एसेम्बल उद्योग कुनै पनि मुलुकको औद्योगिक विकासको महत्त्वपूर्ण र पहिलो पाइलाको रूपमा स्थापित भइसकेको छ। देशभित्र एसेम्बल उद्योग थपिँदै जानुले मुलुक औद्योगिकीकरणतर्फ उन्मुख रहेको सन्देश प्रवाह गर्छ।
विश्वमा जति पनि मुलुकले औद्योगिक विकास गरेका छन्, त्यसका पछाडि एसेम्बल उद्योग प्रमुख हो। उत्पादन प्रक्रियामा रिसर्च एन्ड डेभलपमेन्ट (आरएनडी), कम्प्लिट नकडाउन (सीकेडी)म्यानुफ्याक्चरिङ, प्रोडक्ट एसेम्बली र वस्तुको प्रकृतिअनुसार त्यसको संरचनाका विभिन्न चरण हुन्छन्। हरेक उद्योगले यस्ताखाले चरण पूरा गर्दै अगाडिको औद्योगिक यात्रा तय गर्छन्। कुनै पनि उद्योगी एकैपटक सीकेडीमा जान सक्दैन। त्यसका पछाडि विभिन्न कारण छन्। सरकारको नीति, लगानीकर्ताको क्षमता, बजार मागलगायत प्रमुख कारण हुन्छन्।
त्यसो हुँदा सुरुमा एसेम्बल उद्योगबाट व्यावसायिक सम्भावना खोज्ने कार्य हुन्छ। अझ त्यसअघि सरकारले लिने नीतिमा भर पर्छ। सरकारले कस्ताखाले नीति अख्तियार गरेको छ, त्यसैका आधारमा एसेम्बल उद्योगमा लाग्ने/नलाग्ने निक्र्योल हुन्छ।
अहिले नेपालमा अटोमोटिभ, टिभीलगायत केही क्षेत्रमा एसेम्बल सुरु भएको छ। नेपालमा एसेम्बल सुरु हुनुमा सरकारले लिएको नीति मुख्य हो। सरकारले एसेम्बलमैत्री नीति लिएकै कारण निजी क्षेत्रले अर्बौ रुपैयाँ लगानी गरेका हुन्। अटोमोटिभ उद्योगको उदाहरण लिँदा, यसका लागि अलग्गै एउटा कम्पनीले डिजाइनिङको काम गर्छ। डिजाइन पनि एउटै मात्र कम्पनी गर्दैनन्। केही निश्चित भाग मात्रै डिजाइन गर्ने कम्पनी हुन्छन्। बाँकी रहेका अन्य भागको डिजाइन गर्ने र बनाउने काम गर्ने कम्पनी अलग हुन्छन्।
ब्रेक बनाउने बेग्लै, मोटर बनाउने अलग्गै, इन्जिनलाई आकार दिने छुट्टै, सिट बनाउने अर्कै, केबल तथा प्लास्टिक बनाउने कम्पनी पनि अलग–अलग हुन्छन्। यसरी एउटा ठूलो कम्पनीले डिजाइन गर्दै अन्य सबै स–साना सहायक कम्पनीबाट बनाइएका सामग्री प्रयोग गरेर एउटा कुनै गाडी तयार हुन्छ। नेपाल अहिले एसेम्बल चरणमा प्रवेश गरेको छ। यो चरण केही वर्ष रहन सक्छ। एसेम्बल उद्योग स्थापनाबित्तिकै ‘ब्याकवार्ड इन्ट्रिगेसन’ वा सहायक उद्योग खुलिहाल्छन् भन्ने हुँदैन। नेपालमा डिजाइन क्षमता छैन। बजार आकार सानो छ। बजारमा वस्तुको माग धेरै नहुनेबित्तिकै त्यस्ता किसिमका उद्योग लाग्न केही समय लाग्छ।
त्यही भएर पहिलो चरणमा एसेम्बल उद्योगबाट प्रवेश गर्ने हो र विस्तारै मुलुक औद्योगिक विकासतर्फ अघि बढ्ने हो। अहिलेका लागि हामीले गर्ने भनेको एसेम्बल नै हो। एसेम्बल उद्योग फस्टाए भने माथि भनिएझैं सामग्री बनाउने उद्योग लाग्न सक्छन्। अहिले नेपालमा जुन गतिमा एसेम्बल उद्योग खुलेका छन्, त्यसले ब्याकवार्ड उद्योग खोल्न दबाब दिइरहेका छन्।
