काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन्।
आज प्रधानमन्त्रीलाई बधाइ तथा शुभकामना दिन बालुवाटार पुगेका नेपाल उद्योग परिसंघ पदाधिकारीसँगको छलफलमा ओलीले विकास, निर्माण, स्थिरतासहित आर्थिक परिवर्तनका लागि नयाँ सरकार गठन भएको बताएका हुन्।
उनले यसअघि नै प्रधानमन्त्री बनिसकेकाले फेरि प्रधानमन्त्री बन्नकै लागि यो पद नओगटेको दाबी गरे।
प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गर्दै निजी क्षेत्रलाई यो सरकारप्रति आशा, भरोसा हुनैपर्नेमा जोड दिए। ‘मुलुकको प्रधानमन्त्री बन्नकै लागि मात्र म आएको होइन। समस्या देखेर, समस्या समाधान गर्न, परिवर्तन ल्याउनुपर्छ, काम गर्नैपर्छ भनेर आएको हुँ’, उनले भने, ‘त्यसैले तपार्इंहरुको आशा–भरोसा हामीमाथि हुनैपर्छ।’
कुनै पनि करका विषय अनुहार हेरेर गर्न नहुने र सरकारले गलत नीति लिएका बेला निजी क्षेत्रले त्यसको विरोध गर्न सक्नुपर्ने प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक रहेकामा जोड दिँदै मौद्रिक नीति कठोर हुन नहुने जानकारी दिए।
छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल रहेको अर्थतन्त्रलाई उकास्न नयाँ सरकारले पहल लिइहाल्नुपर्ने सुझाव दिए।
उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको दृष्टान्त प्रस्तुत गर्दै उनले निजी क्षेत्रको बनोबल बढाउनुपर्नेमा जोड दिए।
विगतका संकुचनकारी मौद्रिक नीतिका कारण समग्र बजार मागमा संकुचन आएको र अर्थतन्त्र शिथिल बन्न पुगेको अध्यक्ष अग्रवालले बताए।
प्रधानमन्त्रीलाई बधाइ दिन परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वअध्यक्षद्वय सतिशकुमार मोर, हरिभक्त शर्मा, उपाध्यक्षहरु निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, अमित मोर, भीम घिमिरे, गभर्निङ काउन्सिल सदस्य शिवरतन शारडा, योगेश्वरलाल श्रेष्ठ, बालकृष्ण श्रेष्ठलगायत पुगेका थिए।