क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
काठमाडौं–मधेस-तराई दुर्तमार्ग (फास्टट्रयाक) निर्माणको भौतिक प्रगति हालसम्म ३६.३८ प्रतिशत सम्पन्न भएको नेपाली सेनाले जनाएको छ। सैनिक मुख्यालय भद्रकालीमा साउन ३ मा आयोजित पत्रकार सम्मेलनमा फास्टट्रयाक आयोजना प्रमुख विपुल पोखरेलले ३५.३८ प्रतिशत भौतिक प्रगति हुँदा ३६.६६ वित्तीय प्रगति भएको बताएका हुन्। फास्टट्रयाकमा ६ वटा सुरुङमध्ये ३ वटाको काम सकिएको छ। यस्तै, ८९ वटा पुल निर्माण हुने फास्ट ट्रयाकमा २०८० असारसम्म ८५ वटा पुलको ठेक्का व्यवस्थापन भएको सेनाले बताएको छ। २०७४ वैशाख २१ को मन्त्रिपरिषद् बैठकले फास्टट्रयाक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिएको थियो।
केपी शर्मा ओलीले नेपालको ४५औं प्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतलनिवासमा असार ३१ मा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेबीचको असार १७ मा भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। राष्ट्रपति पौडेलले असार २८ मा प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न असार ३० अपराह्न ५ बजेसम्मको समय दिएका थिए। सोही दिन दुई उपप्रधानसहित मन्त्रिपरिषद्का १९ सदस्यले पनि राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिए। ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ मन्त्री समेटिएका छन्। ओलीले योसहित चौथोपल्ट प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका हुन्।
नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको कार्यभार सम्हालेका छन्। प्रधानमन्त्री केपी ओलीको मन्त्रिमण्डलमा तेस्रो वरीयतामा रहेका अर्थमन्त्री पौडेलले असार ३१ म शीतलनिवासमा शपथ लिएपछि सिंहदरबार पुगेर अर्थ मन्त्रालयको कार्यभार सम्हालेका हुन्। अर्थमन्त्री पौडेलले योसहित पाँचौं पटक अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन्। पौडेललाई निजी क्षेत्र र सेयर बजार समर्थक अर्थमन्त्रीको रुपमा लिइने गरेको छ।
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गरेको छ। साउन ३ को मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकका पूर्वगभर्नर एवं पूर्वराजदूतसमेत रहेका खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो। खतिवडालाई मन्त्री वा सोसरह सुविधा पाउने गरी सल्लाहकारमा नियुक्त गरिएको हो। खतिवडा २०७४ मा ओली मन्त्रिपरिषद्मा अर्थमन्त्री थिए। यस्तै, सोही बैठकले एमाले उपमहासचिवसमेत विष्णु रिमाललाई प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको छ। रिमाल यसअघि पनि प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार थिए।
होटल द्वारिकाज सञ्चालिका अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा निमोनिया र बाथरोगको उपचार गराइरहेकी श्रेष्ठको साउन ३ मा निधन भएको हो। पर्यटन पायोनियर अम्बिकाले होटल व्यवसायका माध्यमबाट नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान दिएकी छन्। सन् १९३३ मा भारतको सिक्मिमा जन्मिएकी स्व. अम्बिकाले श्रीमान् द्वारिकाज श्रेष्ठसँग मिलेर नेपालमै पहिलो पटक पुराना घर र ऐतिहासिक वस्तु (हेरिटेज)लाई होटलको रुप दिएर पर्यटन क्षेत्रमा अविस्मरणीय योगदान दिएको ठानिन्छ। स्व. श्रेष्ठको काठमाडौं बत्तीसपुतलीमा द्वारिकाज होटल सञ्चालनमा छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षे अवधिमा २०१ वटा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले असार ३१ मा सूचना प्रकाशित गरी २०८० साउन १ देखि २०८१ असार ३१ सम्म २०१ वटा मुद्दा विशेष अदालतमा दायर गरिएको बताएको हो। अख्तियारका अनुसार २०१ वटा मुद्दामा १ हजार ५२० जनालाई भ्रष्टाचारको आरोप लागेको छ भने यीमध्ये ५२४ सरकारी कर्मचारी, १०१ जनप्रतिनिधि, १८१ मनोनित पदाधिकारी, २ लेखापढी व्यवसायी, २ बिचौलिया, ९१ व्यवसायी र ६१९ जना अन्य व्यक्ति छन्।
