काठमाडौं । भन्सार र अन्तःशुल्कमा लाग्ने करको दर वृद्धिसँगै विद्युतीय ब्रान्डले सवारीसाधनको मूल्य समायोजन गर्न थालेका छन्। चालू आर्थिक वर्षको बजेटले विद्युतीय सवारीसाधनमा लाग्दै आएको करको वृद्धि गरेसँगै विभिन्न विद्युतीय ब्रान्ड मूल्य वृद्धितर्फ लागेका हुन्।
केही विद्युतीय ब्रान्डले आफ्नो सवारीसाधनको मूल्य बढाइसकेका छन् भने केही ब्रान्डले बढाउने तयारी गरिरहेका छन्। निवर्तमान अर्थमन्त्री वर्षमान पुनले जेठ १५ मा चालू आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारीसाधनमा लाग्दै आएको भन्सार र अन्तःशुल्कमा २० प्रतिशतसम्म वृद्धि गरेका थिए।
विद्युतीय सवारीमा गरिएको उक्त भन्सार र अन्तःशुल्क वृद्धिपछि एकपछि अर्को ब्रान्डले आफ्नो गाडीको मूल्य बढाउँदै गएका हुन्। हालसम्म चार विद्युतीय ब्रान्डले सवारीसाधनको मूल्य बढाइसकेका छन्। विभिन्न ब्रान्डले भेरियन्टअनुसार आफ्नो सवारीसाधनको मूल्य १० लाख रुपैयाँसम्म बढाएका छन्। तत्काल मूल्य नबढाएका विद्युतीय ब्रान्ड पनि केही समय पर्ख र हेरको अवस्थामा छन्।
हुन्डाई आयोनिक–५ को मूल्य १ लाखले बढ्यो
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो प्रिमियम गाडी आयोनिक–५ को मूल्य बढाएको छ। बजेटमार्फत भन्सार शुल्क बढेपछि हुन्डाईले आयोनिक–५ को मूल्य बढाएको हो। हुन्डाईले नेपालमा आयोनिक ५ र कोना इलेक्ट्रिक गरी दुई मोडलका विद्युतीय गाडी बिक्री गर्दै आएको छ।
यी दुई मोडलमा उपलब्ध इलेक्ट्रिक गाडीमा लक्ष्मी इन्टरकन्टिनेन्टलले अहिलेका लागि आयोनिक–५ मा मात्र मूल्य बढाएको छ। कोना इलेक्ट्रिकको मूल्य भने यथावत् राखेको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले यसअघि १ करोड २ लाख ९६ हजार रुपैयाँमा आयोनिक–५ बिक्री गर्दै आएको थियो। तर, उक्त मूल्यमा १ लाख रुपैयाँ वृद्धि गर्दै कम्पनीले आयोनिक–५ को मूल्य १ करोड ३ लाख ९६ हजार रुपैयाँ पुर्याएको छ।
बिवाईडीद्वारा १० लाखसम्मको मूल्यवृद्धि
मूल्य बढ्ने अर्को विद्युतीय ब्रान्डको सूचीमा बिवाइडी पनि रहेको छ। नेपालका लागि बिवाइडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध विभिन्न मोडलको मूल्य समायोजन गर्दा अधिकतम १० लाखसम्म बढाएको छ।
मूल्य बढाउनुअगाडि बिवाइडी एटो–३ एडभान्सको मूल्य ५५ लाख ९९ हजार, एटो–३ सुपेरियरको मूल्य ६५ लाख ८८ हजार र बिवाइडी डल्फिनको मूल्य ३९ लाख ८० हजार रुपैयाँ थियो। यस्तै, बिवाइडी सिलको तीन भेरिएन्टमा डायनामिक भेरियन्टको १ करोड ५ लाख, प्रिमियम भेरियन्टको १ करोड ३९ लाख र पर्फमेन्स भेरियन्टको मूल्य १ करोड ८५ लाख रुपैयाँ थियो।
साइमेक्स इंकले एटो–३ एडभान्समा ९१ हजार, एट्टो ३ सुपेरियरमा समान १ लाख ९२ हजार, डल्फिनमा १ लाख ३५ हजार रुपैयाँले मूल्य बढाएको छ। बिवाइडी सिलको तीन भेरियन्टमा डायनामिकको ५ लाख, प्रिमियमको ६ लाख ५० हजार र पर्फमेन्सको १० लाख रुपैयाँ बढाएर मूल्य तोकिएको छ।
