काठमाडौं। सरकारको मुख्य सुरक्षा अंग नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा १४११ किलोमिटर सडकको ट्रयाक खोलेको जनाएको छ। सोही अवधिमा जडान गरिएका ३८ बेलीब्रिज र सडक विभागलाई हस्तान्तरण गरिएको सेनाले बताएको छ।
सेनालाई विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा परिचालन गर्न सकिने संवैधानिक व्यवस्था छ।
सरकारको निर्देशनअनुसार सेनाले विकास निर्माण कार्य गर्दै आएको सैनिक विकास निर्माण निर्देशनालयका सहनिर्देशक एवं महासेनानी धर्मेन्द्रकुमार झाले बताए।
हाल सेना तीन राष्ट्रिय गौरवका आयोजना र दुईटा पहिलो प्राथमिकता प्राप्त आयोजना निर्माणमा संलग्न छ। त्यसको कुल लम्बाइ २७४ दशमलव ५३७ किलोमिटर छ। त्यसमध्ये रणनीतिक महत्त्वका चार उत्तर–दक्षिण सडक करिडोर निर्माण कार्य सेनाको विकास निर्माण निर्देशनालयको प्रत्यक्ष मातहत अघि बढिरहेका छन्।
हाल निर्माणाधीन आयोजना दार्चुला–टिंकर ७९ किमि, बेनीघाट–आरुघाट–लार्केभन्ज्याङ ९२ किमि, कर्णाली करिडोर (लालीबगर–बगर–दुल्कीकुन्ना खण्ड र घाँटीपारीचौर–बद्रीगाउँ–भुक्का खोला खण्ड) २२ किमि र खाँदबारी–किमाथांका (च्याम्ताङ–घोघप्पा खण्ड) १०.५१ किमि हुन्।
मुलुकको सर्वाधिक महत्त्वको काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना ७०.९७७ किमि पनि सेनाको व्यवस्थापनमा धमाधम निर्माण भइरहेको सहनिर्देशक झाले बताए।
सेनाले यसअघि सुर्खेत–जुम्ला ८८ किमि, बेनी–जोमसोम ९१ किमि, छिञ्चु–जाजरकोट ४५ किमि, बेंसीसहर–चामे ६५ किमी, नाग्मा–गमगढी ९४ किमि सडकको ट्रयाक खोलेको थियो।
काठमाडौं–तराई–मधेस दु्रतमार्गको सुरु पाइलट ट्रयाक ८० किमि, मैलुङ–स्याफ्रुबेंसी १७ किमि, जाजरकोट–डोल्पा दुनै ११७ किमि, कालीगण्डकी करिडोर (गुल्मी–बागलुङ खण्ड ७५ किमि र कर्णाली करिडोर (खुलालु–लैफू–सलिसल्ला खण्ड १२२ किमि पनि सेनाद्वारा निर्माण गरिएका सडक आयोजना हुन्।