साताको सेयर बजारमा २१९.७१ अंकको सुधार आएको छ। साताको पाँच कारोबार दिन सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१९.७१ अंकले बढेर २४२४.३२ को बिन्दुमा पुगेको हो। असार २७ मा २२०४.६१ बिन्दुमा रहेको नेप्से साताको पाँच कारोबार दिनमा एक दिन घटेर चार दिन बढ्दा २१९.७१ अंकले वृद्धि भई अन्तिम कारोबार दिन बिहीबार २४२४.३२ को बिन्दुमा पुगेको छ। यो साता नेप्सेमा कुल ५२ अर्ब ४९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। गत साता कुल २८ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
विश्वव्यापी प्रविधिमा नेतृत्व गर्दै आएको आईबीएम कम्पनीबाट तयार पारिएको विश्वस्तको विद्यालय कार्यक्रम नेपालमा पनि भित्र्याइएको छ। एसियन ई–लर्निङले पत्रकार सम्मेलनमार्फत साउन २ मा कक्षा ५ देखि १२ कक्षाका विद्यार्थीका लागि तयार गरिएको आईबीएम कार्यक्रम नेपालमा भित्रुयाइएको जानकारी दिएको हो। आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा र ब्लकचेन गरी तीन नवीनतम सूचना प्रविधिका क्षेत्र समेटेर नेपाललगायत दक्षिण एसियामै पहिलो पटक सुरु गरिएको यो कार्यक्रममा ४० देखि ६० घन्टाका विभिन्न सात वटा कोर्स समावेश गरिने एसियन ई–लर्निङका प्रबन्ध निर्देशक सुबोध त्रिपाठीले बताए। आईबीएम प्रविधिमध्ये १ लाख २२ हजार बढी) यूएस पेटेन्ट आफ्नो नाममा दर्ता गरेको कम्पनी हो। आईबीएम दैनिक जीवनमा प्रयोग गरिरहेका एटीएम, डिरयाम, फ्लपी डिस्क, हार्ड डिस्क, ड्राइभलगायत अनगन्ती प्रविधिको आविष्कारकसमेत हो।
काठमाडौं महानगरले ‘साथी महानगर’मार्फत सेवाग्राही सर्वेक्षण सुरु गरेको छ। महानगरले साउन ३ देखि महानगर केन्द्रीय कार्यालय भवनमा अवस्थित एकल सेवा केन्द्रबाट सर्वेक्षण सुरु गरेको हो। महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले महानगरबाट लिएका सेवाको मूल्यांकन सेवाग्राहीमार्फत गर्न सर्वेक्षण सुरु गरिएको जानकारी दिए। सेवाग्राहीले चाहेका बेला सेवा उपलब्ध गराउन अभियानस्वरुप सर्वेक्षण थालिएको उनले बताए। महानगरको अनुसार सर्वेक्षणका लागि सेवा प्रवाहका विभिन्न चरण, प्रक्रिया र अवस्थासँग सम्बन्धित २८ वटा प्रश्न राखिएका छन्।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन गर्न ७३ बुँदे निर्देशन सरोकारवाला मन्त्रालयलाई प्रेषित गरेको छ। मन्त्रालयले साउन २ मा सम्बन्धित मन्त्रालयलाई ७३ बुँदे निर्देशनमा सडक निर्माण चरणमा बोलपत्र आह्वान गर्दा खानेपानी, ढल, बिजुलीको पोल तथा तार व्यवस्थापन र भूमिगत कामसमेत एउटै प्याकेजमा गर्न आग्रह गरेको छ। अहिले सडक निर्माण गर्दा कतै ढल खनिने, कतै बिजुलीका तार भूमिगत गरिने, कतै टेलिफोन, पानीका पाइप बिछ्याउँदा भद्रगोल अवस्था रहेकाले मन्त्रालयले त्यसलाई एकै छातामुनि राखेर काम गर्न आग्रह गरेको हो। मन्त्रालयले प्राथमिकता प्राप्त आयोजनामा दुई सिफ्टमा काम गर्न विकासे मन्त्रालयलाई आग्रह गरेको छ। बजेटमा नपरेका कार्यक्रममा रकम निकासा, रकमान्तर र कार्यक्रम संशोधन नहुने मन्त्रालयको मार्गनिर्देशनमा उल्लेख छ।