काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा पृथ्वीसुब्बा गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन्। नेकपा एमालेका उपमहासचिवसमेत रहेका गुरुङले सोमबार प्रधानमन्त्री ओलीबाट पद तथा गोपनियताको सपथ लिएका हुन्।
२०७९ को निर्वाचनमा लमजुङबाट प्रनिधिसभामा निर्वाचित भएका गुरूङ गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री हुन्। उनी प्रदेश संरचनालाई बलियो बनाउन मुख्यमन्त्री हुँदा आफ्नै नेतृत्व केपी ओलीप्रति खरो प्रस्तुत भएर चर्चामा आएका थिए। गुरूङकै नेतृत्वमा पहिलो कार्यकालमा गण्डकी प्रदेश र राजधानीको छिनोफानो लागेको थियो भने प्रदेशकै पहिलो हुँदै गण्डकी र राजधानी पोखरा सदनमा बहुमतले पारित सोही समयमा पारित भएको थियो।
साढे ३ वर्ष मुख्यमन्त्रीको जिम्मेवारीमा रहदा गुरूङले उज्ज्यालो प्रदेशको परिकल्पना गर्नेदेखि प्रदेश मुख्यमन्त्रीको भेला गरेर प्रदेशका अधिकारकालाई एकीकृत गर्न माग गरे। २०१४ साल फागुन १ गते गंगाप्रसाद र चिनी गुरुङका छोराका रुपमा गिलुङ गाविस-८, टक्सार (हाल क्होला सोंथार गाउँपालिका–९, टक्सार, लमजुङ) मा जन्मिएका गुरुङले विज्ञानमा स्नातक गरेका छन्। पञ्चायतकालमै राजनीतिमा होमिएका गुरूङ शिक्षक आन्दोलनबाट राजनीतिमा उदाएका हुन्। गुरूङ पटकपटक पञ्चायतकालमै प्रहरी हिरासतमा परेका थिए।
२०२७ सालमा ईशानेश्वर प्रमोद हाईस्कुल, भोर्लेटार-अनेरास्ववियूको तर्फबाट स्ववियु सचिव हुँदै राजनीतिमा लागेका गुरूङ २०४० मंसिरमा उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला अध्यक्षमा भएका थिए। उनले २०३७ मा तत्कालीन नेकपा मालेको सदस्यता लिएका थिए। यसपछि, २०६४ सालमा लमजुङ क्षेत्र नम्बर २ बाट उनी प्रतिनिधि सभामा विजयी भएका थिए।
गुरुङ तत्कालीन २०६२/६३ जनआन्दोलनपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएका थिए। एमालेमा सचिव हुँदै उपमहासचिव भएका गुरूङ एमाले १० औं महाधिवेशन महासचिवका दावेदार थिए। तर, उनी सर्वसम्मत उपमहासचिवमा चुनिए।
गुरुङ २०७० को संविधानसभाको निर्वाचनमा कांग्रेस उम्मेदवारसँग पराजित भए। यसपछि, २०७४ को निर्वाचनबाट गुरुङ लमजुङ-१ (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर २०७४ देखि २०७७ सम्म प्रदेशका मुख्यमन्त्री बनेका थिए।