काठमाडौं । होटल द्वरिकाज सञ्चालिका अम्बिका श्रेष्ठको आज ९२ वर्षको उमेरमा निधन भएको छ। होटल व्यवसायका माध्यमबाट उनले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान दिइन्।
सन् १९३३ मा भारतको सिक्मिमा जन्मिएकी श्रेष्ठ नेपालको पर्यटन क्षेत्रको पायोनियरका रुपमा स्थापित भइन्। श्रीमान् द्वारिकाज श्रेष्ठसँग मिलेर अम्बिकाले नेपालमै पहिलो पटक पुराना घर र ऐतिहासिक वस्तु (हेरिटेज)लाई होटलको रुप दिएर नेपालको पर्यटन क्षेत्रमै ठूला योगदान पुर्याउन सफल भइन्।
काठमाडौंको बत्तीसपुतलीमा द्वारिकाज होटल सञ्चालन गरेर नेपाललाई मात्र नभई विश्व बजारमा हेरिटेजलाई होटलको रुपमा विस्तार गर्न सकिन्छ भन्ने उदाहरण श्रेष्ठले दिइन्।
प्राणघातक क्यान्सरलाई जितेकी श्रेष्ठ केही महिनादेखि निमोनिया र बाथरोगबाट पीडित थिइन्। उनको निमोनिया र बाथरोगको उपचारको क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको होटल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले जानकारी दिए।
दिवंगत श्रेष्ठले सन् १९६० तिर ट्राभल कम्पनीसमेत खोलेकी थिइन्। ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। द्वारिकाजका नाममा काठमाडौं र धुलिखेलमा होटल चलाउँदै आएकी श्रेष्ठका विभिन्न ट्राभल एजेन्सीसमेत सञ्चालनमा छन्।
उनको निधनले होटल क्षेत्रको एउटा नक्षत्र गुमेको होटल व्यवसायी बताउँछन्। ‘श्रेष्ठ होटल क्षेत्रको मात्र नभई सिंगो पर्यटन क्षेत्रको पायोनियर हुनुहुन्थ्यो,' अध्यक्ष शाहले भने, 'उहाँको निधनले सिंगो पर्यटन क्षेत्र स्तब्ध भएको छ।' द्वारिकाज, जसले हस्पिट्यालिटी क्षेत्रमा एउटा विशेष पहिचान मात्र बनाएको छैन, नेपाली संस्कृतिलाई पनि संरक्षण गरिरहेको छ।
द्वारिकाज होटल तथा रिसोर्ट विशेषगरी धनाढ्य, विदेशी सरकार प्रमुखको रोजाइमा पर्दै आएको छ। धुलिखेलमा रहेको रिसोर्टमा त विदेशी पर्यटक बसोबास गर्दै आएका छन् भने काठमाडौंको होटलमा पनि बढी मात्रामा विदेशी नै हुने गरेका छन्। पछिल्लो समय अलिबाबाका संस्थापक ज्याकमा द्वारिकाज होटलमै बसेका थिए।
जीवनको अन्तिम समयसम्म होटल क्षेत्रमै क्रियाशील श्रेष्ठलाई केही महिनाअघि पाटा नेपालले लाइफटाइम अचिभ्मेन्टबाट सम्मानित गरिएको थियो। सम्भवत: सोही सम्मान श्रेष्ठको जीवनकै अन्तिम बन्यो। श्रेष्ठप्रति हार्दिक श्रद्धान्जली।