काठमाडौं । नेपाल राष्ट्र बैंकले आधा दर्जन विकास बैंक र ३ वटा फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले गत वर्षको चौथो त्रैमासमा दिएको नीति निर्देशन उल्लंघन गर्ने विकास बैंक र वित्त कम्पनीलाई कारबाही गरेको हो।
राष्ट्र बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमास अवधिमा विकास बैंक र वित्त कम्पनीका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई गरेको कारबाहीको विवरण प्रकाशित गरेको छ।
यस्तो कारबाहीमा विकास बैंकतर्फ कर्णाली विकास बैंक, नारायणी विकास बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको छ। उक्त अवधिमा विभागको कारबाहीमा सिन्धु विकास बैंक २ पटक कारबाहीमा परेको हो। राष्ट्र बैंकले सिन्धुका अध्यक्षलाई जिम्मेवार बनाउँदै साढे २ करोड रुपैयाँ हिनामिना भएको ठहर गरी कारबाही गरेको हो।
सोही अवधिमा वित्तीय संस्था सुपरिवेक्षण विभागले वेस्ट फाइनान्स, रिलायन्स फाइनान्स र प्रोगेसिभ फाइनान्सको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ।
राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागले बैंक तथा वित्तीय संस्थाको वार्षिक रूपमा कार्यतालिका बनाएर निरीक्षण तथा अनुगमन गर्छ। विभागले बैंक तथा वित्तीय संस्थाको स्थलगत, गैर–स्थलगत, सूक्ष्म र विशेष निरीक्षण तथा अनुगमन गर्छ।
निरीक्षणका क्रममा सुपरिवेक्षकले औंलाएको विषयमा विभागले प्रमुख कार्यकारी निर्देशक, सञ्चालक समितिलाई नै जिम्मेवार बनाउँदै कारबाही गर्छ। यस्तो कारबाही मासिक ब्याजदर अन्तर तोकिएको सीमाभित्र कायम नगर्दा, तोकिएको उत्पादनशील (कृषि, ऊर्जा, लघु एवं साना तथा मझौला) क्षेत्रमा कर्जा प्रवाह नहुँदा, विपन्न वर्ग क्षेत्रमा तोकिएभन्दा न्यून कर्जा प्रवाह हुँदा, अनिवार्य नगद मौज्दात नपुग हुँदा, कर्जा– निक्षेप अनुपातको तोकिएको सीमा नाघ्दा हजर्ना लगाइन्छ भने, अन्य व्यवस्था उल्लंघन हुँदा प्रमुख कार्यकारी निर्देशक र सञ्चालक समितिलाई नगद जरिवानादेखि सचेत गराउने, नसिहत दिने वा पदबाट बर्खास्त गराएर अन्य कानुनी कारबाही गराउँछ।
गत वर्षको चौथो त्रैमासमा कर्णाली विकास बैंकले अनिवार्य नगद मौज्दात नपुग भएकोले २ हजार ५ सय ४६ रुपैयाँ ७२ पैसा जरिबाना तिरेको छ। विभागले नारायणी विकास बैंकको यसअघिकै शीघ्र सुधारात्मक कारबाहीलाई गत वर्षको चौथो त्रैमासमा पनि निरन्तरता दिएको छ।
यसबाहेक कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकलाई भने विभागले बैंकका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ। कर्पोरेट विकास बैंकले राष्ट्र बैंकको नियम विपरीत आफ्नो वासलात तथा नाफा-नोक्सान हिसाबको विवरण ढिलो पेस गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि तोकेको समयावधिभन्दा ढिला हुने गरी सार्वजनिक गरेको र साधारणसभा समेत ढिलो गरेको थियो। नियामकीय व्यवस्था उल्लंघन गर्ने बैंकको सञ्चालक समितिलाई राष्ट्र बैंकले सचेत गराइएको हो।
यस्तै, सिन्धु विकास बैंकको राष्ट्र बैंकले तोकेको पुँजीकोष अनुपात ३२.९० प्रतिशत अपुग हुँदा राष्ट्र बैंकले शीघ्र सुधारको कारबाही सुरु गरेको छ। बैंकले नियम विपरित चेक खरिद गरको, चेकलाई धितोको रुपमा लिएको र सो चेकको आधारमा २ करोड ५० लाख बराबरको सेयर धितो फुकुवा गर्ने निर्णय सञ्चालक समितिबाट गराएको थियो।
व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएका ४ वटा ऋणीलाई प्रवाह गरिएको कर्जाको साधारण ब्याजसमेत मिनाह गरी साँवा रकम मात्र असुलउपर गर्ने सञ्चालक समितिको निर्णयबाट संस्थालाई हानि पुगेको र यसबाट लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरीतका कार्य भएको हुँदा संस्थाको अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई ५ लाख रुपैयाँ जरिवाना तिराएको छ।
यसैगरी वित्त कम्पनीतर्फ रिलाइन्स फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र बेष्ट फाइनान्सले ढिलो वित्तीय विवरण पेस गर्दा र साधारणसभा ढिलो गर्दा राष्ट्र बैंकले सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको थियो।