काठमाडौं। आगामी शनिबार देशकै ठूलो साइकल जात्रा ‘कोरा २०२४’को १४औं संस्करण आयोजना हुने भएको छ। कार्यक्रममा करिब ४,००० साइकल यात्रीले नेपालका १५ भन्दा बढी स्थानमा २ लाख किलोमिटरभन्दा बढी दूरी तय गर्नेछन्।
हरेक वर्षजस्तै यो वर्ष पनि साइकल यात्रीले सामाजिक कामका लागि रकम संकलन गर्ने आयोजककले बताएको छ। यो वर्ष संकलन गरिने रकम ललितपुरको गुन्सिंगालमा रहेको साइकल पम्प ट्रयाकजस्तै नेपालगन्जमा रहेको पम्प ट्रयाक सुधारमा प्रयोग गरिनेछ।
सन् २०११ मा ३५ जनाबाट सुरु भएको काठमाडौं कोरा साइकल यात्रा हरेक वर्ष पाटनको मंगलबजारबाट सुरु भई काठमाडौं उपत्यकाको एक फन्को लगाएर पाटनकै नागबाहालमा अन्त हुने गर्छ। साइकल यात्रीले यस क्रममा आफ्नो इच्छा अनुसार ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर वा १४० किलोमिटरको यात्रा तय गर्नेछन्।
हरेक वर्ष जुलाईको तेस्रो शनिबार आयोजना हुने कोरामा यो वर्षको काठमाडौं कोरामा ललितपुर महानगर पनि सह–आयोजकको रुपमा सहभागी भएको छ। यसको उद्देश्य साइकल संस्कृति विकास गर्नु रहेको छ।
कोरा आयोजनाको मूल उद्देश्य देशभरि नै साइक्लिस्ट समुदाय विकास गरी साइकल संस्कृतिको प्रवर्द्धन गर्नु हो।
यसमा सोसल टुर्स, साइकल सिटि नेटवर्क नेपाल, पांग्रो, ललितपुर महानगर, यूएसआईडी स्वच्छ हावा, अष्ट्रेलियन दूतावास, नबिल बैंक, टर्किस एयरलाइन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्सलगायत विभिन्न संघसंस्थाले सहकार्य गरेका छन्।