काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयन गर्न ७३ बुँदे निर्देशन सरोकारवाला मन्त्रालयलाई प्रेषित गरेको छ।
मन्त्रालयले सडक निर्माण चरणमा बोलपत्र आह्वान गर्दा खानेपानी, ढल, बिजुलीको पोल तथा तार व्यवस्थापन र भूमिगत कामसमेत एउटै प्याकेजमा गर्न आग्रह गरेको छ।
अहिले सडक निर्माण गर्दा कतै ढल खनिने, कतै बिजुलीका तार भूमिगत गरिने, कतै टेलिफोन, पानीका पाइप बिछ्याउँदा भद्रगोल अवस्था रहेकाले मन्त्रालयले त्यसलाई एकै छातामुनि राखेर काम गर्न आग्रह गरेको हो।
मन्त्रालयले आयोजना कार्यान्वयनमा सहजता ल्याउन वातावरणीय प्रभाव मूल्यांकन र प्रारम्भिक वातावरणीय परीक्षणका काम कानुनले तोकेको समयभित्रै पूरा गर्न सुझाएको छ।
यस्तै, मन्त्रालयले प्राथमिकता प्राप्त आयोजनामा दुई सिफ्टमा काम गर्न विकासे मन्त्रालयलाई आग्रह गरेको छ।
बजेटमा नपरेका आयोजना/कार्यक्रम अगाडि नबढाउन र अगाडि बढाउने पदाधिकारीले नै त्यसको जिम्मेवारी लिनुपर्ने मन्त्रालयले बताएको छ।
बजेटमा नपरेका कार्यक्रममा रकम निकासा, रकमान्तर र कार्यक्रम संशोधन नहुने मन्त्रालयको मार्गनिर्देशनमा उल्लेख छ।
तीनै तहका सरकारबीचको समन्वयमा दोहोरो नपर्ने गरी कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयको आग्रह छ। मन्त्रालयले आफ्नो सहमतिबिना थप आर्थिक दायित्व सिर्जना गर्न रोक लगाएको छ। आयोजनाको बहुवर्षीय ठेक्का सहमति मापदण्डको पूर्ण पालना गर्न मन्त्रालयले विकासे मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
यस्तै, समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्न, १० करोड माथिका आयोजना निर्माणमा गुणस्तरको प्राविधिक परीक्षण गराउन अर्थले आग्रह गरेको छ।