पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसियशन पोखराको आयोजनामा सञ्चालित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न भएको छ।
पम नेदरल्याण्डको समन्वय एवं नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडाको सहकार्यमा रेवानमा आवद्ध रेष्टुरेण्टमा कार्यरत कुकलाई उक्त तालिम प्रदान गरिएको हो। समापन समारोहमा कलेजका अध्यक्ष एवं अग्रज पर्यटन व्यवसायी अशोक पालिखेले पर्यटकीय राजधानी पोखरामा आउने पर्यटकलाई गुणस्तरीय स्वाद र आतिथ्यताका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए।
उनले जति धेरै तालिम दिन सकियो उत्तिनै दक्ष जनशक्ति उत्पादन हुने र त्यसको फाइदा पोखराको पर्यटनले लिन सक्ने बताए। 'पाँच दशक अगाडि पाउरोटीको स्वाद आफूले लिएको स्मरण गर्दै अहिले अन्तराष्ट्रिय स्तरका वेकरीलाई सहजै उत्पादन गरेर पाहुनामाझ पुर्याउन अवसर मिलेको बताए।
तालिममा सहभागी तारा श्रेष्ठ तालिमले आफूहरूको क्षमतामा निखारसँगै गुणस्तरीय वेकरी आइटम बनाउने नयाँ तरिका बारे जानकारी लिन सफल भएको बताए। तालिमले आउने दिनमा व्यवसायिकरूपमा अघि बढ्न थप सहयोग पुग्ने उनको भनाइ छ।
तालिमकै सहभागी सिर्जना अधिकारीले तालिमका व्यावहारिक पक्ष र प्राविधिक ज्ञानले आफूलाई बेकरी उत्पादनमा आत्मविश्वास बढाएको बताइन्।
नेदरल्याण्डका वेकरी प्रशिक्षक सोड जलेमाले नेपाल आएर ज्ञान बाड्न पाएकोमा खुशी व्यक्त गरे। उनले बेकरी तालिमका सहभागीको सक्रियताले आफूलाई सिकाउन आनन्द लागेको बताउँदै यस प्रकारको तालिमले स्थानीय व्यवसायलाई मात्र नभइ समग्र पर्यटन क्षेत्रले नै लाभ लिन सक्ने बताए।
तालिमका संयोजक वसन्त गौतमले लेकसाइडका रेष्टुरेण्डको सेवालाई गुणस्तरीय बनाउन हाइजनिक र स्वादिलो बेकरी उत्पादनको आवश्यकतालाइ ध्यान दिँदै तालिम प्रदान गरिएको जानकारी दिए। उनले तालिमको उद्देश्य अन्तर्राष्ट्रिय स्तरको ज्ञान र प्रविधि प्रदान गरेर गुणस्तरीय व्यवसायमा जोड दिनुका साथै दक्ष जनशक्ति उत्पादन गर्ने रहेको बताए।
नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्माले सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै व्यवसायिकतामा जोड दिनुपर्ने बताइन्। उनले हरेक क्षेत्रमा दक्ष जनशक्ति खाँचो औंल्याउँदै बेकरी सम्बन्धि एडभान्स तालिमले स्थानीय व्यवसायको प्रोत्साहन र रोजगारीको सिर्जना हुने विश्वास व्यक्त गरिन्।
रेवानका निवर्तमान अध्यक्ष लक्ष्मण बरालले गुणस्तरीय वेकरी उत्पादनका लागि निरन्तर दक्ष जनशक्ति जोड दिएर विभिन्न तालिम प्रदान गर्दै आइएको बताए।