नेपालमा विस्तारै बजार भोल्युम बढिरहेको अवस्था छ। एकपछि अर्को एसेम्बल उद्योग खुल्दै गएका छन्। एउटै प्रकृत्तिका कतिपय उद्योगलाई चाहिने वस्तु एउटै उद्योगले उत्पादन गरेर आपूर्ति गर्न सक्छ। जस्तो, नेपालमा दुईपांग्रे एसेम्बल हुन थालेका छन्।
अहिले नेपालमा अटोमोटिभ, टिभीलगायत केही क्षेत्रमा एसेम्बल सुरु भएको छ। नेपालमा एसेम्बल सुरु हुनुमा सरकारले लिएको नीति मुख्य हो। सरकारले एसेम्बलमैत्री नीति लिएकै कारण निजी क्षेत्रले अर्बौै रुपैयाँ लगानी गरेका हुन्।
अहिले केही विदेशी लगानीकर्ताले नेपालको एसेम्बल उद्योगलाई नजिकबाट नियालिरहेको अवस्था छ। अहिले नेपालमा बजाज, टिभीएस, यामाहा, होन्डा, रोयल इन्फिल्ड, हिरोलगायत मोटरसाइकल बन्न थालेका छन्। यी उद्योगमा प्रयोग हुने धेरै सामग्री एकैखाले हुन्छन्। त्यस्ता सामग्री उत्पादन गर्ने उद्योगका प्लान्ट स्थापना हुन सक्ने सम्भावना छ।
एसेम्बल उद्योगको सबैभन्दा सुन्दर पक्ष भनेकै यही हो। एसेम्बल उद्योग नै नआए सीकेडी उद्योग कहिले पनि आउँदैनन्। भारतमा मारुती एसेम्बल सुरु गर्दा आवश्यक पार्टपुर्जा सबै बाहिरकै कम्पनीबाट ल्याइएको थियो। त्यसपछि विस्तारै त्यसमा लाग्ने विभिन्न पार्टपुर्जा भारतमा उत्पादन हुन थाले। अहिले ९० प्रतिशत मारुती भारतमै बन्छ र मारुतीलाई आवश्यक सामग्री पनि त्यहीँ उत्पादन हुन्छ।
भारतले मारुतीको एसेम्बल उद्योगलाई बाटो खुला नगरिदिएको भए अहिले त्यो तहको विकास असम्भव हुन्थ्यो। मारुती एसेम्बल उद्योग नलागेको भए पार्टपुर्जा उत्पादन गर्ने कम्पनीको प्रवेश हुँदैन थियो। नेपालमा पनि सोही किसिमको अवस्था सिर्जना गर्न एसेम्बल उद्योगलाई आवश्यक सहयोग र प्रोत्साहन आवश्यक छ। नेपालमा पनि एसेम्बल उद्योग आएका छन्। एसेम्बल उद्योग आउनासाथ यसले एकै वर्षमा कति भ्यालु एड (मूल्य अभिवृद्धि) गर्यो भन्नेमा अल्झिएर बस्नुहुँदैन। यदि मूल्य अभिवृद्धि भएको छैन भने यसको दीर्घकालीन भविष्य पनि हुँदैन। तर, मूल्य अभिवृद्धि भए/नभएको हेर्न उचित समय चाहिन्छ।
नेपालमा एसेम्बल उद्योग आएबाट हजारौं नेपालीले रोजगारी पाएका छन्। त्यसमा पनि दक्ष जनशक्ति आबद्ध छन्। ‘कम्पोनेन्ट म्यानुफ्याक्चरिङ’ अहिले पनि धेरै कम सुरु भएको छ। यसको कारण के भने नेपालमा एसेम्बल उद्योग लागेकै बेला कोरोना महामारी आयो। यसपछि आर्थिक मन्दीको सिकार भइयो।
