विकासका अन्य क्षेत्रजस्तै नेपालको ऊर्जालाई पनि दुई प्रकारले अनुगमन, आकलन र मूल्यांकन गर्न सकिन्छ। पहिलो, यस क्षेत्रको चुनौती, खतरा र कमी–कमजोरी पहिचान गर्नु। यस प्रकारको उपागमले त्रुटिबारे सचेत हुँदै कमजोरीलाई कम गरी अगाडिको मार्ग प्रशस्त गर्न सघाउँछ। दोस्रो भनेको यसका चुनौतीलाई दृष्टिगत गरी समाधानका उपाय खोज्नु। इन्जिनियरिङ शिक्षाले व्यक्तिलाई प्रकृतिको चुनौती समाधान खोज्न सक्षम गराउँछ। बीसौं शताब्दीमा द्रुत विकासतर्फ अग्रसर मुलुकलाई इन्जिनियरले नेतृत्व प्रदान गरेको कुरा यसर्थले आश्चर्यजनक लाग्दैन।
ऊर्जा क्षेत्रलाई कम्तीमा सोह्रौं र सत्रौं पञ्चवर्षीय योजनामा समेट्ने यस दशकलाई नेपाली अर्थतन्त्रको रक्षकको रुपमा लिएको छु। ऊर्जा आफैँमा पूर्वाधार मात्र नभएर आर्थिक गतिविधिलाई तात्कालिक परिणाम र मूल्य अभिवृद्धि दिने माध्यम पनि हो। ऊर्जा कार्यक्रमलाई उचित मार्गनिर्देश गर्ने हो भने यसले अर्थतन्त्रलाई सही र तीव्र दिशातर्फ उन्मुख गराउँछ।
वर्तमानको ऊर्जा क्षेत्रका केही उल्लेखनीय विशेषता निम्न छन्ः
१. कुनै पनि मुलुकको प्रतिव्यक्ति ऊर्जा उपभोग सो राष्ट्रको आर्थिक समुन्नति र शक्तिको सूचक हो।
२. नेपालीले प्रतिवर्ष १८० टेरावाट आवर ऊर्जा उपभोग गर्छन्, जसमा विद्युतीय ऊर्जाको हिस्सा मात्र ६ प्रतिशत छ।
३. जलवायु परिवर्तन र न्यून–कार्बन अर्थतन्त्रमाथिको जोडले सबै राष्ट्रलाई नवीकरणीय ऊर्जा स्रोतको विकल्प खोज्न प्रोत्साहित गरेको छ। विशेषगरी भारत र चीनलाई उनीहरूको फोहोर ऊर्जा स्रोतलाई प्रतिस्थापन गर्न दबाब परिरहेको छ।
४. संसारका सबै विकसित मुलुकले ऊर्जाका परम्परागत स्रोतलाई परिवर्तन गरी जलविद्युत् प्रयोगलाई बढावा दिएका छन्, जसको पछाडि मुख्य तीन वटा कारण छन्ः
क. जलवायु परिवर्तन र न्यून कार्बन उत्सर्जन– जलविद्युत्लाई सबैभन्दा सफा ऊर्जाको रुपमा लिइन्छ। नेपालजस्तो विकासोन्मुख देशले निम्न परिवर्तनलाई ध्यानमा राख्न जरुरी छः
अ. यातायात क्षेत्रले दु्रत रूपमा विद्युतीय स्वरूप लिइरहेको
आ. विद्युतीय भान्सा तथा पकाउने सामग्रीको वृद्धि
इ. औद्योगिक क्षेत्रले प्रयोग गर्ने बोइलर अथवा फर्नेस (भट्टी)ले विद्युतीय स्वरूप लिइरहेको।
ख. पछिल्लो समय सबैखाले प्रविधिजन्य विकासले विद्युतीय परिवर्तन र अनुकूलनलाई आधार बनाइरहेको पाइन्छ यी सबै परिवर्तन र अनुकूलनले न्यून कार्बन उत्सर्जनलाई केन्द्रमा राखेका छन्।
ग. विद्युतीय उत्पादनको स्रोत परम्परागत कोइला र ग्यासमा आधारित नभई नवीकरणीय ऊर्जा हुन पुगेको छ।
नेपालका लागि यसको अर्थ के?
