काठमाडौं । गुगल संसारकै सबभन्दा ठूलो आईटी कम्पनीमध्येमा पर्छ। विश्वका अर्बौं मानिस दिनहुँ गुगल प्रयोगमा ल्याउँछन्। गुगलको सन् २०२३ को नेटवर्थ हेर्ने हो भने पनि एक ट्रिलियन अमेरिकी डलर छ। गुगलले करिब २५ वर्षको समय पार गरिसकेको छ। गुगल स्थापनाको प्रसंग भने रोचक छ।
कम्प्युटर साइन्समा पीएचडी गर्ने क्रममा सर्गेई ब्रिन र ल्यारी पेजबीच सन् १९९० मा भेट हुन्छ। स्ट्यामफर्ड विश्वविद्यालयमा भेट भएका यी दुई जोडीले नयाँ सर्च इन्जिनको विकासमा सहयोग गर्ने एउटा प्रविधि ब्याकरुब विकास गरे। पछि गएर यसै इन्जिनको नाम गुगल राखे र सन् १९९६ मा स्ट्यामफोर्डको वेबसाइटमा परीक्षण थालनी गरे।
परीक्षण सफल हुँदै गएपछि दुई साथी मिलेर सन् १९९७ मा विभिन्न जानकारी खोज्ने सुविधा भएको गुगलडटकम नामक डोमेन दर्ता भयो। विस्तारै गुगल आफूलाई जानकारी नभएका विषय खोज्ने लोकप्रिय उपकरण बन्दै गयो। तर, त्यतिबेला गुगल याहु सर्च इन्जिनभन्दा केही सानो थियो। सो समय पेज र ब्रिनले आफ्नो खोज इन्जिन याहुलाई करिब १ मिलियन डलरमा प्रस्ताव राखे। तर, याहुले यो पेज खरिद गर्न अस्वीकार गर्यो। यसपछि दुबैले मिलेर गुगलाई थप अगाडि बढाउने योजना बनाए र सोहीअनुरुप अगाडि बढ्दै गए।
हुन त, यी दुई व्यक्तिका लागि गुगल सर्च इन्जिनको विकास गर्नु मात्रै पर्याप्त थिएन। एउटा व्यवस्थित कम्पनीको थालनी गर्नु थियो, जुन उनीहरुले गर्दै आएको कामभन्दा फरक थियो। उनीहरुका लागि कम्पनी स्थापना गर्न नयाँ लगानीकर्ता आवश्यक थियो। लगानीकर्ता खोजीका क्रममा सन माइक्रोसिस्टमका संस्थापक एन्डी बेचटोलशेम गुगलबाट प्रभावित भए। यसपछि उनले ब्रिन र पेजलाई कम्पनी स्थापनाका लागि एक लाख अमेरिकी डलर दिए। यो रकम कम्पनी माथि उठाउन पर्याप्त थियो। यही रकम लिएर उनीहरु कम्पनी स्थापनामा जुटे।
लगानी पाएपछि सन् १९९८ सेप्टेम्बर ४ मा गुगल इंक कम्पनी स्थापना भयो। अमेजनका संस्थापक जेफ बेजोसले पनि गुगलमा लगानी गरे। यसपछि गुगलले सुसान बोजिकीको ग्यारेजभित्र पहिलो आधार कार्यालय स्थापना गर्दै सन् २००० बाट आफ्नो प्लेटफर्ममा विभिन्न विज्ञापन बेच्न थाल्यो। गुगललाई यो स्थितिमा ल्याउन ल्यारी पेजले सन् २००१ सम्म गुगलको पहिलो प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा काम गरे।
उनीहरु सानै उमेरका हुँदा नोबेलका पूर्वसीईओ एरिक स्मिथ सन् २००१ बाट गुगलको नयाँ सीईओ नियुक्त भए। स्मिथले सन् २०११ सम्म गुगलमा जोडिएर काम गरे। यसपछि, सन् २०११ बाट पेजले सीईओको जिम्मेवारी सम्हाले र २०१५ बाट यो जिम्मेवारी सुन्दर पिचाईले वहन गरे।
सन् २००३ मै गुगलले आफ्ना लागि फराकिलो कार्यालय आवश्यक ठानेको थियो। त्यतिबेला गुगलले एम्फिथियटर पार्कवे माउन्टेभ्यूमा क्याम्प स्थापना गर्यो। सुरुमा भाडामा ठाउँ लिएर कार्यालय खोलेको गुगलले पछि आफैंले खरिद गरेर गुगलप्लेक्स स्थापना गर्यो।
