काठमाडौं । सोमबार नयाँ सरकारले शपथ लिँदा बढेको सेयर बजार अन्तिम कारोबार समय घट्यो। तर, सोमबारको करेक्सनपछि मंगलबार सेयर बजार पुनः लयमा फर्किएको छ।
असार १७ बाट लय समाएको बजार अघिल्लो कारोबार दिन सोमबार १७.१८ अंकले घटेको थियो। सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.१८ अंकले घटेर २२४०.४१ को बिन्दुमा सीमित भएको थियो। यद्यपि, असार २४ मा पनि नेप्सेमा ४.२६ अंकको भने करेक्सन आएको थियो।
मंगलबार नेप्से ७०.१८ अंक अर्थात् ३.१३ प्रतिशतले बढेर २३१०.५९ को बिन्दुमा पुगेको छ, जुन २०७९ वैशाखयताकै उच्च बिन्दु हो। यसअघि २०७९ वैशाख २८ मा नेप्से २३६९ को बिन्दुमा थियो।
मंगलबार कारोबार रकममा पनि उच्च वृद्धि भएको छ। आज नेप्सेमा कुल ९ अर्ब १३ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यो २०८० माघ ३ यताकै उच्च हो। उक्त समयमा नेप्सेमा कुल ९ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। अघिल्लो कारोबार दिन सोमबार पनि नेप्सेमा कुल ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
मंगलबार कारोबारमा आएकामध्ये २३४ कम्पनीको सेयर मुल्य ८ कम्पनीको सेयर मूल्य मात्रै घटेको छ। आज सिन्धु विकास बैंक, बरुन हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, आँखुखोला जलविद्युत कम्पनी, मन्डाखिनी हाइड्रोपावर गरी पाँच कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यस्तै, ११ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत बढीको वृद्धि भएको छ।
मंगलबार तीन कम्पनीको सेयर मूल्यमा भने नकरात्मक सर्किट लागेको छ। नकरात्मक सर्किट लाग्नेमा नेपाल इन्भेस्टमेन्ट डिभेन्चर, एनआईबीएल ग्रोथ फन्ड र एलबीबीएल डिभेन्चर रहेका छन्। अन्य दुई कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत बढीको गिरावट आएको छ।
मंगलबार म्युचल फन्ड बाहेक सबै समुहको सेयर मूल्य वृद्धि भएको छ। सर्वाधिक सेयर मूल्य वृद्धि भएको जलविद्युत समुहको सेयर मूल्य ५.४५ प्रतिशत, विकास बैंक समुहको ४.९४ प्रतिशत, होटल तथा पर्यटन समुहको ३.६३ प्रतिशत र लगानी समुहको सेयर मूल्य ३.०६ प्रतिशतले वृद्धि भएको छ।
सोमबारबाट सेयर बजारमैत्री मानिएका एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। मन्त्रालयको कार्यभार सम्हाल्नेक्रममा अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना भएकाले बजारलाई सुधार गरेर लैजाने प्रतिक्रिया दिएका थिए। साथै, उनले नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति लचिलो र अर्थतन्त्र चलयमान बनाउने ढंगमा आउने प्रतिक्रिया पनि दिएका थिए। फलस्वरुप बजार एकै दिन ७० अंकले बढेर २३०० माथि पुगेको हो।