काठमाडौं।आईसी इन्जिन(डिजेल/पेट्रोल) निजी सवारीसाधान किन्ने ग्राहकलाई अहिले गज्जबको अफर सार्वजनिक भइरहेका छन्। पछिल्लो समय ईभी(विद्युतीय गाडी)मा ग्राहक रोजाइ बढिरहेका बेला डिजेल/पेट्रोल प्रयोग हुने गाडी आयातकर्ताले १० वर्षसम्म इन्धन छुट, निःशुल्क सर्भिसिङजस्ता अफर सार्वजनिक गरेका हुन्।
यस्ता अफरबाट ग्राहक आईसी इन्जिनतर्फ आकर्षिक हुने उनीहरुको बजार– बुझाइ छ।
डिजेल/पेट्रोल मूल्य महँगो भएसँगै विद्युतीय गाडीमा आकर्षण बढिरहेका बेला इन्धन ग्यारेन्टी योजना÷अफरमा गाडी आयातकर्ता लागेका हुन्। गाडी आयातकर्ताले प्रतिस्पर्धात्मक रुपमा छुटको घोषणा गर्दै १० वर्षसम्म इन्धन हालिदिने ग्यारेन्टीसमेत लिन थालेका छन्।
आयातकर्ताले सार्वजनिक गरेको सूचनामा इन्धन छुट दिने भनिए पनि दैनिक कति किलोमिटर पाउने र कसरी लिने भन्ने नछुट्याउँदा ग्राहक अन्यौलमा पर्दै आएका छन्।
आईसी इन्जिन सवारीसाधन प्रयोगकर्तालाई अफर दिने उद्देश्यका साथ फोर्ड, टोयोटा, निसान, हुन्डाईलगायत आइसी इन्जिन वितरक कम्पनीले सुविधा तय गरेका छन्।
१० वर्षको निःशुल्क इन्धन दिने फोर्डको घोषणा
फोर्डको आधिकारिक बिक्रेता जीओ फोर्डले गाडी किन्ने ग्राहकलाई १० वर्षसम्म निःशुल्क इन्धन दिन्छ। त्यो अफरअन्तर्गत जीओ फोर्डले ग्राहकले १० वर्षसम्म इन्धन खर्चको चिन्ता नगरी सजिलै ड्राइभिङ गर्न सकिने जनाएको छ।
जीओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छाले १० वर्षमा १ लाख किलोमिटरको लागि इन्धन फ्रि दिइने बताए। ‘१० वर्षमा १ लाख किलोमिटरसम्म इन्धन फ्रि दिने अफर फोर्ड गाडी किन्ने ग्राहकको लागि ल्याएको हो,’ प्रबन्ध निर्देशक गोल्छाले भने, ‘८ किलोमिटर पर लिटरको हिसाबले तेल दिने घोषण हामीले गरेका छौं। १० वर्षमा खपत हुने इन्धनको मुल्य सुरुमा वा खपत गर्दै कम्पनीमा बिल पेस गरेर लिन सकिनेछ।’
प्रबन्ध निर्देशक गोल्छाका अनुसार कम्पनीले आईसी इन्जिन गाडीमा अफर ल्याउनुको उद्देश्य सबै ग्राहकको दिमागमा पेट्रोलको खर्च एकदमै महँगो छ भन्ने भएकाले उनीहरुले सोचेजति महँगो होइन भन्ने महसुस गराउनु रहेकाे छ।
कम्पनीले ल्याएको स्किमको नाम १० वर्ष निःशुल्क इन्धन राखिएको छ। फोर्डका रेन्जर तथा एभरेष्ट मोडल किन्ने ग्राहकले यो सुविधा पाउने छन्।
निसान म्यागनाइट खरिद गर्दा ४ वर्षसम्म निःशुल्क इन्धन
नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले बिग बोल्ड ब्युटिफुल र कारिमास्टिक यसयूभी निसान म्यागनाइटमा नयाँ योजना ल्याएको घोषणा गरेको थियो।
कम्पनीको योजनाअन्तर्गत निसान म्यागनाइट किन्ने ग्राहकले ४ वर्षसम्म निःशुल्क इन्धन फ्रि इन्धनसहित अन्य विशेष छुट पाउने निसान गाडीका प्रिजा कोइरालाले बताइन्। ‘४ वर्षको निःशुल्क इन्धनमा ग्राहकलाई महिनाको ४२ लिटर फ्युल फ्रि दिइने घोषणा गरिएको छ,’ कोइरालाले भनिन्, ‘किक्समा हरेक महिना ६० लिटर पेट्रोल दिइनेछ।’
महिनामा ४२ लिटर फ्युल र ६ सय किलोमिटर गाडी चलाएका ग्राहकले दाबी गर्न पाउने छन्। कुनै ग्राहकले ४ वर्षको निःशुल्क इन्धन नलिएर गाडी खरिदमै छुट लिन सकिने व्यवस्था कम्पनीले गरेको छ।
निःशुल्क इन्धन नलिने ग्राहकले निसान म्यागनाइट खरिद गर्दा २ लाख ८० हजार रुपैयाँसम्म र किक्स खरिद गर्दा ५ लाखसम्म छुट लिन सकिने कोइरालाले बताइन्।
हुन्डाई भेन्यूमा १० वर्षसम्मको निःशुल्क सर्भिसिङ
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमै हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन अवसरमा ‘हुन्डाई नेपालमा मेड फर योअर जर्नी’ ग्राहकमुखी योजना ल्याएको छ। योजनामा हुन्डाई भेन्यू खरिद गर्दा ६.९९ प्रतिशत फाइनान्सिङ, १० वर्षको निःशुल्क सर्भिसिङ र सुविधा दिने घोषणा कम्पनीले गरेको छ।
नेपालमा नै बनेको गाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले हुन्डाई भेन्युमा अफर दिएको लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक दिपक थपलिया बताउँछन्। ‘हुन्डाई भेन्युमा १० वर्षसम्मको निःशुल्क सर्भिसिङल अन्तर्गत कम्पनीले १ वर्षमा ३ पटक सर्भिसिङ गराउँछ। ग्राहकले १० वर्षमा ३० वटा सर्भिसिङ फ्रिमा गर्न पाउनेछन्,’ प्रबन्ध निर्देशक थपलियाले भने, ‘कम्पनीले अहिले नेपालमा नै उत्पादन भएको हुन्डाई भेन्युमा एभरेष्ट बैंकसँग सम्झौता गरी ६.९९ प्रतिशत फाइनान्सिङ ५ वर्षको लागि दिइएको छ।’
हुन्डाई गाडीको पनि एउटामा मात्र स्किम दिएर फरक गरेको देखिए पनि कम्पनीले मेड इन नेपाललाई प्रोत्साहन गर्ने उद्देश्यले स्किम ल्याएको थपलिया बताउँछन्।