गुगलले आफ्नो दायरालाई सुरुदेखि नै विस्तार प्रयास गरिरहेको थियो। सन् २००५ मै गुगलले नयाँ भिडियो वेबसाइट युट्युबसँग पनि साझेदारी गर्यो। युट्युब पनि छोटो समयमै निकै लोकप्रिय भएको थियो। तर, सन् २००६ मा नै गुगलले युट्युबसँगको साझेदारी तोड्यो। यसपछि गुगलले एरिक स्मिथसँग १.६५ बिलियन डलरमा युट्युब खरिद गर्यो। खासगरी गुगलले युट्युबलाई पछि पार्न नसकेपछि युट्युब किन्नैपर्ने अवस्था बनेको थियो। यद्यपि, यो समयसम्म गुगलले तस्बिर, पाना र स्लाइड डिजाइन विस्तारै गरिरहेको थियो। यही अवधिमा विश्वमा वल्र्ड वाइडवेब पनि प्रविधि क्षेत्रको माइलस्टोन (कोसेढुंगा) बनेर आएको थियो।
गुगलले प्रविधि क्षेत्रमा नयाँ–नयाँ अनुसन्धान, आविष्कार र खोज गर्दै दुई दशक लामो अवधि पार गरिसकेको छ। एप्पल, माइक्रोसफ्ट, अमेजनजस्तै गुगल हाल विश्वको सबैभन्दा बढी मूल्यवान् कम्पनीमध्येको सूचीमा पर्दछ।
तर, गुगलले सन् २००५ मै करिब ५० मिलियन मूल्यमा एन्ड्रोइड कम्पनी ल्याइसकेको थियो। उक्त एन्ड्रोइड कम्पनी विधिवत रुपमा गुगलमा सरेर मोबाइलफोन अपरेटिङ जारी थियो। सन् २००७ सम्म एन्ड्रोइड १.० संस्करणको विकास भयो र गुगलको एन्ड्रोइड सन् २०१२ सम्ममा विश्वको सबैभन्दा ठूलो स्मार्ट फोन प्लेटफर्म बन्यो।
यसरी सुरु भएको गुगलले हाल वार्षिक करिब १०० बिलियन बढी आम्दानी गरिरहेको छ।
विभिन्न आरोह–अवरोह पार गर्दै आएको गुगलसामु अहिले पनि थुप्रै चुनौती छन्। विश्वमा नयाँ–नयाँ प्रविधिको विकास हुँदै जाँदा पछिल्लो समय लोकप्रिय बनेको एआई च्याटबोट (च्याटजीपिटी) गुगलको प्रतिस्पर्धी बनेर आएको छ। च्याटजीपिटी सन् २०२२ देखि २०२३ सम्म सबैभन्दा छोटो समयमै धेरै डाउनलोड भएको र प्रयोगकर्ता आकर्षण भएको प्लेटफर्म बन्यो। यसले गुगललाई चुनौती मात्रै दिएन। अन्ततः गुगलले र आफ्नो प्लेटफर्ममा छिटोछिटो नयाँ–नयाँ अपडेट ल्याउन बाध्य भयो।
गुगलले प्रविधि क्षेत्रमा नयाँ–नयाँ अनुसन्धान, आविष्कार र खोज गर्दै दुई दशक लामो अवधि पार गरिसकेको छ। एप्पल, माइक्रोसफ्ट, अमेजनजस्तै गुगल हाल विश्वको सबैभन्दा बढी मूल्यवान कम्पनीमध्येको सूचीमा पर्दछ।
यद्यपि, यसबारे हामीले सफल गुगलको कथा सुन्दै आएका छौं। तर, गुगल पनि आफ्ना विभिन्न डेढ सय बढी प्रोडक्टमा असफल भएको छ। बजारमा अन्य एप र प्लेटफर्मलाई चुनौती दिने उद्देश्यले लन्च गरिएका दर्जनौं कार्यमा गुगल असफल भएको छ।
यी सयौं असफलतालाई गुगलको एउटै सफलताले पर्दापछाडि राख्न सफल भएको छ। किल्ड वेबसाइटका अनुसार गुगलबाट उत्पादित २६७ उत्पादन हाल सञ्चालनमा छैनन्। यसमा ५१ वटा एप, १९५ सेवासम्बन्धी प्लेटफर्म र २१ वटा हार्डवेयर रहेका छन्। यद्यपि, धेरैलाई अन्य केहीमा ट्रान्जिक्सन गरिएकाले यी सबैलाई असफल भनिँदैन। डेढ सय बढी प्रोडक्ट पूर्ण असफल बनेका छन्।