१. भार वृद्धि
नेपालको भार वृद्धि प्रक्षेपणले महत्त्वाकांक्षी ऊर्जा रुपान्तरण र भार वृद्धि दुवैलाई समेट्न जरुरी छ। भारलाई थेग्न नसक्ने सन्जाल र आपूर्ति सबै दृष्टिकोणले आत्मघाती हुन जान्छन्। तसर्थ, भार वृद्धि हुने क्षेत्रलाई सबभन्दा पहिला पहिचान गरिनुपर्छ, जसले अन्ततः पुँजी र आर्थिक सामथ्र्य प्रदान गरी भारको विस्तारलाई सक्षम गराउँछ। भारको वृद्धिलाई बढावा दिने औद्योगिक र व्यापारिक क्षेत्रले रोजगारी, राजस्व र सार्वजनिक सम्पत्तिमा योगदान गर्छन्।
विभिन्न अध्ययनले नेपालको ऊर्जा स्रोतले भारतलाई ठूलो पुँजीगत खर्च घटाउन र विविध समस्यालाई सुल्झाउन मद्दत गर्ने देखाएका छन्। अध्ययनका अनुसार छिमेकी भारतले वार्षिक ४ देखि ५ अर्ब डलरसम्मको खर्च जोगाउन सक्छ। नेपालले यस लाभलाई बजारीकरण एवं प्रवद्र्धन गर्न आवश्यक छ।
२. सफा ऊर्जामा प्रतिस्पर्धा
नेपाल प्राकृतिक रूपले न्यून कार्बन ऊर्जा स्रोतसम्पन्न छ, जसलाई छिमेकी मुलुकमा बजारीकरण र प्रवद्र्धन गरी ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सकिन्छ ।
३. नयाँ प्रविधिको जोखिम
प्रविधि विकासले वास्तवमै डरलाग्दो स्वरूप लिएको छ। परम्परागत ऊर्जाका स्रोत तत्कालै पुरातन र अप्रचलित भइरहँदा कतै यसै दशकभित्र जलविद्युत् ऊर्जाले पनि सोही नियत भोग्नुपर्ने हो कि भन्ने डर कायमै छ। त्यसो त, उच्च पुँजीगत खर्च, निर्माणमा लाग्ने अधिक समय तथा नदीको पानीलाई अन्यत्रै मोड्दा त्यसले पर्यावरणमा पार्ने प्रभावलगायतले गर्दा ऊर्जा स्रोतको विकल्प खोजी हुनु स्वाभाविक हो। तसर्थ, आउँदा दशकमा जलविद्युत् मूल उत्पादन नभई परियोजना विकासको सहायक उत्पादन मात्रै हुने सम्भावना छ। सस्तो सौर्य एवं वायु ऊर्जा र सुपथ ऊर्जा भण्डारणलगायतले पनि जलविद्युत्को विकल्प खोजिनुपर्ने दबाबलाई उजागर गरेको छ ।
४. ऊर्जाको रणनीतिक स्थान
विद्युत् र सौर्य ऊर्जा सफा एवं न्यून कार्बन उत्सर्जन गर्ने माध्यम मात्र नभएर ऊर्जाका त्यस्ता स्रोत हुन्, जुन नेपालको पूर्वीदेखि पश्चिमी भू–भागसम्मै उपलब्ध छन्। यो वास्तवमै नेपालका लागि प्रकृतिको अनुपम उपहार हो। यी ऊर्जा स्रोत पश्चिम बंगाल, बिहार र उत्तर प्रदेशजस्ता विद्युत् वा हावाको ऊर्जा स्रोतविहीन भारतका मुख्य भार केन्द्र नजिक हुनु नेपालका लागि अर्को लाभको विषय हो।
५. ट्रान्समिसन लाइनको व्यवधान
