काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रमा आएको क्रान्तिलाई मुलुकको समृद्धिको आधार बनाउने काममा सरकारले सवैको सहयोगको अपेक्षा गरेको बताएका छन्।
क्यान महासंघका अध्यक्ष रणजीतकुमार पोदार नेतृत्वकाे प्रतिनिधिमण्डलसँग मन्त्रालयमा छलफल गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले यस्तो बताएका हुन्।
मन्त्री गुरुङले सूचना क्षेत्रमा आएको क्रान्ति र आर्टिफिसियल इन्टेलीजेन्स ९एआई० को सुरुवातसँगै देखिएको चुनौतीलाई समेत मध्यनजर गरी सरकारले आफ्नो नीतिगत सुधार र ब्यवस्थापनको काम अघि बढाउने जानकारी दिए।
उनले आफूले पद बहालीकै क्रममा डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्न कार्यदल गठनको निर्णय लिएको स्मरण गरे। मन्त्री गुरुङले क्यान महासंघलाई आर्टिफिसियल इन्टेलिजेन्सको विषयमा कार्यपत्र लिएर आउन आग्रह गरे।
‘आर्टिफिसियल इन्टेलिजेन्स एआईको विषयमा कार्यपत्र लिएर आउनुस्, आवश्यक नीतिगत कुरा गर्न सरकार तयार छ,’ मन्त्री गुरुङले भने। उनले सरकार निजीक्षेत्रमैत्री रहेको र मुलुकमा सकारात्मक परिणाम निकाल्न सहकार्य गर्न चाहिरहेको बताए।
मन्त्री गुरुङसँग आज अध्यक्ष पोदार, महासचिव चिरञ्जीवी अधिकारीसहित पदाधिकारीले मन्त्रालयमा भेट गरेका हुन्। भेटमा क्यान महासंघका अध्यक्ष पोदारले सूचना प्रविधि क्षेत्रका बजेटको कार्यान्वयन यसका प्रभाकारिकताको विषयमा ध्यानाकर्षण गराए।
महासचिव तथा साइबर सुरक्षा विज्ञ अधिकारीले आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटी र ब्लकचेन प्रविधिलाई अनुशरण गर्नुपर्ने सुझाव दिए। उनले साइबर सुरक्षा कमजोर हुनुमा आवश्यक नीति तथा कार्ययोजना अभाव, सुरक्षामा कम लगानी र नयिमति सुरक्षा परीक्षण नहुनु प्रमुख तीन कारण रहेको बताए।