काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन्। संसद्कै ठूलो दल नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओलीले दुई तिहाइ बहुमत पाएका हुन्।
नेपालको संविधान धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरिएकोमा देवराज घिमिरेले २६३ सांसद उपस्थित रहेकोमा प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत खसेको सदनलाई जानकारी दिए। दिन्न भन्नेमा १ मत परेको छ। दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ।
प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ। गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओली आज विश्वासको मत लिन लागेका हुन्।
ओलीको पक्षमा नेपाली कांग्रेसका ८८ र नेकपा एमालेका ७६ संसद्ले मतदान गरेका छन्। एमालेका २ सांसदले मतदान गर्न पाएनन्। पाँचथरबाट निर्वाचित वसन्तकुमार नेम्बाङ बिरामी र अर्घाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल भएकाले एमालेका ७६ सांसदले मात्रै मतदान गरेका हु्न्।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीका ६ सांसदले ओलीलाई विश्वासको मत दिएका छन्। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका ७ सांसदले विश्वासको मत दिँदा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका ५, नागरिक उन्मुक्ति पार्टीका ४ र लोकतान्त्रिक समाजवादी पार्टीका ४ सांसदले पनि ओलीलाई विश्वासको मत दिएका छन्।
यीमध्ये नागरिक उन्मुक्ति, जनमत र जसपा नेपाल संघीय सरकारमा छैनन्। जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि ओलीलाई मत दिएका छन्। स्वतन्त्र संसदहरू योगेन्द्र मण्डल र डा. अमरेशकुमार सिंहले पनि ओलीका पक्षमा मतदान गरेका छन्।
प्रधानमन्त्रीको विपक्षमा नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ र नेकपा एकीकृत समाजवादीका १० सांसदले मतदान गरेका छन्। राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले पनि ओलीको विपक्षमा मतदान गर्न गरेका छन्। नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल तथष्ट बसेका छन्।