काठमाडौं। निजी क्षेत्र र पुँजीबजारमैत्री मानिँदै आएका विष्णु पौडेलले उप्रधान तथा अर्थमन्त्रीका रुपमा जिम्मेवारी लिएकै दिन नेप्सेमा ठूलो अंकको गिरावट आएको छ। यसले अर्थमन्त्रीलाई सुधार्न उनीमाथि थप दबाब परेको छ।.
असार १७ मा कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चापछि लगातार बढेको बजार असार २४ मा ४.६२ अंकले घट्नुबाहेक अन्य सबै दिन बढ्दै आएको थियो।
सबै कारोबार दिन बढेको सेयर बजारमा सोमबार भने गिरावट आएको छ। सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.१८ अंकले घटेर २२४०.४१ को बिन्दुमा सीमित भएको छ। असार १६ मा २०३७.०९ बिन्दुमा रहेको नेप्से असार ३० सम्म आइपुग्दा २२०.५ अंकले उकालो लागेर २२५७।५९ को बिन्दुमा बन्द भएको थियो।
आइतबार नेप्सेले २५ महिनायताकै उच्च अर्थात् २२९०.९५ बिन्दु छोएको थियो।
सोमबार बिहान ११ बजे एमाले अध्यक्ष केपी शर्मा ओली र मन्त्रीहरुको राष्ट्रपति भवन शितलनिवासमा शपथ तयारी चल्दै गर्दा प्रि–ओपन सेसनमै नेप्से २०.२५ अंकले बढेर २२७७।८५ को बिन्दुमा पुगेकाे थियाे।
अध्यक्ष ओली चौथोपटक प्रधानमन्त्रीको रुपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिँदै थिए भने मन्त्रिपरिषद्को तेस्रो वरीयतामा रहेर निजी क्षेत्र तथा सेयरबजारमैत्री मानिने पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्रीको रुपमा शपथ खाँदै थिए।
शितलनिवासमा शपथ चल्दै गर्दा अर्थात् सोमबारको कारोबारको सुरुवाती चरणबा बजार प्रि–ओपन सेसनको भन्दा थप सकारात्मक बन्यो। ११ बजेर २ मिनेटमा नेप्से २२८८.१६ को बिन्दुसम्म पुग्यो।
अर्थमन्त्री पौडेल शपथ सकेर पदभार ग्रहण गर्न अर्थ मन्त्रालय लागे। तर, पौडेलले पदभार ग्रहण गर्दा नगर्दै नेप्से २२८८ बाट घटेर २२४६ बिन्दुसम्म झ्यो। यसपछि बजार पुनः ११ बजेर २२ मिनेटमा २२७३ बिन्दुमा पुगे पनि त्यसपछि भने ठूलो उतारचढाव भएन।
यद्यपि, सोमबार बजार २२३१.६९ को न्यून बिन्दुसम्म झर्यो। कारोबार बन्द हुने समय केही सम्हालिने प्रयास गर्दै नेप्से २२४०.४१ को बिन्दुमा सीमित भयो।
सोमबार नेप्सेमा आएको गिरावटले पुँजीबजारमैत्री ठानिन पाैडेललाई दबाब सिर्जना गरेको छ। खासगरी पौडेल अर्थमन्त्रीमा आउँदा सेयर बजारले स्वागत गर्दै आएको थियो। पौडेलले २०७२ असोजदेखि २०७३ साउनसम्म ओली नेतृत्वको सरकारमा अर्थमन्त्री भएका थिए। उक्त समयमा २०७३ साउन १२ मा नै नेप्सेले १८८१ अंकको उच्च रेकर्ड कायम गरेको थियो।
२०७७ असोजबाट फेरि एमाले सरकारमा आयो र पौडेल दोस्रो पटक अर्थमन्त्री बने। २०७८ असारसम्म अर्थमन्त्रीमा पौडेल रहेको समय नेप्से थप सकारात्मक बनेको थियो। २०७८ भदौ २ मा नेप्से हालसम्मकै सबैभन्दा उच्च बिन्दु ३१९९ अंकमा पुगेको समय कांग्रेस र माओवादी गठबन्धन थियो भने अर्थमन्त्री जनार्दन शर्मा थिए।
२०७८ भदौ २ पछि २०७९ पुस ७ मा नेप्से १८६५ अंकसम्म झरेको थियो। त्यतिबेलै फेरि एमाले सरकारमा जाने सहमति बन्यो र पुस ११ मा अर्थमन्त्रीका रूपमा पौडेलले नै तेस्रो पटक कार्यभार सम्हाले।
त्यतिखेर पनि पौडेलको शपथपछि बजार एकाएक माथि उक्लियो र पुस २६ मै २२१३ अंक पुग्यो। पछि अर्थमन्त्रीबाट पौडेल बाहिरिने चर्चापछि नै बजार ओरालो लाग्यो। अर्थमन्त्री पौडेलको यो किसिमको रेकर्ड यसपटक फरक बनेको छ।
सोमबार नेप्से दोहोरो अंकले मात्रै घटेन। कारोबारमा आएकामध्ये १८४ कम्पनीको सेयर मूल्य घट्दा ५६ को मात्रै बढ्यो। यस्तै, दुई कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
यद्यपि, सोमबार कारोबार उच्च भएको छ। यस दिन नेप्सेमा कुल ८ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ, जुन २०८० पुस १६ यताकै उच्च हो। उक्त दिन नेप्सेमा कुल ९ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
अघिल्लो कारोबार दिन आइतबार नेप्सेमा ७ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। सोमबार सिभिल बैंक डिभेन्चर–२०८८ र मान्डु हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो।
सोमबार १३ मध्ये ४ समूहको सेयर मूल्य मात्रै सकारात्मक देखियो। लगानी समूहको सेयर मूल्य १.७० प्रतिशत, म्युचल फन्डको १.६७, जलविद्युत्को ०.७३ र उत्पादन समूहको सेयर मूल्य ०.१२ प्रतिशतले बढ्यो।
यस्तै, विकास बैंक समूहको सेयर मूल्य १.८९ र होटल तथा पर्यटन समूहको सेयर मूल्य १.७६ प्रतिशतले घट्यो। बैंक समूहको सेयर मूल्यमा पनि १.४८ प्रतिशतको गिरावट आएको छ।