काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको नयाँ सरकार बनेपछि सेयर बजारले बेग्लै लय पक्रिएको छ। लामो समयदेखिको निराशा चिर्दै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार बन्ने चर्चासँगै सेयर बजार सकारात्मक ढंगमा अघि बढिरहेको छ। पछिल्लो तीन सातामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीबाट बाहिरिएनन् मात्रै ओलीको नेतृत्वमा नयाँ सरकार गठन भयो र निजी क्षेत्रमैत्री तथा सेयर बजारले सधैँ सकारात्मक रूपमा लिँदै आएको एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई अर्थमन्त्रीको रूपमा पायो।
कांग्रेस एमाले गठबन्धनमा सरकार बन्ने चर्चासँग सकारात्मक सकारात्मक बनेको बजार सूचक पौडेललाई अर्थमन्त्री पाएपछि झन् तीव्र गतिमा उकालो चढिरहेको छ। गत साताको पाँच कारोबार दिनमा मात्रै सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २१९.७१ अंकले बढेर असार ३ गते २४२४.३२ अंकमा अडिएको छ।
लामो समयदेखि सामान्य उतारचढाव देखिँदै आएको नेप्सेमा पछिल्लो १४ कारोबार दिनमा दुई दिन सामान्य घट्दा १२ दिन उच्च रूपमा बढेको छ। असार १६ मा २०३७.०९ बिन्दुमा रहेको नेप्से पछिल्लो १४ कारोबार दिनमा ३८७.२३ अंकले बढेको छ। पछिल्लो समय नेप्से मात्रै बढिरहेको छैन, कारोबार रकममा पनि तीव्र वृद्धि भएको छ। अघिल्लो साता २८ अर्ब २६ करोड रुपैयाँको सेयर किनबेच भएकोमा गत साता झण्डै दोब्बरले बढेर ५२ अर्ब ४९ करोड रुपैयाँ बढीको सेयर खरिदबिक्री भएको छ।
सेयर बजारमा सकारात्मक माहौल बनिरहेका बेला बिहीबार मन्त्रिपरिषद्ले प्रधानमन्त्री ओलीको आर्थिक सल्लाहकारका रूपमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णयसँगै लगानीकर्तामा एक प्रकारको संशय पैदा भएको छ। विगतमा सेयर बजार विरोधी अर्थमन्त्रीको उपमा बनाएका खतिवडाको सरकारमा अप्रत्यक्ष प्रवेश मात्रै भएको छैन साउन ४ गते आउने भनिएको चालू आर्थिक वर्षको मौद्रिक नीति नेपाल राष्ट्र बैंकले रोकेपछि नकारात्मक माहौल बनाउन मद्दत गरेको छ। यद्यपि अर्थतन्त्र विस्तरमा मौद्रिक नीति वाधक बन्नु नहुने पक्षमा रहेका प्रधानमन्त्री ओलीले ब्रिफिङ लिन चाहेपछि केही दिनलाई पर धकेलिएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।
साधारण लगानीकर्ता संघ नेपालका अध्यक्ष ऋतुजंग जिसीकाअनुसार प्रधानमन्त्री ओलीले आर्थिक सल्लाहकारमा खतिवडालाई नियुक्त गरेपछि लगानीकर्तामा थोरै नकारात्मकता छाएको छ। ‘ओलीले सल्लाहकारमा खतिवडालाई ल्याएपछि साथीभाइ र लगानीकर्तामा फेरि बजारलाई कडाइ गरिने हो कि, नकारात्मक बन्ने हो कि भन्ने चिन्ता फैलिएको छ,’ अध्यक्ष जिसी भन्छन्, ‘अर्थमन्त्री र गभर्नर महाप्रसाद अधिकारीबीच ट्यूनिङ मिलेका बेला खतिवडाको प्रवेशले तीन जानकारबीचमा मतैक्यता नहुँदाको प्रभाव बजारमा पर्ने हो कि भन्ने डर छ।’ पहिलाको तुलनामा फरक र परिमार्जितरुपमा खतिवडा प्रस्तुत भइरहेकाले आशावादी बन्ने ठाउँ भने रहेको जिसीको भनाई छ।
अर्थमन्त्रीमाथि दबाब सिर्जना गर्नेगरि सल्लाहकारमा खतिवडालाई ल्याइएकाले सेयर बजारमा देखिएको सकारात्मक प्रभाव स्थायी हुने/नहुने प्रश्न उब्जिएको छ।
