काठमाडौं । साउन ४ गते सार्वजनिक गर्ने गरी सम्पूर्ण तयारी भएको चालू आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सञ्चालक समितिलाई आफू पूर्णरुपले तयार (प्रिपेयर) नभएको जवाफ दिएका छन्।
नयाँ मौद्रिक नीतिलाई अन्तिम स्वरुप दिई शुक्रबार सार्वजनिक गर्ने तयारीका साथ बोलाइएको सञ्चालक समितिमा आफैँ तयार नभएको भन्दै गैर जिम्मेवार रुपमा प्रस्तुत भएको एक सञ्चालकले बताए। व्यवस्थापन समितिले पारित गरेको मौद्रिक नीतिबारे छलफलमा सञ्चालक समिति बोलाएर गभर्नर अधिकारीले मस्यौदाबारे आफू पूर्ण जानकार हुन बाँकी रहेको बिफ्रिङ्ग गर्नु गैरजिम्मेवारी हो।
राष्ट्र बैंक गभर्नर कार्यालयले शुक्रबार बिहान बस्ने सञ्चालक समिति वैठकका लागि बिहीबार मध्यान्न सञ्चालकलाई निम्तो पठाएको थियो। गभर्नर कार्यालयले शुक्रबार बिहान साढे ८ बजेका लागि आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति तर्जुमामा छलफलसहितको एजेण्डा राखेर सञ्चालकलाई बोलाएको हो। तर, सञ्चालक समिति वैठकमा भने गभर्नर अधिकारी आफैँ पूर्ण जानकार नभएको भनेर पन्छिएका छन्।
खासगरी बिहीबार मन्त्रिपरिषद्ले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेसँगै शुक्रबार चालू मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रमबाट गभर्नर अधिकारी पछि हटेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वअर्थमन्त्री खतिवडालाई राखेर मौद्रिक नीतिको मस्यौदा फाइनल गर्ने र त्यही नीति राष्ट्र बैंकले सार्वजनिक गर्ने आशंका हुन थालेको छ।
‘अन्यथा आज सार्वजनिक गर्नबाट पछि हट्नुपर्ने कुनै कारण छैन,’ एक सञ्चालकले क्यापिटल नेपालसँग भने, ‘सबै तयारी सकिएर पनि आफू पूर्ण जानकार नभएको भन्दै पन्छिनुले के संकेत गर्छ, तपाईं आफैँ बुझ्नुस्।’
गभर्नर अधिकारीले नयाँ सरकार बन्नासाथ एक चरण पूर्वगभर्नरसमेत रहेका खतिवडालाई भेटेर व्रिफिङ गरको बताइन्छ। खतिवडाले नयाँ सरकार आएसँगै मौद्रिक नीतिमा चासो राख्नु स्वभाविक भएको बताइसकेका छन्। त्यति मात्र होइन, सल्लाहकार खतिवडाले प्रधानमन्त्री र आफू भएको ठाउँमा नयाँ मौद्रिक नीति ब्रिफिङ गर्न र त्यसमा आफूसमेत कन्भिस हुनुपर्ने गभर्नर अधिकारीलाई त्यसअघि नै बताइसकेका थिए।
मौद्रिक नीति निर्माणको जिम्मेवारी पाएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले व्यवस्थापन समितिलाई बुझाको मस्यौदा गभर्नर अधिकारीसहितको व्यवस्थापन समितिले पटक/पटक छलफल गरेर बिहीबार बिहान पास गरेको थियो। त्यसपछि मात्रै गभर्नर कार्यलयले सञ्चालकलाई एजेण्डासहित बैठकको समय दिएर बोलाइएको थियो।
‘मौद्रिक नीतिमा छलफल गर्न बोलाइएको शुक्रबारको सञ्चालक समितिमा विदेशी विनियम खरिद बिक्री कार्यविधिको मस्यौदा र एक वाणिज्य बैंकको स्थलगत निरीक्षण प्रतिवेदनमाथि छलफल भयो,’ एक सञ्चालकले भने, ‘गभर्नर साबले म पूरा तयार भएको छैन, मौद्रिक नीतिको आगामी कार्यदिशा मात्रै हेरेको छु भन्नु भयो। आज मौद्रिक नीतिको मस्यौदामा उल्लेखित अहिलेको विश्व र नेपालको आर्थिक परिदुष्य, गत वर्षमा मौद्रिक नीतिमा लक्ष्य प्राप्ति र पूरा हुन बाँकी रहेका विषयमा मात्रै छलफल भयो। आगामी कार्यदिशामा छलफल नै भएन।’
व्यवस्थापन समितिले मौद्रिक नीतिको मस्यौदा पारित गरिसकेको स्थितिमा आफू जानकार नभएको जवाफले मौद्रिक नीतिका केही पक्षमा परिवर्तन् हुने आशय गभर्नरको रहेको ति सञ्चालकको भनाइ छ।