काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंबासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छ।
आज सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेट निरीक्षण गर्ने क्रममा उनले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।
उनले काठमाडौंबासीका लागि बाह्रै महिना सफा, शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरे। ‘काठमाडौंमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस्, बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ, मन्त्रालयबाट व्यवस्था गर्छु’, उनले भने।
मन्त्री यादवले हाल काठमाडौंमा पानी अभावले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै वैकल्पिक स्रोत प्रयोग गरेर पानी आपूर्ति गर्न निर्देशन दिए। उनले बागमती नदीको पानी र भूमिगत पानीलाई प्रशोधन गरी वितरण व्यवस्था मिलाउन आग्रह गरे।
मन्त्री यादवले काठमाडौंमा आधुनिक पानी प्रशोधन केन्द्रहरूको स्थापना, पुराना पाइपलाइन मर्मत तथा पुनःनिर्माण, डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्ने योजना पनि सुनाए।
मन्त्री यादवले मेलम्ची सुरुङ आउटलेटसँगै मेलम्ची खानेपानी प्रशोधन केन्द्र बागमतीबाट प्रशोधन केन्द्रमा आउने पानीको प्रणाली, पानी प्रशोधन ल्याब, सुपरभिजन कन्ट्रोल एन्ड डेटा एक्युजिसन सेन्टरलगायतको निरीक्षण गरे। निरीक्षण कार्यक्रममा मन्त्रालयका सचिव सुरेश आचार्यलगायत सहभागी थिए।