काठमाडौं। शाकाहारी खाना मात्र उपलब्ध गराउँदै आएको बीबीसीका मास्टर सेफ सन्तोष साहको गौशालास्थित रेस्टुरेन्टमा साउन महिनाभरि लसुन र प्याजबिनै मिथिला थाली खान पाइने भएको छ ।
गौशालाको मिथिला थाली शाकाहारी रेस्टुरेन्ट भए पनि साउनभर पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजन तथा शुद्ध शाहाकारीलाई लक्षित गरी प्याज र लसुनबिनाको मिथिला थाली उपलब्ध गराउन लागिएको हो सेफ साहले बताएका हुन्।
साउनमा मन्दिर दर्शन गर्नका लागि पनि गाह्रो हुन्छ, घण्टौ लामबद्ध भइ दर्शन गरेपछि भक्तजनका लागि आराम गर्न र भोक मेट्न मिथिला थाली उपयुक्त गन्तव्य हुने उनको विश्वास छ।
उनका अनुसार जनकपुर, ललितपुरको झम्सीखेल र काठमाडौंको गैरीधारामा सञ्चालित मिथिला थालीमा सबै परिकार पाइने भए पनि गौशालाको मिथिला थालीलाई शाहाकारी रेस्टुरेन्टका रुपमा सञ्चालन गरिएको हो।
शाहाकारी मिथिला थालीमा १७ प्रकारका परिकार खुवाइन्छ। तिल र आलासले झानेको सलाद, आलुको चोखा, कडिबडी, बिरिया, मौसममी तरकारी, रहरको दाल, भात, दही, घ्यू रोटी, तिलौरी, तरुवालगायत चार प्रकारका अचारले थाली भरिएको हुन्छ।
रेष्टुराँमा चार सय रुपैयाँमा मिथिला थाली, पाँच सय रुपैयाँमा मिथिला थाली विथ मसरुम, पाँच सय ५० रुपैयाँमा मिथिला थाली विथ पनिर र आठ सय ५० रुपैयाँमा मिथिला थाली प्रिमियम उपलब्ध छ।
हिन्दु धर्मावलम्बीमा साउनको सोमबार व्रत बसी विधिपूर्वक शिव भगवानको पूजा गर्नाले मनोकामना पूरा हुने, दीर्घायु, सुख, शान्ति, एेश्वर्य, धनधान्य र मानसम्मान प्राप्ति हुने विश्वास छ।
साउनलाई भगवान् शिवको महिना मानिन्छ। साउनभर र त्यसमाथि पनि साउनको सोमबार पशुपतिनाथ मन्दिरमा नेपाली र भारतीय भक्तजनको दर्शन गर्नेको ठूलो भीड लाग्छ। भक्तजनको आवश्यकतालाई लक्षित गरी उनीहरुको सुविधाका लागि शुद्ध शाकाहारी भोजन तयार हुने सेफ सन्तोषले बताए।