काठमडौं । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनबाट केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ। सरकार गठन भएसँगै एकै पटक प्रधानमन्त्रीसहितको २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिएको छ। तर, सबै मन्त्रीले पदभार ग्रहण गर्न भने पाएनन्।
यस्ता छन् ओली क्याबिनेटका २२ मन्त्री
उपप्रधान एवं अर्थमन्त्री पौडेल
उपप्रधानसहित अर्थ मन्त्री बनेका एमाले उपाध्यक्ष विष्णु पौडेलले पहिलो निर्णयका रूपमा वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका छन्। राष्ट्रपति कार्यालयका शपथ ग्रहण गरेर सिंहदरबार पुगेका अर्थ मन्त्री पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गरेका हुन्।
अर्थमन्त्रीको वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृतिसँगै ग्रिन क्लाइमेट फन्ड, ब्लेन्डेड फाइनान्सलगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोग कार्यविधिले यी स्रोत लिन सजिलो हुनेछ। उनी पाँचौं पटक अर्थ मन्त्री बनेका हुन्।
उपप्रधान एवं सहरीमन्त्री सिंह
नवनियुक्त उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवगठित सरकारले राजनीतिक स्थिरता, व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। सोमबार मन्त्रालयमा पदबहाली गर्दै उपप्रधानमन्त्री सिंहले अस्थिरताबाट गुज्रिरहेको राष्ट्रिय राजनीतिलाई स्थिरता र स्थायित्व प्रदान गर्न संसद्मा रहेका ठूला दुई दलबीचको सहमतिमा सरकार गठन भएको प्रतिक्रिया दिए।
भौतिकमन्त्री दाहाल
पहिलो पटक मन्त्री बन्दा नै महत्त्वपूर्ण मन्त्रालय सम्हाल्न पुगेका एमाले नेता हुन् देवेन्द्र दाहाल। एमाले नेता एवं राष्ट्रिय सभा सदस्य रहेका दाहाल विकासे मन्त्रालयमा सबैभन्दा ठूलो भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन्। राष्ट्रिय यातायात नीति, २०८१ स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गर्ने निर्णयमा पहिलो हस्ताक्षर गर्दै सोमबार पदभार ग्रहण गरेका हुन्।
मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालका अनुसार सडक सम्बन्धी नीति निर्माणमा प्राथमिकता दिने, अवरुद्ध विकास निर्माणलाई चुस्त बनाउने, निर्माण व्यवसायीको भुक्तानीको समस्या पत्ता लगाइ समाधान गर्ने मन्त्री दाहालले बताएका छन्। त्यस्तै सार्वजनिक खरिद कानुनमा रहेका बाधालाई अध्ययन गरी फुकाउने, मन्त्रालयबाट सम्पादन हुने कार्य ‘क्यालेण्डर’ नै बनाएर अगाडि बढाउने तथा आ–आफ्नो ठाउँमा अड्किएका विषय भए कानुनअनुसार हुने गरी फुकाउन कर्मचारीलाई मन्त्रीले निर्देशन दिएका छन्।
कृषिमन्त्री अधिकारी
नवनियुक्त कृषिमन्त्री रामनाथ अधिकारीलाई कर्मचारीले मन्त्रालय प्रवेश गर्न दिएनन्। संघमा समायोजन भएका कर्मचारीको नियमित पदपूर्तिसहितका विभिन्न माग राख्दै मन्त्रालयका कर्मचारी धर्नामा छन्। कर्मचारीले मन्त्रालयको मुख्य प्रवेशद्वारमा धर्ना बसेपछि मन्त्री अधिकारीले कार्यकक्ष पुगेर पदभार ग्रहण गर्न पाएनन्।
कृषि सेवाअन्तर्गत फुल दरबन्दीमा रहेका ३२८ जनाको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुनुपर्ने, संघमा समायोजन भएका कृषि प्राविधिक कर्मचारीको न्यायोचित वृत्ति विकास सुनिश्चित, कृषितर्फ सर्वोच्च अदालतबाट रिक्त भएका पदपूर्ति हुनुपर्ने कर्मचारीको माग छ। संविधान र कार्य विस्तृतीकरण प्रतिवेदनमा उल्लेख भएअनुसार संघीय निकायको कार्य विवरणको आधारमा उपयुक्त संगठनात्मक संरचना निर्माण गर्नुपर्ने तथा अदालतको परमादेश कार्यान्वयन हुनुपर्ने उनीहरूले माग गरेका छन्।
