काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘मेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउन नेपाल युवा उद्यमी मञ्चका सदस्यलाई आग्रह गरेका छन्।
उद्यमी मञ्चको शुक्रबार काठमाडौंमा भएको २०औं वार्षिक साधारणसभामा अध्यक्ष ढकालले यस्तो बताएका हुन्।
उनले करिब १५ वर्षअघि मञ्चले सुरु गरेको ‘मेड इन नेपाल’ अभियान धेरै संस्थाका लागि प्रेरणा–स्रोत बनेको धारणा व्यक्त गरे।
ढकालले महासंघको युवा संगठनका रुपमा मञ्चले धेरै क्षेत्रमा नेतृत्व गरेकामा मञ्चका सदस्यले गरेको कामको प्रशंसा गरे।
महासंघको पहलमा सरकारले स्टार्टअप नीति पारित गरेको ढकालले जानकारी दिए। उनले महासंघले स्टार्टअपलाई कानुनमा परिभाषित गराउन सफल भएको समेत बताए। युवा उद्यमी मञ्चका सदस्यले उद्यमशीलता प्रवर्द्धनमा विशेष भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे।
महासंघको विधान संशोधन मस्यौदा कार्यसमितिबाट पारित गरेको र मञ्चको अध्यक्ष पदेन रुपमा कार्यकारिणी समिति सदस्य रहने व्यवस्था समावेश गरिएको बताए। उनले आगामी विशेष साधारणसभाले पारित गर्ने र मञ्चको नेतृत्व महासंघ नेतृत्वमा पनि पुग्नेमा विश्वस्त रहेको बताए।
देशको अर्थतन्त्रबारे ढकालले प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसँग भेट गरेको उनले जानकारी दिए।
निजी क्षेत्रको मनोबल उकास्न काम गर्न सरकारलाई आग्रह गरेको र सरकारले महासंघका सुझाव सकारात्मक रुपमा लिएको बताए।