मैले नै आधा दजर्न बढी कम्पनीसँग ब्याकवार्ड इन्ट्रिगेसनका लागि सम्झौता गरेको छु। अहिलेको स्थिति हेरेर नेपालमा उद्योग खोलेर सञ्चालन गरौं भन्ने आँट उनीहरूमा छैन। अहिलेको स्थितिमा जे–जति सुरु भएको छ, त्यसलाई बन्द गरिदिनुस् भनेको खण्डमा फेरि सधैंका लागि बन्द हुन्छ। त्यसैले एसेम्बलका लागि दीर्घकालीन सोच जरुरी छ।
अहिले एसेम्बलको पूरा ‘इकोसिस्टम’ बनिसकेको छ। अब विस्तारै कम्पोनेन्ट म्यानुफ्याक्चरिङ कार्य सुरु हुन्छ। पहिला सबै उद्योगमा प्रयोग हुने किसिमका साझा वस्तु (कमन प्रोडक्ट)को उद्योग खुल्न सक्छन्।
भारतमै हेर्ने हो भने एउटा प्लास्टिक बनाउने कम्पनीले लाइसेन्स लिएको छ। होन्डा, टिभीएस, बजाज सबैका लागि उनीहरूले विभिन्न ‘कम्पोनेन्ट्स’ बनाउँछन्। यस्ता कम्पनी नेपालमा आएर चार वटै कम्पनीलाई दिन्छौं भन्ने सम्भावना छ। उनीहरूसँग हामीले सम्झौता पनि गरेका छौं। तर, अस्वाभाविक रूपमा निराशा छाएका कारण तत्काल आइहाल्ने अवस्था छैन। सरकारले एसेम्बल उद्योगलाई हेर्ने सोच परिवर्तन गर्न आवश्यक छ। दीर्घकालीन सोच राख्न सके मात्रै देशभित्र औद्योगिक वातावरण बन्छ। यदि यो भएन भने हाम्रोमा इकोसिस्टम कहिल्यै पनि विकसित हुँदैन।
जसरी एउटा घर बनेपछि त्यसका लागि आवश्यक पर्ने सामग्रीका उद्योग खुल्दै जान्छन्, त्यसैगरी हरेक क्षेत्रमा यही नियम लागू हुन्छ। गाडी एसेम्बल उद्योग खुलेपछि यसका अन्य पार्टपुर्जाका विभिन्न कम्पनी पनि खुल्दै जान्छन्। अटोमोटिभ एसेम्बल हब बन्न थाल्यो भने स्वाभाविक रूपमा सकारात्मक प्रभाव तलसम्म जान्छ।
यसर्थ, यो प्रक्रियालाई हामीले स्वीकारेर जानुपर्छ र छोटो समयमै कति मूल्य अभिवृद्धि भयो भनेर मूल्यांकन गरिहाल्नु हुँदैन। आजका दिनमा हामीले जसरी नेपालमा छिटो प्रतिफल खोजिरहेका छौं, यसरी विश्वमा कुनै पनि मुलुकमा प्रतिफल आएको छैन। प्रतिफलका लागि केही समय लाग्छ। यो समग्र विषयबाट अलग गएर उपभोक्ताले के पाए भन्ने प्रश्न पनि छ। राजस्व कति गुम्यो भन्ने अर्को प्रश्न पनि होला। अहिलेको स्थितिमा एसेम्बल गरेको जुन ‘एड्भान्टेज’ छ, त्यो ग्राहकले पाइरहेका छन् र पाइरहनेछन्।
भोलि नेपालमा एसेम्बल असफल भयो भने अयात गर्दा १०–१५ प्रतिशतसम्म थप मूल्य बढ्छ। यस्तो मूल्य भारतमा बढेको छ तर नेपालमा बढेको छैन। मूल्य नबढ्नु पनि उपभोक्तालाई राहतै हो। उनीहरूले पाएको फाइदा हो। सरकारले नेपाली एसेम्बल उद्योगलाई सुविधा दिएकै कारण त्यो सुविधा हामीले ग्राहकलाई दिएका छौं। उत्पादकले पाएको सुविधालाई मूल्यमा समाहित गरेर उपभोक्तालाई लाभान्वित बनाइएको छ।