कर्मचारीको माग सुनेपछि २/४ दिनमा समस्या समाधान गर्ने मन्त्री अधिकारीले आश्वासन दिएका छन्। तर, पदभार ग्रहणका लागि कार्यकक्ष प्रवेश गर्न सकेनन्। अधिकारी कांग्रेसबाट मन्त्री बनेका हुन्।
खानेपानीमन्त्री यादव
नवनियुक्त खानेपानीमन्त्री प्रदीप यादवले वर्तमान सरकार लामो समय चल्ने बताएका छन्। सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सरकार डबल इन्जिनको भएकाले लामो समय चल्ने दाबी गरेका हुन्। उनी जनता समाजवादी (जसपा) बाट मन्त्री बनेका हुन्। यस अघि यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए।
नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदभार ग्रहण गर्दै सोमबार चितवनको सिमलताल बस घटनाबारे अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन्।
गृहमन्त्री लेखक
गृह मन्त्रालयको पहिलो दिनमै मन्त्री रमेश लेखकले सिमलतालमा पहिरोले दुई बस त्रिशूलीमा बगाएकोमा घटना अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेका छन्। कार्यदल गठनसँगै गृहमन्त्री लेखकले प्राकृतिक प्रकोपलाई सम्बोधन गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए।
समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि रहने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।
कार्यदललाई सिमलतालमा कसरी पहिरो गएको, के कारणले घटना भयो, यस्ता घटना दोहोरिन नदिन के गर्ने, बेपत्ता भएकालाई राहत के–कसरी उपलब्ध गराउने भन्ने विषय समेटेर प्रतिवेदन तयार पार्ने गरी १० दिनको समय दिइएको छ। लेखक कांग्रेसबाट मन्त्री बनेका हुन्।
स्वास्थ्यमन्त्री पौडेल
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैको सल्लाह सुझाव लिएर स्वास्थ्य क्षेत्रको सुधारमा लाग्ने बताएका छन्। स्वास्थ्यमा राज्यले गरेको लगानीअनुसारको प्रतिफल आउने गरी काम गर्ने उनको प्रतिबद्धता छ।
परराष्ट्रमन्त्री राणा
परराष्ट्रमन्त्री आरजु राणाले भारतसँगको सीमा समस्या भूगोल, इतिहास र जीपीएस नक्साका आधारमा समाधान गर्ने बताएकी छन्। सूचना प्रविधिको धेरै विकास भएकाले दुई देशबीच पिलर राखेर झगडा गर्नुपर्ने अवस्था नरहेको उनले बताइन्। साथै कालापानी, लिम्पियाधुरा र लिपुलेकको विषयमा पनि दुई देशबीच छलफल गरेर निष्कर्षमा पुग्न सकिने उनको भनाइ छ। अन्य देशसँगको परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ गर्दै लाने उनले बताइन्।
रक्षामन्त्री राई
रक्षामन्त्री मानवीर राईले राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धिलाई प्राथमिकतामा राख्ने बताएका छन्। त्यस्तै काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्याक) समयमै सम्पन्न गर्ने पनि बताएका छन्। त्यस्तै विपद्को प्रभाव वा क्षति कम गर्न जोखिम क्षेत्रको पूर्वानुमान तथा पहिचान गरी खोज, उद्धार र पुनःस्थपनाका लागि तयारी अवस्थामा रहने सम्बन्धी प्रस्ताव स्वीकृत गरेको रक्षा मन्त्रालयले जनाएको छ। मन्त्री राई एमालेका सांसद हुन्।
खेलकुदमन्त्री चौधरी
नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए। साथै पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका खेलाडीको सहभागिता व्यवस्थित गर्न पनि निर्देशन दिएका छन्। त्यस्तै युवालाई स्वदेशमै बसेर काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग समन्वय गरेर नीतिगत सुधार गर्ने बताएका छन्। चौधरी कांग्रेसबाट मन्त्री बनेका हुन्।