पछिल्लो केही वर्षयता मात्रै गुगलले अन्य कम्पनीलाई टक्कर दिने सोचका साथ ल्याएका थुप्रै प्रोडक्ट बन्द भएका छन्।
गुगल प्लस
गुगलले सार्वजनिक गरेको सामाजिक सन्जाल गुगल प्लस असफल भएपछि सन् २०१८ मा बन्द गरिएको हो। सन् २०११ मा फेसबुक र ट्ीवटरलाई चुनौती दिन खोलिएको यो सर्च इन्जिन गुगलको सामाजिक सन्जालमा हात हाल्ने चौथो प्रयास थियो। प्रयोगकर्ताले नरुचाएपछि यो प्लेटफर्म बन्द गरिएको थियो। यद्यपि, ठूलो मात्रामा यसका तथ्यांक चोरिएको पुष्टि भएको दाबी गरिएको थियो।
गुगल ग्लास
अगमेन्टेड रियालिटी (एआर) मा आधारित गुगल ग्लास सन् २०१३ मा सार्वजनिक भएको थियो। यसको मूल्य १५ सय डलर तोकिएको थियो। भविष्यलाई ध्यान राखेर निर्माण गरिएको गुगलको यो प्रोडक्ट पनि लामो समय टिक्न सकेन। यसपछि कम्पनीले यसलाई बन्द गरेको थियो।
गुगल एन्सर्स
गुगलको एन्सर्स प्रयोगकर्ताले प्रश्न सोधे त्यसको उत्तर थाहा पाएका प्रयोगकर्ताले दिने किसिमले डिजाइन गरिएको थियो। उत्तर थाहा पाएको व्यक्तिले गुगल एन्सर्समा उत्तर दिए उसका लागि रिवार्ड व्यवस्था थियो। राम्रो अवधारणा हुँदा पनि गुगलको यो प्रोडक्ट असफल भयो र गुगलले यसलाई बन्द गरिसकेको छ।
गुगल नेक्सस क्यू
गुगल नेक्सस क्यू मिडिया प्लेयर हो। गुगलले यसलाई सन् २०१२ मा सार्वजनिक गरेको थियो। यसको मूल्य तीनसय डलर तोकेको थियो। पछि गएर क्रोम कास्टले यसलाई रिप्लेस गर्यो। क्रोम कास्ट प्रयोग गर्न सजिलो र सस्तो भएपछि यो प्रडक्टलाई पनि गुगलले बन्द गरेको थियो।
गुगल बज
गुगल बज ट्वीटरजस्तै थियो। यसमा फोटो भिडियो तथा टेक्स्ट सेयर गर्ने सकिने किसिमको डिजाइन थियो। यसलाई जीमेलमा समाहित गरिएको थियो। तर, प्रयोगकर्ता यसमा पनि आकर्षित हुन सकेनन् र गुगलले यो प्रोडक्ट बन्द गर्न बाध्य भयो।
गुगल लाइभ्ली
नयाँ खोजीको चरणमा गुगलले सोसल मिडिया र गेमिङलाई मिक्स गरेर गुगल लाइभ्ली प्रडक्ट सन् २००८ मा सार्वजनिक गरेको थियो। यसमा थ्रीडी अवतार सुविधा पनि थियो। तर, सार्वजनिक भएको साढे ४ महिनामै यो प्रोडक्ट गुगलले बन्द गर्यो।
ट्याङ्गो
सन् २०१४ मा स्थापना भएको ट्यांगोलाई गुगलले सन् २०१८ मा बन्द गरेको थियो। यो डेभलपमेन्ट प्रोग्रामको डिजाइनमा सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको थियो। यसले स्मार्ट फोनभन्दा बेग्लै अर्थात् इमर्सिभ गेमिङमार्फत अन्तरक्रिया गर्न सकिने अवधारणा अगाडि सारेको थियो।
गुगल भिडियो