मोटरसाइकल सामग्रीको मूल्य लगातार बढेको छ। चार वर्षअघि २ लाखमा किनेको मोटरसाइकल अहिले डेढ लाख रुपैयाँमा पाइनँ भनेर हुँदैन। अहिले २ लाख २० हजारमा जुन मोटरसाइकल पाइन्छ, सरकारले छुट नदिएको भए त्यसको मूल्य २ लाख ८० हजार रुपैयाँ पर्न सक्थ्यो। यो विषयमा पनि विचार पुर्याउनुपर्छ।
सरकारले कर बढाएर हामीलाई राजस्व छुट दिएको हो। यो नभएको भए पहिला कति राजस्व उठ्थ्यो र अहिले कति उठिरहेको छ? हेर्न जरुरी छ। पहिला अन्तःशुल्क हुँदैन थियो। तर, अहिले अन्तःशुल्क बढाएर मात्रै हामीलाई छुट दिइएको छ। यस्ता विषयलाई कुन दृष्टिकोणबाट हेर्ने? प्रयोगकर्ताले सहुलियत पाएका छन्, राजस्व पनि गुमेको छैन र एउटा ठूलो समूहले रोजगारी पनि पाएको छ। यसो हुँदा राज्यलाई मूल्य अभिवृद्धि पनि पक्कै भएको छ। अहिले एउटा सामान्य किसिमको मोटरसाइलकमा १०–१५ प्रतिशत न्यूनतम मूल्य अभिवृद्धि भएको छ। यसलाई २५–३० प्रतिशतसम्म स्थानीय स्तरमा मूल्य अभिवृद्धि गर्न सक्छौं भन्ने विश्वास छ। त्यसका लागि केही मात्रामा व्यवसाय वातावरण सहज हुन आवश्यक छ र एसेम्बल उद्योगलाई हेर्ने नजर सकारात्मक हुनुपर्छ। सहयोगी र प्रोत्साहित नीति आवश्यक छ। भारत आफैंमा ठूलो बजार हो। ठूलो बजार हुनुका फाइदा धेरै छन्।
नेपालमा एसेम्बल उद्योग आएबाट हजारौं नेपालीले रोजगारी पाएका छन्। त्यसमा पनि दक्ष जनशक्ति आबद्ध छन्। ‘कम्पोनेन्ट म्यानुफ्याक्चरिङ’ अहिले पनि धेरै कम सुरु भएको छ।
बजार ठूलो छ भने मात्रै लगानी र कम्पनी चाँडै आउन सक्छन्। भारतमा मारुती, हुन्डाई ठूलो बजार देखेरै आएका हुन्। त्यहाँ अन्य कम्पोनेन्टका उद्योग पनि छिट्टै खुले। भारतमा जस्तै छिटो नेपालमा कम्पोनेन्ट उद्योग आउँदैनन्। तथापि, ‘कमन कम्पोनेन्ट म्यानुफ्याक्चरिङ’ कम्पनी नेपालमा पहिला आउँछन्। जस्तै, सिटको कुरा गर्ने हो भने भारतमा सिट निर्माण गर्ने सबैभन्दा ठूलो कम्पनी छ। सोही कम्पनीले तीन–चार वटा कम्पनीको सिट बनाएर आपूर्ति गरिरहेको हुन्छ। ती कम्पनी भविष्यमा नेपाल आउन सक्छन्। नेपाल आएपछि त्यसले ठूलो रोजगारी सिर्जना गर्न सक्छ। अन्य सामग्री उत्पादन गर्ने यस्ता कम्पनी नेपाल आउन सक्छन्।
यस्ता कम्पनी पहिलो चरणमा आएपछि ‘प्रोप्राइटरी’ कम्पनीहरू आउन सक्छन्। अर्थात्, निश्चित कम्पनीका लागि मात्रै सामग्री उत्पादन गर्ने कम्पनी दोस्रो चरणमा आउन सक्छन्। त्यसका लागि बजार आकार मुख्य विषय हो। कुनै समय बजाजले ७० देखि ८० हजार मोटरसाइकल पनि एसेम्बल गरेको हो।
