काठमाडौं । सेयर बजारमा ६१.६१ अंकको वृद्धि भएको छ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.६१ अंक अर्थात् २.५४ प्रतिशतले बढेर २४८५.९४ को बिन्दुमा बन्द भएको छ।
अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से ५९.६८ अंकले बढेर २४२४.३२ को बिन्दुमा बन्द भएको थियो। आइतबार नेप्सेमा कुल १५ अर्ब १ करोड रुपैयाँ बढीको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्सेमा कुल १५ अर्ब ४ करोड रुपैयाँ बढीको कारोबार भएको थियो।
आइतबार कारोबारमा आएकामध्ये १८१ कम्पनीको सेयर मूल्य बढ्दा ५६ कम्पनीको घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज युनाइटेड मादी हाइड्रोपावर र समाज घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ।
यस्तै, हिमालयन बैंक, गणपती लघुवित्त वित्तीय संस्था, मन्डाखीनी हाइड्रोपावर, एनएमबी–५०, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, कुमारी बैंक र सुपर मोदी हाइड्रोपावरको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ। आइतबार सिकेल्स हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ।
आइतबार व्यापार समुहको सेयर मूल्य ६.८० प्रतिशतले बढ्दा होटल तथा पर्यटन समुहको सेयर मूल्य ४.२१ प्रतिशतले बढेको छ। आज बैंकिङ समुहको सेयर मूल्य ३.८६ प्रतिशतले बढेको छ।
बैंकिङ समुहमा ५२.७० अंकको वृद्धि हुँदा १९ वटै बैंकको सेयर मूल्य वृद्धि भई बैंकिङ इन्डेक्स १४१४.८७ को बिन्दुमा पुगेको छ। गएको असार १८ मा भने बैंकिङ इन्डेक्स ११२१.७६ को बिन्दुमा थियो।