ब्याजदर स्थायित्व कायम भएको छ । तथ्याँक हेर्दा निक्षेपको ब्याजदर बढेको छ भने कर्जाको निरन्तर कम हुँदै गएको छ । यस्तै स्प्रेडदर पनि कम हुँदै गएको छ । ६ प्रतिशत स्प्रेडदर घटेर ५.२ प्रतिशतमा आएको छ । यो पनि घट्दो क्रममा रहेको छ ।
चालु आर्थिक वर्षमा स्प्रेडदरलाई ४.४ प्रतिशतमा झार्न भनिएकाले पनि क्रमश घट्दै गएको हो । यी सूचकले नेपालको वित्तीय क्षेत्रमा स्थायित्व आएको देखाएको छ । ब्याजदर करिडोर कार्यान्वयको प्रारम्भीक अवस्था र अभ्यासमा रहेकाले यसलाई हेरिरहेका छौं । बजारलाई स्थिर बनाउन करिडोर लागु गरिएको हो । यसको परिणाम आउन बाँकी छ ।
दीर्धकालिन ब्याजदरहरु स्थिर छन भने यसको अर्थ वित्तीय स्थायित्व भएको भन्ने हो । करिडोरको रेन्ज परिवर्तन गर्न सकिन्छ । बैंकहरु सचेत भएर लगानी गरिरहेका छन । हाल ५० अर्ब रुपैयाँ हारहारीमा अधिक तरलता रहेकाले अहिले क्रेडिट क्रञ्चको समस्या देखिएको छैन ।
अन्तर बैंकदर घटबढ भइरहेको छ । साउनयता अन्तर बैंक कारोबारको ब्याजदर औसत ३ प्रतिशत तल छ । यसअघिको तथ्याँक हेर्दा २.८ प्रतिशत छ । नेपाल आयल निगमले भुत्तानीका लागि पैसा झिकेका बेला अन्तर बैंकदर अलि माथि जान्छ । तर अन्य अवस्थामा सहज नै छ ।
अब सरकारको खर्च बढेपछि बैंकमा पैसा आउन सुरु हुन्छ । यसले कर्जा लगानी पनि विस्तार गर्ने छ । बैंकहरुले पुँजी जुटाउन अहिले धमाधम ऋणपत्र निश्कासन गरिरहेका छन । उनीहरुले यसबाट राम्रो रिस्पोन्स पाएका छन । ऋणपत्र सबै बिक्री हुन थालेको छ । अर्कोतर्फ नेपाल स्टक एक्सचेन्जमा पनि ऋणपत्रको कारोबार सुरु भएको छ । गत वर्ष ऋणपत्र बिक्री हुन सकेको थिएन ।
बैंकहरु पहिला संस्थागत निक्षेप तान्न मारमार गर्थे भने अहिले नागरिक लगानी कोषमा कडाइ गरेपछि बैंकहरु ऋणपत्रतर्फ लागेका छन । यसले वित्तीय स्थायित्व दिएको छ । ऋणपत्रको १०० प्रतिशत लगानी गर्न पाउने व्यवस्था भएकाले यसको रिस्पोन्स राम्रो देखिएको छ ।
समग्रमा भन्दा अहिले वित्तीय क्षेत्रमा स्थायित्व देखिएको छ । ब्याजदरमा स्थायित्व कायम भएको छ । यस्तै सेयर बजारमा केही अंक तलमाथि भएपनि १ हजार २०० अंकमा पुगेको छ । ऋणपत्र लगायत अन्य वित्तीय औजारहरुको विकास भइरहेको छ । यो राम्रो कुरा हो ।
भोलीका दिनमा पुँजी बजारले स्थायित्व लिन्छ । समग्रमा हेर्दा वित्तीय क्षेत्र राम्रो देखिएको छ । भोली ठुला परियोजनामा कर्जा लगानी चाहियो भने बैंकहरुले आफनो क्षमता बढाउँदै लगेका छन । ऋण लगानी गर्न सक्ने अवस्थामा बैंकहरु पुगेका छन ।
वित्तीय क्षेत्रको सूचक भनेको स्थिर ब्याजदर हो । अहिले ब्याजदर स्थिायित्व भएको छ । कुनै व्यवसायीले बैंकको ब्याजदर बढ्यो भनेर गुनासो गरेको छैनन । पोहरसाल यति बेला मारमार अवस्थामा थियो । व्यवसायीहरु प्रधानमन्त्री गुहारेका थिए । यो वर्ष त्यस्तो अवस्था आएको छैन ।