काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको टोलीले नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई भेटेर कर्जाको पुनर्तालिकीकरण भए धराशयी उद्योग बचाउन सकिने बताएको छ।
नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझाव सहित चेम्बर कार्यसमितिले आज अर्थमन्त्री पौडेललाई भेटेको हो।
अध्यक्ष कमलेश कुमार अग्रवालसहितको चेम्बर केन्द्रीय कार्यसमितिले अर्थमन्त्री पौडेललाई बधाई एवं सफल कार्यकालको शुभकामना समेत दिए। आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भए पनि निजी क्षेत्रमा लगानीप्रति आर्कषण नभएकोप्रति चेम्बर अध्यक्ष अग्रवालले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराए।
‘अर्थतन्त्र शिथिलताबाटै गु्रज्रिरहेको छ। आर्थिक र वित्तीय क्षेत्रको निकासका लागि नीतिगत स्थायित्व र सरकारी संरक्षणको आवश्यक्ता छ,' अध्यक्ष अग्रवालले भने।
कालो सूचीमा पर्न लागेका उद्यमी व्यवसायीलाई उद्योग व्यवसायको प्रकृति हेरेर आवश्यक्ता अनुसार बैंक तथा वित्तीय संस्थासँगको आपसी विश्लेषणबाट केही समयका लागि कर्जाको पुर्नतालिकीकरण गर्न समेत चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ।
कर्जाको पुर्नतालिकीकरण गर्न सकिए उद्यमी व्यवसायीमा ठूलो आत्मविश्वास सिर्जना गर्न सकिने र धेरै उद्यमी व्यवसायीलाई धरासायीहुनबाट जोगाउन चेम्बरको धारणा छ।
चेम्बर केन्द्रीय समितिका सदस्यसँग पौडेलले निजी क्षेत्रको मागलाई सम्वोधन गर्न सरकार प्रतिवद्ध रहेको बताए। वर्तमान सरकार राजनीतिक र आर्थिक स्थिरताका लागि बनेको भन्दै उनले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयासरत रहेको प्रस्ट पारे। 'सरकारप्रति आशा र भरोसा गर्नुहोस, तत्काल गर्न सकिने काम यो बर्ष र बाकी विषयहरु बजेटमै सम्वोधन गरेरै भएपनि निजी क्षेत्रको मागलाई सम्वोधन गर्छौं,’ उनले भने।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले घर जग्गा कर्जामा हाल कायम १२५ प्रतिशतको जोखिम भारलाई १०० प्रतिशतमा झारिनुपर्नेमा जोड दिए।