मूल्य वृद्धिपछि एटो–३ एडभान्सको मूल्य ५६ लाख ९० हजार, एटो ३ सुपेरियरको ६७ लाख ८० हजार, डल्फिनको ४१ लाख १५ हजार र बिवाइडी सिलमा डायनामिकको १ करोड १० लाख, प्रिमियमको १ करोड ४५ लाख ५० हजार र पर्फमेन्स भेरिएन्टको १ करोड ९५ लाख रुपैयाँ तोकिएको छ।
टाटाको टियागो भेरियन्टमा १ लाख रुपैयाँको वृद्धि
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो ईभीको सबै भेरियन्टको मूल्य बढाएको छ। सरकारले बजेटमार्फत कर बढाएको कारण देखाउँदै सिप्रदी ट्रेडिङले टियागो ईभीको सबै भेरियन्टमा १ लाख रुपैयाँसम्मले मूल्य बढाएको हो।
नेपालमा टाटा मोटर्सको टियागो ईभी तीन भेरियन्ट उपलब्ध छ। सिप्रदीले यसअघि टियागो ईभी एक्स टीको २६ लाख ४९ हजार, एक्सजेड प्लसको २७ लाख ९९ हजार र एक्सजेड प्लस टेक लक्स २८ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो।
कम्पनीले मूल्य समायोजन गरेपछि हाल टियागो ईभीको सबै भेरियन्टमा वृद्धि भई एक्स टी भेरियन्टको मूल्य २७ लाख ४९ हजार, एक्सजेड प्लस भेरियन्टको मूल्य २८ लाख ९९ हजार र एक्सजेड प्लस टेक लक्स लकजरी भेरियन्टको मूल्य २९ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
दिपल एस ०७ मा ३ लाख रुपैयाँ वृद्धि
नेपालमा एमएडब्लु वृद्धिले बिक्री वितरण गर्दै आएको दिपल एस–०७ को मुल्य पनि बढाएको छ। मूल्य बढाउनु अगाडि दिपल एस–०७ को मूल्य ७१ लाख ९९ हजार रुपैयाँ थियो। तर, दिपल एस–०७ को मूल्य ३ लाख रुपैयाँले बढेपछि यसको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ पुगेको छ।
सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारीसाधनमा लाग्दै आएको भन्सार शुल्क र अन्तःशुल्क बढाएसँगै यसरी विभिन्न ब्रान्डले आफ्नो सवारीसाधनको मूल्य बढाउँदै लगेका हुन्। तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत शून्यदेखि ५० किलोवाटसम्मका गाडीमा भन्सार शुल्क २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत लगाएको थिए। गत आर्थिक वर्षमा १० प्रतिशत भन्सार शुल्क थियो भने अन्तःशुल्क लगाइएको थिएन।
चालू आर्थिक वर्षको बजेटमा ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका गाडीमा भन्सार शुल्क २० प्रतिशतले बढाइएको थियो भने १५ प्रतिशत अन्तःशुल्क लगाइएको थियो। गत आर्थिक वर्षमा भने १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था थियो।
गत वर्षसम्म १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको सवारीसाधनमा भन्सार शुल्क र अन्तःशुल्क २० प्रतिशत लाग्ने व्यवस्था भएकोमा यस वर्ष ३० प्रतिशत भन्सार शुल्क र २० प्रतिशत अन्तःशुल्क लगाइएको थियो। चालू आर्थिक वर्षबाट २०१ किलोवाटदेखि ३०० सम्म ६० प्रतिशत भन्सार शुल्क, ३५ प्रतिशत अन्तःशुल्क र ३०१ माथि ८० प्रतिशत भन्सार ५० प्रतिशत अन्तःशुल्क पुगेको छ।