काठमाडौं। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुने नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ओलीलाई बधाइ दिन पुगेका नेपाल उद्योग वाणिज्य महासंघसँग पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीले उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने बताएका हुन्।
महासंघ पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्य सम्मिलित भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने भरोसा दिलाए। उनले उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएको महासंघले बताएको छ।
भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल पनि उपस्थित थिए।
सो अवसरमा मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले धारणा व्यक्त गरे।
मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र विस्तारबाट मात्रै सुधार सम्भव रहेको प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष ढकालले बताएका हुन्।
सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रुपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्पmत लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालको भनाइ थियो। निजी क्षेत्रलाई मर्यादाक्रममा समावेश गर्नेलगायतका गैरमौद्रिक प्रोत्साहन सरकारले दिन सक्ने अध्यक्ष ढकाल बताए।
उद्यम व्यवसाय सम्बद्ध नियामकीय निकायले एकआपसमा समन्वय बढाएर लगानी प्रोत्साहन गर्ने गरी कार्य सम्पादन गर्नु आवश्यक रहेको अध्यक्ष ढकालले धारणा व्यक्त गरे। अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रबाट पूर्वाधारमा हुने लगानीलाई कुनै पनि प्रकारले निरुत्साहित गर्न नहुनेमा जोड दिए।
अध्यक्ष ढकालले अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्री नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेकामा जोड दिए।
निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवं ट्रक लाइनसम्बन्धी विवाद तत्काल समाधान गरी उद्यमी व्यवसायीलाई निर्वाध र सहज रुपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको पनि अध्यक्ष ढकालले बताए।
अध्यक्ष ढकालले सहकारी र लघुवित्तमा देखिएको समस्याका कारण ग्रामीण भेग, साना सहर र साना उद्यमीसम्म रकम पुग्न नसकेको हुँदा त्यहाँ सहज वित्तीय पहुँचका लागि विशेष पहल आवश्यक रहने धारणा व्यक्त गरे।
प्रधानमन्त्रीसँगको भेटमा सहभागी महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले बजारमा माग बढाउन सरकारको खर्च बढाउनुपर्ने र निजी क्षेत्रको लगानी प्रोत्साहित गराउनुपर्ने बताए।