यो गुगलको आफ्नो प्लेटफर्म थियो। यसलाई युट्युबजस्तै परिकल्पनामा डिजाइन गरिएको थियो भने सय एमबीसम्मको भिडियो डाउनलोड गर्न, अपलोड गर्न र निःशुल्क हेर्न सकिन्थ्यो। सन् २००५ मा स्थापना भएकामा यसलाई सन् २००९ मा औपचारिक रुपमा बन्द गरिएको थियो। युट्युबको आकर्षण बढिरहेको समय गुगल भिडियो सुरु भएको थियो।
गुगल ग्लास
सन् २०१२ मा गुगलले स्मार्ट चस्मा पनि ल्याएको थियो। यसमा आवाजको गतिलाई नियन्त्रण गर्ने विशेषता थियो। साथै, यसमा ग्लासेस एप र क्यामेरालगायत विशेषता पनि थपिएका थिए। गुगलले यसको बिक्री गर्न सकेन। सीमित मात्रै बिक्री भए पनि यो प्रोडक्ट बन्द गरेको थियो।
गुगल हेल्थ
गुगलले नयाँ–नयाँ प्रोडक्ट विकास गर्ने योजनामा काम गरिरहँदो गुगल हेल्थ सार्वजनिक गरेको थियो। यसलाई स्वास्थ्यसम्बन्धी रेकर्ड राख्न सकिने आधारमा डिजाइन गरिएको थियो। यसमा स्वास्थ्य सेवाप्रदायकसँग जोडिन सकिने अवस्था हुँदा छाला रोगलगायतका औषधी बाँडिन्थ्यो। तर, गोपनियता र प्रयोकर्तामा प्रयोगसम्बन्धी सहजता प्रदान नहुँदा यो प्रोडक्ट पनि असफल भयो। यसलाई सन् २०२१ मा बन्द गरिएको हो।
गुगल टल्क
गुगल टल्क म्यासेजिङ एप थियो। यसलाई जीमेलसँग एकीकृत गरेर प्रयोगकर्ताले विभिन्न जानकारी तथा सन्देश आदानप्रदान गर्न सक्थे। यसमा भिडियो कल र भ्वाइस म्यासेज गर्न सकिन्थ्यो। तर, पछि नयाँ म्यासेजिङ एप विकास हुँदै गएपछि यो चल्न सकेन र बन्द भयो।
इन्बक्स बाई गुगल
इन्बक्स बाई गुगल जीमेलमा उपलब्ध नभएका थप फिचरलाई जोडेर तयार गरिएको प्लेटफर्म थियो। यसमा स्मार्ट रिप्लाइका साथमा एआईमा आधारित सुविधा दिइएको थियो। यसमा पनि गुगलले सफलता हात पार्न सकेन र २०१९ मा बन्द गरियो।
गुगल अल्लो
गुगल अल्लो आईओएस र एन्ड्रोइड दुवैका लागि तयार गरिएको थियो। यसमा ईमेल वा सामाजिक सन्जालको सट्टामा फोन नम्बरसँग जोडिएको थियो। यो अन्य एपसँग भन्दा ह्वाट्सएपसँग मिल्दोजुल्दो थियो। सन् २०१६ बाट सञ्चालनमा ल्याइए पनि यसलाई २०१९ देखि बन्द गरियो।
गुगल गुगल्स
गुगल गुगल्स स्मार्ट फोन एप थियो। यसमा प्रयोगकर्ताले तस्बिर खिचेर विभिन्न जानकारी खोज्न सक्थे। आफूलाई कुनै विषयबारे जान्न मन छ, त्यसको तस्बिर राखिएमा यसले सम्पूर्ण जानकारी दिने काम गर्दथ्यो। यसमा पनि गुगल असफल भयो।
गुगल रिडर
गुगल रिडर धेरै साइटबाट विभिन्न फिडब्याक ग्रहण गरेर जम्मा गर्ने उपकरण थियो। यसमा समाचार र लेख हेर्न, व्यवस्थित गर्न र हेर्न अनुमति दिने, फोल्डरमा आधारित दृश्य स्क्यान गर्न सकिने विशेषता थिए। यो सन् २०१३ मा बन्द गरिएको थियो।
यस्तै, गुगलका एप मार्कर, गुगल ट्रिप्स, फलो योर वल्र्ड, बफर बक्स, डगबेल, गुगल एसएमएस सर्च, गुगल डिस्कनरी, गुगल ल्याब्स, पिकनिक (तस्बिर सम्पादन), जाइकू, अर्कुट, पिकासा, क्रोमबुक पिक्सेललगायत एप तथा प्लेटफर्म पनि असफल भएका थिए।