नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी)को प्रवेश उल्लेख्य मात्रामा भइरहेको छ। सानो बजार भए पनि दजनौं ब्रान्डले आफ्नो उपस्थिति जनाइसकेका छन्। दुईपांग्रे ईभीतर्फ स्कुटर प्रयोग दिनानुदिन बढ्दो छ। बजारमा धेरै ब्रान्ड रहेकाले एकातर्फ ईभी वितरकबीच प्रतिस्पर्धा छ भने अर्कोतर्फ सर्भिस सेन्टर, चार्जिङ स्टेसन र गुणस्तरका विषयमा पनि ध्यान पुर्याउनुपर्ने बाध्यता छ। बजारमा राम्रा–नराम्रा ब्रान्डको प्रवेशले अस्वस्थ प्रतिस्पर्धा बढ्ने चिन्ता पनि छ। न्यून गुणस्तरका सवारीसाधन भित्रिएर विद्युतीय सवारीसाधनप्रतिको आकर्षण नै घट्ने हो कि भन्ने चिन्ता पनि छ। नेपालमा दुईपांग्रे विद्युतीय सवारीसाधनको अवस्था, ब्रान्डबीचको प्रतिस्पर्धा र नेपालमा इलेक्ट्रिक स्कुटर बिक्री गर्दै एथरका आगामी योजनाबारे कम्पनीका बिजनेस हेड प्रदीप अधिकारीलाई क्यापिटल नेपालकी कमला भण्डारीले सोधेका ५ प्रश्नः
अहिले नेपाली बजारमा दुईपांग्रे ईभी सवारीसाधनको व्यापार अवस्था कस्तो छ?
अहिलेको नेपालको समग्र विद्युतीय बजारको कुरा गर्ने हो भने चारपांग्रे सवारीसाधनमा धेरै राम्राे भइसकेको छ। तर, दुईपांग्रे विद्युतीय साधनमा त्यस्तो अवस्था बनिसकेको छैन। यद्यपि, दुईपांग्रे ईभीतर्फको बजार विस्तारै बढ्दै गएको छ। चारपांग्रेमा हेर्ने हो भने माग र प्रयोग निरन्तर बढिरहेको छ। तर, त्यही किसिमको अवस्था दुईपांग्रेमा आइनसके पनि बजार राम्रो बन्छ भन्ने अपेक्षा छ।
बजारमा धेरै ब्रान्डको प्रवेश भएको छ। यसले ईभी बजारमा कस्तो असर पारेको छ?
अन्यको तुलनामा चीनबाट आउने ब्रान्डको संख्या बढी छ। विद्युतीय ब्रान्डको प्रवेश नेपालमा जसरी भएको छ, त्यसरी नै ग्राहकलाई सेवा दिन चार्जिङ स्टेसन बन्न सकेका छैनन्। एक डेढ वर्ष चल्नका लागि मात्रै प्राेडक्ट ल्याइने र आउने गरेको पनि देखिन्छ। यो किसिमको अवस्थाले ग्राहकमा ईभी लामो समयसम्म टिकाउ हुने साधन होइन भन्ने प्रभाव परेको देखिन्छ। ब्याट्री बिग्रियो भने रिप्रेस गर्ने ब्याट्री पनि नभएको, वारेन्टीमा दाबी नभएको र पैसा नै दिएर पनि ब्याट्री बनाउँछु भन्दा नपाउने अवस्था कतिपय ब्रान्डको छ। यो किसिमको अवस्थाले ईभीप्रति ग्राहक आकर्षण घटेको छ। एउटा सवारीसाधनमा एकपटक लगानी गरिसकेपछि कम्तीमा तीन-चार वर्ष चल्नुपर्ने हो। तर, नेपालको अवस्थामा एक वर्ष सवारीसाधन बेचे पनि त्यहीअनुसारको सर्भिस, सामग्री उपलब्ध छैनन्। त्यसले गर्दा अलिकति इलेक्ट्रिकमा नराम्रो प्रभाव परेको छ।
दुईपांग्रे विद्युतीय सवारीसाधनमा भारतीय ब्रान्डलाई विश्वासिलो र टिकाउ मानिन्छ। भारतको एथर छ, टिभिएस आएको छ भने हिरो, बजाजलगायतका ब्रान्ड पनि आउँदैछन्। त्यसपछि लामो समयसम्म सेवा दिने, पार्टपुर्जा पाइने अवस्था बन्छ। चार्जिङ स्टेसन र पूर्वाधारमा पनि लगानी हुन्छ। विद्युतीय ब्रान्ड राम्रो हुँदै गएपछि प्रयोकर्ता पनि बढ्दै जान्छन्।
नेपालमा एथर अलि महँगो मूल्य पर्ने उपभोक्ता गुनासाे छ। नाफा कम गरेर बिक्री गर्न सकिँदैन?
