काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५९.६८ अंकले बढेर २४२४.३२ अंकमा रोकिएको छ।
दुई सातादेखि निरन्तर बढिरहेको नेप्से र कारोबार रकमले बिहीबार थप उचाइ लिएका छन्। बिहीबार कारोबार रकम १५ अर्ब ४७ करोड रुपैयाँको शेयर किनबेच भएको छ। बुधबार यस्तो रकम १२ अर्ब थियो।
बिहीबार कारोबार खुलेसँगै बढ्न थालेको नेप्से लगत्तै केही घटेर २३५५.५९ अंकमा पुगे पनि त्यसपछि बढेको सूचकले १२ बजेर ४७ मिनेटमा २४५९.९४ अंक छोएको थियो। त्यसपछि विस्तारै सम्हालिन खोजेको बजार सूचक अन्तिम समयमा करिब ६० अंकले बढेको हो।
बिहीबारको सूचक २०७८ चैत २४ गते यताकै उच्च हो भने कारोबार रकम पनि २०७८ भदौ १३ गते यताकै उच्च हो। यसअघि चैत २४ गते नेप्से २४६४.३१ बिन्दु्मा थियो भने २०७८ भदौ १३ गते १५ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको थियो।
बिहीबार फाइनान्स र जलविद्युत समूह बाहेक अन्य सबै समूह बढेका छन्। खासगरी बिहीबार वाणिज्य बैंक समूहमा एक प्रकारको रौनकता छाएको छ।
मौद्रिक नीति सार्वजनिक गर्ने मिति नजिकिँदै गर्दा सेयर बजार निरन्तर उकालो लागेको छ। यद्यपि यसबीचमा व्याजदर निरन्तर घटिरहेको छ भने लगानीयोग्य रकम (तरलता) बढिरहेको छ। सँगै नयाँ सरकार परिवर्तन र अर्थमन्त्रीमा निजी क्षेत्रले रुचाएका विष्णु पौडेल आएसँगै नेप्सेमा सकारात्मक प्रभाव परेको छ।
बजार बढ्न थालेसँगै सेयर कारोबार रकममा पनि उच्च वृद्धि भइरहेको छ।
नेप्से सूचक २०५० भन्दा तल रहँदा अधिक्तम ६ अर्ब हाराहारी कारोबार भएकोमा गत बिहीबार ६ अर्ब ८१ करोडको सेयर किनबेच भएको छ। त्यस यता हरेक दिन नेप्सेमा कारोबार रकम र सूचक बढिरहेको छ। नेप्से ५० अंक बढिले बढेको बिहीबार चौथो दिन हो।
बिहीबार नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल फाइनान्स, आँखु खोला जलविद्युत, उपकार लघुवित्त, थ्रीस्टार हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ।
बिहीबार १४३ कम्पनीको मूल्य बढ्दा ९५ कम्पनीको सेयर मूल्य भने घटेको छ।