काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)बीच भएको छलफलमा आर्थिक क्षेत्रमा आशाको दियो बाल्नेमा प्रयासरत रहने बताएका छन्। सीएनआई प्रतिनिधिमण्डलले बिहीबार आर्थिक अवस्था र सुधारका विषयमा सुझाव दिने क्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।
अर्थमन्त्रीसँगको भेटमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले पौडेललाई बधाइ दिनुका साथै विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्नेमा जोड दिए।
'उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको छ। विगत तीन वर्षदेखि उद्योग ३०/४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको र समग्र बजार मागमा संकुचन आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको छैन,' उनले भने, 'विगतका संकुचनकारी मौद्रिक नीतिले अर्थतन्त्र विस्तार हुन नसकेको हो। चालू पुँजी कर्जा मार्गदर्शन र पुँजीको वर्गीकरण मार्गदर्शनका कारण उत्पादनशील क्षेत्र र निर्माण क्षेत्र बढी प्रभावित भएकाले यी दुई मार्गदर्शन खारेज हुनुपर्छ।'
परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन समग्र माग बढ्ने नीति लिनुपर्ने, पूँजीगत खर्च बढाउन सुनिश्चितता प्रदान गर्नुपर्नेमा जोड दिएको छ।
सो अवसरमा अर्थमन्त्री पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेको बताउँदै राजनीतिक समीकरणलाई समेत हेरेर आशावादी भइदिन निजी क्षेत्रलाई आग्रह गरे।
'प्रधानमन्त्री केपी शर्मा ओली चौथो पटक भूतपूर्व प्रधानमन्त्रीको फोटो टाँस्न आउनुभएको होइन, समस्या देखेरै समाधानका लागि नयाँ सरकार बनेको हो,' उनले भने, 'अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास हुनेछ।'
उनले नीतिको स्थिरता र कार्यान्वयनको स्थायित्व आवश्यक रहेकाले यसैमा केन्द्रित भई सरकारले काम गर्ने बताए। समस्या मात्र नभई समाधानका लागि निजी क्षेत्रसँग सँगै बसेर छलफललाई केन्द्रित गर्ने उनको भनाइ छ।
अर्थमन्त्रीलाई भेट्न परिसंघ निर्वतमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, रोहित गुप्ता, अमित मोर, भीम घिमिरेलगायत मन्त्रालय पुगेका थिए।