ट्रान्समिसनको सञ्जाल निर्माण नेपाल मात्र नभएर सम्पूर्ण विश्वकै लागि कठिन एवं चुनौतीपूर्ण कार्य हो। ट्रान्समिसनको आवश्यकता परिपूर्ति ठूलो लाभको क्षेत्र हो। विभिन्न अध्ययनले नेपालको ऊर्जा स्रोतले भारतलाई ठूलो पुँजीगत खर्च घटाउन र विविध समस्यालाई सुल्झाउन मद्दत गर्ने देखाएका छन्। अध्ययनका अनुसार छिमेकी भारतले वार्षिक ४ देखि ५ अर्ब डलरसम्मको खर्च जोगाउन सक्छ। नेपालले यस लाभलाई बजारीकरण एवं प्रवद्र्धन गर्न आवश्यक छ।
६. समग्र अर्थतन्त्र र सामाजिक कल्याण विश्लेषणको आवश्यकता
विद्युत् उत्पादनको उच्च माग भएको हालको अवस्थामा आइपुग्दा ग्यास र पेट्रोलको स्रोत नहुनु नेपालका लागि अन्ततः लाभको विषय बन्न पुगेको छ। यातायातका साधनले पेट्रोललाई प्रतिस्थापन गर्नुको अर्थ कार्बन वा प्रदूषण नियन्त्रण मात्र नभएर कार्यदक्षतामा पनि वृद्धि हुनु हो। भारतले आफ्ना यातायात प्रणालीमा विद्युतीय ढाँचा अवलम्बन गर्दा त्यसका लागि आवश्यक ५० प्रतिशत ऊर्जा फोहोर कोइलाबाट उत्पादन गर्नुपर्ने हुन्छ। तर, नेपालको हकमा हामीले आफ्नै हरित स्रोतबाट पेट्रोलियम पदार्थलाई प्रतिस्थापन गर्न सक्छौं। समस्या कहाँनिर छ भने हामीले आर्थिक विश्लेषण गर्दा उही पुराना स्थापित मान्यता र सिद्धान्तप्रति निर्भर रहन्छौं। जबकि हामीलाई समग्र अर्थतन्त्र र सामाजिक कल्याणका लागि नयाँ एवं परिवेश सुहाउँदो विश्लेषण आवश्यक छ।
७. ढिला प्रवेश गर्नेका लागि उत्तिकै लाभ
ऊर्जा विकासको क्षेत्रमा ढिला प्रवेश गरे पनि नेपालले संसारभर पछिल्लो समय देखापरेको चालचलनलाई पछ्याउन सके उत्तिकै लाभ लिन सक्ने अवस्था छ। नेपाली जनसंख्या तीव्र सहर केन्द्रित र प्रविधिमा आधारित भइरहेको हालको अवस्थामा हामीले आफूलाई सोही हिसाबले तयार राख्न जरुरी छ। उदाहरणका लागि, नेपाली कृषि क्षेत्र पहिलाको तुलनामा यान्त्रिक हुँदै गइरहेको छ। तसर्थ, हामीले पेट्रोलियममा आधारित यन्त्रभन्दा विद्युतीय यन्त्र प्रयोगलाई बढावा दिई भविष्यमा यसबाट अथाहा लाभ लिन सक्छौं।
८. पैसा नै मुख्य
नेपालसँग सीमित मात्रको वित्त क्षमता छ। तसर्थ, नेपालले आफ्ना प्रतिस्पर्धात्मक लाभ र सिकाइलाई बजारीकरण गर्न आवश्यक छ। मुलुकले विद्युत् माग र आपूर्तीबीचको असन्तुलन मिलान गरी रणनीतिक योजनालाई कार्यान्वयनमा ल्याएर विदेशी लगानीकर्तालाई आकर्षित गर्न सके नेपालको ऊर्जा क्षेत्रमा उल्लेखनीय वैदेशिक लगानी ल्याउन सकिने सम्भावना छ।
ध्यानमा राख्नुपर्ने प्राथमिकताहरू
ऊर्जा राम्रोसँग परिभाषित र बुझिएको क्षेत्र हो। हामीले एसियाली, दक्षिण अमेरिकी र केन्द्रीय युरोपेली राष्ट्रबाट पनि धेरै कुरा सिकेर गल्ती गर्नुहुँदैन। ऊर्जालाई हाम्रो निजी तथा सरकारी क्षेत्रले तीन दशकभन्दा लामो समयदेखि केन्द्रमा राखेका छन् र विविध ज्ञान हासिल गरेका छन्।
(असार अंकको क्यापिटल बिजनेस म्यागजिनबाट)