विगतमा नीतिगत व्यवस्था र नेतृत्वका कारण लामो समय सेयर बजार सुस्ताएले अब कुनै पनि कारण बजार प्रभावित नहोस् भन्ने चाहना लगानीकर्तामा छ। सेयर बजारका लागि उपयुक्त नीति लिने व्यक्तिमा अर्थमन्त्री पौडेललाई लिने गरिन्छ। पछिल्लो समय गभर्नर अधिकारी पनि आफ्ना नीतिहरू लचक बनाउन तयार भएको आशय लगानीकर्ताले भेटेपछि सेयर बजारमा चमक देखिएको छ। त्यसो त खतिवडा पनि सुरुदेखि नै सेयर धितो कर्जाको सीमा राखिएकोमा विरोध गर्नेभित्र पर्छन्। खतिवडाले सार्वजनिक कार्यक्रमहरूमै सेयर धितो कर्जा रकममा सीमा नतोकेर पोर्टफोलियो वा प्राथमिक पुँजीका आधारमा सीमा निर्धारण गर्नुपर्ने राय राखिरहेको पाइन्छ।
अर्थमन्त्रीमाथि दबाब सिर्जना गर्नेगरि सल्लाहकारमा खतिवडालाई ल्याइएकाले सेयर बजारमा देखिएको सकारात्मक प्रभाव स्थायी हुने/नहुने प्रश्न उब्जिएको छ। त्यसो त अहिलेसम्म सेयर बजार सुधारका लागि नीतिगत रूपमा कुनै काम भएको छ। विगतमा सकारात्मक भाव प्रकट गरेका आधारमा आगामी दिनमा पनि लचक नीति आउँछन् भन्ने अनुमान गरेर लगानीकर्ताले मनोबल बढाएका छन्। अहिले देखिएको स्थायी हुने÷नहुने निर्क्योल आगामी मौद्रिक नीतिले निर्धारण गर्नेछ।
शुक्रबार अर्थमन्त्री पौडेलसँग भेटेकी नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल सेयर बजार चलायमान बनाउने गरी अर्थमन्त्री पौडेलबाट सकारात्मक प्रतिक्रिया पाएको बताउँछिन्। ‘सेयर बजारका समस्या समाधान गर्दै जाने र मौद्रिक नीति पनि सहज आउने अर्थमन्त्री पौडेलले बताउनु भएको छ,’ अध्यक्ष पोखरेल भन्छिन्, ‘विगतका अर्थमन्त्रीले जस्तो सुझाव लिने, आशा देखाउने तर, काम गर्दै नगर्ने नजिर वर्तमान अर्थमन्त्रीबाट नहुने बुझेकाले बढी आशावादी छौं।’
संघीय सदाका दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनेपछि निजी क्षेत्र बढी उत्साहित र आशावादी देखिन्छ। मुलुकको अर्थतन्त्रमा छाएको मन्दीको अवस्था तोडेर, आर्थिक गतिविधि बढाएर आफूतर्फ नागरिक आकर्षण गर्नुपर्ने बाध्यता सरकारसामू छ। अर्थतन्त्रलाई नजिकबाट नियालेका पौडेल र खतिवडा सहकार्य गरेर अगाडि बढेको खण्डमा सेयर बजार मात्रै नभएर समग्र आर्थिक क्षेत्र माथि उक्सिने एकथरिको भनाई छ।
‘बैंकमा थुप्रिएर बसेको पैसा बजारमा नपठाउने, सुस्ताएका आर्थिक क्षेत्र चलायमान नबनाउने हो भने देशको अर्थतन्त्र चल्न सक्दैन। नियामकले पनि लाखौं लगानीकर्ताको माग र गुनासोलाई सधैँ बेवास्ता गर्न मिल्दैन,’ अध्यक्ष जिसी भन्छन्, ‘गभर्नरले पटक पटक बजारको हित गर्ने गरी मौद्रिक नीति आउँछ भन्नुभएको छ। बजारको हितमा नीति ल्याउन उहाँका लागि यो अन्तिम अवसर पनि हो।’ राज्यका निकायले आर्थिक क्षेत्र चलायमान बनाउन नसके अर्थतन्त्र दुर्घटनामा पर्ने बताउँदै जिसी भन्छन्, ‘मौद्रिक नीतिमा अनावश्यक कडाइका विषयले निरन्तरता पाए लगानीकर्ताले प्रतिवाद गर्ने स्थिति आउँछ र त्यसको मूल्य अर्थतन्त्रलाई महँगो पर्छ।’
लगानीकर्ताले मौद्रिक नीतिमार्फत सेयर धितोमा दिइने व्यक्तिगत १५ लाख र संस्थागत २० लाख रुपैयाँको सीमा हटाउनु पर्ने, भारित औसत जोखिमभार १२५ प्रतिशतबाट १०० प्रतिशत कायम गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज कारोबारको व्यवस्था गर्नुपर्ने, मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्य अनुपात सीमा ८० प्रतिशत पुर्याउनुपर्ने, सेयर ऋणमा लिने गरिएको महँङ्गो ब्याजमा लगाम लाग्ने अपेक्षा गरेका छन् र त्यसैअनुरुपको सुझाव राष्ट्र बैंकलाई दिएका छन्।