अरु ब्रान्डको तुलनामा एथरको मूल्य भारतमै महँगो छ। भारत सरकारले केही सहुलियत दिएका कारण केही सस्तो पर्न जान्छ। त्यहाँ कम्पनीले सस्तोमा दिनेभन्दा पनि सरकारको नीतिले सस्तो पर्न जान्छ। नेपालकाे दाँज्ने हाे भने भारतमा अन्य ब्रान्डको तुलनामा यहाँ मूल्य एथरको कम छ। धेरैले भारतमै त्यति महँगो ब्रान्डलाई नेपालमा यति सस्तै कसरी दिनुहुन्छ भनेर प्रश्न गर्छन्। भारतीय मूल्य र नेपाली मूल्य हिसाब थाहा नपाउनेले महँगो भयो भन्छन्। तर, भारतमा पर्ने मूल्यअनुसार नेपालको मूल्य हेर्ने हो भने यो अन्यको तुलनामा धेरै सस्तो छ। यो विषयमा जानकार सबैले राम्रो प्रतिक्रिया दिँदै पनि आएका छन्। नेपालमा ४ लाख ४० हजार रुपैयाँको सवारीसाधनलाई महँगो मानिन्छ। तर, एथर स्कुटरको गुणस्तर एकदमै राम्रो छ। ब्याट्रीमा ५ वर्षको वारेन्टी एउटा प्रिमियम भेहिकलमा पाउन सकिन्छ।
यसको पर्फमेन्स, गुणस्तर, नयाँनयाँ विशेषता हरेक राम्रो छ। पेट्रोल स्कुटरको १२५ सिसी चलाउँदाभन्दा बढी पावर यसले जेनेरेट गर्छ। त्यो लेभलको स्टेबल तथा सहज स्कुटर एथर हो। अरु ब्रान्डले जसरी हामीले मार्जिन राखेको भए यही प्रोडक्टलाई ५ लाख, साढे ५ लाखसम्म लन्च गर्नुपर्ने हुन्थ्यो। तर, हामीले एकदमै मार्जिन कम गरेर स्कुटर बिक्री वितरण गर्दै आएका छौं। सुरुमा थाहा पाउनेले महँगो भन्न सक्छन्। भेस्पा, अप्रिला, यामाहाको प्रिमियम सिरिज लेभलको स्कुटर एथर हो। ब्याट्रीको गुणस्तर, पर्फमेन्स, ब्याट्रीको वारेन्टी र टिकाउ पनि छ।स्कुटर मुल्यको कारणले अलिकति महँगो लागे पनि एकचोटि टेस्ट गरिसकेपछि मूल्य चित्त बुझ्छ। ग्राहकलाई सन्तुष्टि मिल्छ।
कम्पनीका गामी योजना के छन्? विभिन्न ब्रान्डले विविध अफर तथा स्किम ल्याउँदै गर्दा एथरकाे तयारी के छ?
एथरले हालसम्म कुनै प्रकारका अफर तथा स्किम ल्याएको छैन। अहिले नेपालको दुईपांग्रे सवारीसाधन बजारमा अफर र स्किम जति ल्याउँदा पनि हुने किसिमको छ। स्किमको कस्तो र कति ल्याउन पाउने भन्ने मापदण्ड छैन। अन्य ब्रान्डले धेरै मार्जिन राखेकाले यस्तो अफर ल्याइरहन्छन्। तर, हामीले मार्जिनै कम राखेका हुन्छौं। हामीले तोकिएको मूल्यमै सवारी बिक्री गर्दै आएका छौं।
ईभी स्कुटरका पर्याप्त चार्जिङ स्टेसन र सर्भिसिङ सेन्टर किन खाेलिएनन्? आवश्यक नभएर हाे?
कुनै ब्रान्डको चार्जिङ स्टेसन र सर्भिसिङ सेन्टर छैन। कुनै ब्रान्डको भए पनि पार्टस्, ब्याट्रीह पाइँदैन। यो धेरै ब्रान्डको समस्या हो। तर, एथर चार्जिङ स्टेसन तथा सर्भिस सेन्टरमा निकै अगाडि छ। लामो समयका लागि सोचेर कुनै पनि ब्रान्डले काम गरेका छैनन्। यही कुराले पनि ग्राहकमा नकारात्मक प्रभाव पारिरहेको छ। तर, विश्वासिला ब्रान्ड आउँदै गरेकाले अबको समय आशावादी हुनुपर्छ। अहिलेको अवस्थामा नेपालको ईभी बजार परिवर्तन हुनुपर्छ। अबको भविष्य भनेको पनि ईभी नै हो। यही सोचका साथ हामीले काम गरिरहेका छौं। काठमाडौं उपत्यकामा एथरको एउटा सर्भिस सेन्टर छ, जुन ईभीको सबैभन्दा ठूलो हो। अहिलेका लागि उपत्यकामा एउटा सर्भिस सेन्टर भए पनि अर्को खोल्ने योजनामा छौं। पोखरा र चितवनमा पनि सर्भिस सेन्टरसहितका सोरुम छन्।
काठमाडौंमा हाम्रा १० वटा चार्जिङ स्टेसन छन्। पोखरामा दुई र चितवनमा दुई गरी चार छन् भने अन्य ठाउँ गरी १० छन्। अब आउने ठूला चाडपर्वअघि काठमाडौं उपत्यकामा चार्जिङ स्टेसन बनाउने सोचमा छौं। हाम्रो चार्जिङ स्टेसन सबैभन्दा ठूलो नेटवर्क बनाउने सोच छ।