काठमाडौं। मनसुनी विपद्मा परेर ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्डअनुरुप २ लाखका दरले १ करोड ३८ लाख राहत रकम निकासा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
उक्त रकम प्रभावितलाई बाँड्न जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको हो। उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पु¥याएर पीडितपरिवारलाई राहत वितरण गरिसकेको प्राधिकरणले बताएको छ।
मनसुन अवधिमा सबै प्रकृतिका विपद्मा परेर अहिलेसम्म १२५ बढीको मृत्यु भइसकेको छ। त्यसमा सबैभन्दा बढी बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ।
मनसुनको समय देशभर परेको भारी वर्षाका कारण विपद् घटना बढेपछि उच्च जोखिममा रहेका १२५ जनालाई सुरक्षा निकायद्वारा जीवित्तै उद्धार गर्न सफल भएको पनि प्राधिकरणले जानकारी गराएको छ।
प्राधिकरणका प्रवक्ता उपसचिव डा. डिजन भट्टराईले ओखलढुंगा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकोप्टरमार्फत उद्धार गरिएको बताए।
शुक्रबार मात्रै गत एक महिनामा भएको मनसुनी विपद् अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत संघसंस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान्न वितरण गरिएको जानकारी दिएको छ।
प्रतिवेदअनुसार मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहतस्वरुप १५ हजारदेखि २० हजारसम्म वितरण गरिएको हो। प्रवक्ता भट्टराईका अनुसार रेडक्रसबाट हालसम्म सात सय ४५ थान तारजाली, दुई सय ९५ थान ब्ल्यांकेट, दुई सय पाँच थान म्याट्रेस, एक सय २५ थान भाँडाकुँडा, एक सय थान झुल, दुई सय २५ थान सरसफाइ किट, एक हजार एक सय ३८ मिटर कपडा उपलब्ध गराइएको र गृह मन्त्रालय मातहत निकायबाट पाँच सय २० थान त्रिपाल, ५० थान टेन्ट, तीन सय थान ब्ल्यांकेट, एक सय थान म्याट्रेस र ५० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको छ।