त्यसबेला सबै सम्झौता गरेर आउन तयार थिए। तर, अहिले बजार घटिसकेको अर्थात् ६० प्रतिशतले बजार खुम्चिएकाले नेपालको आर्थिक स्थिति के हुने आकलन गर्न कठिन छ। त्यसकारण उनीहरू ‘पर्ख र हेर’को अवस्थामै छन्। एसेम्बल उद्योगको चरण पार भएपछि यसका अन्य सहयोगी उद्योगको विकास हुन्छ। तर, एसेम्बल उद्योगलाई स्थापित हुन दिएनौं भने त्यसपछि हुने विकास अवरुद्ध हुन्छ।
यति हुँदाहुँदै पनि सबै सामग्री नेपालमै बन्छन् भन्ने हुँदैन। जतिसुकै भने पनि हाम्रो बजार धेरै ठूलो छैन। तर, नेपालमा गर्न सक्ने र बन्न सक्ने १५ देखि २० थरीका सामग्री हामीले पहिचान गरेका छौं। सिट, प्लास्टिक, वायर हार्डनेस, मेटल फोल्डिङ नेपालमा बन्न सक्छन्। त्यसका लागि सहायक कम्पनी खुल्न सक्छन्। इन्जिनका क्रिटिकल पार्ट हरेक ब्रान्डका बेग्लाबेग्लै हुन्छन्। यसका लागि एउटा निश्चित बजार आवश्यक पर्छ, जुन नेपालमा सम्भव नहुन सक्छ।
सहज वातावरण भयो भने कुनै पनि मोटरसाइकलको ३०–३५ प्रतिशत भाग ‘कम्पोनेन्ट’ नेपालमा उत्पादन हुन सक्छ। बजार धेरै विकास भए यो क्षेत्र अझ राम्रो बन्न सक्छ। यद्यपि, अटोमोबाइल टेक्निकल उद्योग भएकाले यसमा निश्चित मापदण्ड हुन्छन्। यसको डिजाइन अन्य समान प्रकृत्तिका ब्रान्डबाट लिन मिल्दैन र हामीले यहीँ गर्छु भन्दै गर्दा पनि जोकोहीलाई अनुमति दिँदैन।
भोलिका दिनमा एसेम्बलमा छुट नदिने र तयारी मात्रै ल्याउनू भन्ने हो भने हरेक मोटरसाइकलको मूल्य १०–१५ प्रतिशत एकै दिनमा बढ्छ। तर, अहिले उपभोक्ताले राज्यको राजस्व नगुमाई फाइदा लिएका छन्। नेपालमा एउटा उद्योगको आधार तय भएको छ। सरकार र अन्य निकाय सबैले एसेम्बल उद्योगलाई केही सहज ढंगमा हेरे यो उद्योग फस्टाउन सक्छ। अन्य उद्योग यसैले तानेर नेपालमा ल्याउन सक्छन्। एसेम्बल उद्योग सफल भए यसका सपोर्टिभ सामग्रीका उद्योग आफैं विकास भएर आउँछन्।
नीतिगत स्थिरता अटोमोबाइल उद्योगमा मात्रै नभएर हरेक क्षेत्रका लागि आवश्यक विषय हो। नीतिगत स्थिरता नहुने र धेरै जनाले गरेको लगानी एउटा बजेटले उडाइदिने हो भने उद्योगीले लगानी गर्दैनन्। एउटा उद्योग बनाउन २ अर्ब रुपैयाँ बढी लगानी हुन्छ। त्यसको टिक्ने ग्यारेन्टी नहुने हो भने मनोबल पनि कमजोर हुँदै जान्छ। यसपछि लगानीकर्ताले उद्योगमा लगानी गर्नेभन्दा बरु व्यापार नै गरौं भनेर सोच्न थाल्छन्। त्यसैले हरेक क्षेत्रमा (खासगरी औद्योगिक विस्तारका लागि) दीर्घकालीन नीति आवश्यक हुन्छ। अहिले बढ्दो निराशाले भोलिको आकलन गर्न नसक्ने अवस्थामा रहेका कारण नेपालमा तत्काल ठूलो लगानी आउँछ भन्ने देखिँदैन। तर, आवश्यक प्रचार–प्रसार र औद्योगिक वातावरण बनाउन सरकारले स्थिर नीति अवलम्बन गरे पछि फर्किनुपर्ने अवस्था पनि छैन।
(असारअंकको क्यापिटल बिजनेस म्यागजिनबाट)