काठमाडौं । माइक्रोसफ्ट कर्पोरेसनको क्लाउड सेवा (सर्भर)मा प्राविधि समस्या आउँदा विश्व प्रभावित बनेको छ। माइक्रोसफ्टको सर्भर प्रयोग गर्ने मुलुकमा उडान, वित्तीय सेवा, दूरसञ्चार सेवालगायत सेवा अवरुद्ध भएका छन्। नेपालमा पनि यसको असर देखिएको छ।
माइक्रोसफ्टको ब्राउजर प्रयोग गर्ने बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, भुक्तानी प्रदायकलगायतका संस्थाको सेवा प्रभावित बनेको हो। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा सूचना प्रविधि विभाग प्रमुख मुकुन्द क्षेत्रीका अनुसार माइक्रोसफ्ट ब्राउजरमा आएको समस्या कारण विश्वव्यापीसँगै नेपालका बैंकिङ प्रणालीमा पनि समस्या आएको छ।
‘नेपालमा ब्राउज स्ट्राइक नामक एन्टीभाइरस प्रयोग गरिरहेका बैंक वित्तीय संस्था र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) लगायतका भुक्तानी प्रदायक संस्थाको सिस्टममा समस्या आएको छ,’ क्षेत्रीले भने, ‘राष्ट्र बैंकको आरटीजीएसमा भने समस्या आएको छैन।’
माइक्रोसफ्टको क्लाउड सेवामा आएको समस्याका कारण शुक्रबार नेपाल, भारत लगायत विश्वभरका उडानहरु बन्द भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार भारतमा कतिपय उडान रद्द गरिएको छ भने कतिपय उडान ढिला भएको छ।
माइक्रोसफ्टका अनुसार कम्पनीका विभिन्न ३६५ सेवामा समस्या आएको छ। यसका विषयमा माइक्रोसफ्टले भनेको छ, ‘हामी यो समस्याबारे सचेत छौं। यसलाई समाधान गर्न लागि सकेका छौं। यसको कारण पत्ता लगाई समस्या समाधान गर्न लागि परेका छौं।’
माइक्रोसफ्टको प्राविधिक समस्याका कारण स्काई न्यूज च्यानलले बेलायतमा आफ्नो प्रसारण बन्द गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
यस्तै, अष्ट्रेलियाको टेलिकम कम्पनी टेलस्ट्रा ग्रुप पनि यसबाट प्रभावित भएको छ। माइक्रोसफ्टको प्राविधिक समस्याले केही प्रणाली प्रभावित भएको जनाइएको छ।
भारतमा, चार एयरलाइन्स– इन्डिगो, स्पाइसजेट, आकासा एयर र एयर इन्डिया एक्सप्रेसले सेवा प्रभावित भएको उल्लेख गरेका छन्। उनीहरूको बुकिंग, चेक–इन र उडान अपडेट सेवाहरू प्रभावित भएका छन्।
हैदरावाद र बेंगलुरुका अधिकांश कर्पोरेट कम्पनीमा भाइरस आक्रमणको चर्चा भएको र हैदरावादका धेरै कम्पनीले कर्मचारीलाई अर्को २ घण्टाका लागि आफ्नो प्रणाली बन्द गर्न भनेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले उल्लेख गरेको छ। विश्वभरका विमानस्थलमा चेक इन र टिकट बुकिङमा समस्या आएको समस्याले सर्वसधारण समस्यामा परेका छन्।