श्रममन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन्। उनी यसअघि पनि ४ महिना श्रम मन्त्री बनेका थिए। भण्डारी लोकतान्त्रिक समाजवादी पार्टीका नेता हुन्।
शिक्षामन्त्री भट्टराई
पहिलो पटक मन्त्री बनेकी एमालेबाट प्रत्यक्ष निर्वाचित सासंद् विद्या भट्टराईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएकी छन्। पदबहाली गर्दै उनले विद्यार्थीलाई दिइने दिवा खाजालाई स्थानीय उत्पादनसँग जोड्ने अध्ययन समिति गठन गरिन्। बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारूप तयार गर्न समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन्।
सहकारीमन्त्री अधिकारी
नवनियुक्त भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले झापाको गौरादह नगरपालिका वडा नं ४ र ५ मा जग्गा दर्तामा देखिएको समस्या समाधानका लागि गठन आदेशको निर्णयमा हस्ताक्षर गरेका छन्। मन्त्री अधिकारीले भूमि क्षेत्रमा विगतदेखि रहेका समस्याको दीर्घकालीन समाधानका लागि ठोस योजनासहित अघि बढ्ने बताएका छन्। उनी एमालेबाट मन्त्री बनेका हुन्।
पर्यटनमन्त्री पाण्डे
कांग्रेसका सांसद एवं नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुल पर्यटन नीति बनाउने बताएका छन्। पदबहाली गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको बताउँदै प्रभावकारी नीति बताउने बताएका हुन्। अध्ययन समितिले ३ महिनाभित्र पर्यटन नीतिमा गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिने गरी कार्यगत सर्त तोकिएको छ।
सञ्चारमन्त्री गुरुङ
केपी शर्मा ओली नेतृत्वको सरकारमा पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन्। नेकपा एमालेका उपमहासचिवसमेत रहेका गुरुङले सोमबार प्रधानमन्त्री ओलीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइको दीर्घकालीन नीतिका लागि सहज वातावरण सिर्जना गरी त्यस क्षेत्रमा सुशासन र विकासका लागि तत्कालीन एवं दीर्घकालीन कार्ययोजना तयार गरी १५ दिन भित्र समिति गठन गरेका छन्। मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालको संयोजकत्व रहेको उक्त समितिमा ९ सदस्य रहने छन्। मन्त्री खड्का कांग्रेसका सांसद हुन्।
उद्योगमन्त्री भण्डारी
दामोदर भण्डारी तेस्रो पटक उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन्। ओली नेतृत्वको सरकारमा उनी फेरी उद्योगमन्त्री बनेका हुन्। आफूलाई उद्योग मन्त्रालयमा दोहोर्याउनुको कारण रहेको भन्दै मन्त्री भण्डारीले काम नगरी मन्त्रालयमा बस्ने छुट कसैलाई नभएको बताएका छन्। साथै आफूले मन्त्रालयको महत्त्व र जिम्मेवारी बुझेको तथा मन्त्रालयको ‘टिम’ले पनि आफूलाई बुझेको उनले बताए।
वनमन्त्री शाही
हिमाली जिल्ला मुगुका सांसद ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन्। उनी कांग्रेसका नेता हुन्।
कानुनमन्त्री चौरासिया
नेपाली कांग्रेसबाट अजय चौरासिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन्।
बालबालिकामन्त्री शाह
जनता समाजवादी पार्टीका सांसद नवलकिश्वर शाह महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन्।
सामान्य प्रशासनमन्त्री गुप्ता
एमालेका नेता राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन्।