काठमाडौं। एमाले कांग्रेसको संयुक्त सरकारमा विष्णु पौडेलले उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी पाएका छन्। एमाले उपाध्यक्षसमेत रहेका पौडेलले सोमबारबाट अर्थमन्त्रीको रुपमा पाँचौं र मन्त्रीको रुपमा आठौं पटक जिम्मेवारी सम्हालेका हुन्।
पौडेल निजी क्षेत्र र पुँजी बजारले रुचाएका व्यक्तिामा पर्छन्। पौडेल अर्थमन्त्री बन्दा निजी क्षेत्र उत्साहित हुने गरेकाे छ भने सेयर बजारमा सकारात्मक हुने गरेकाे ठानिन्छ।
२०७२ मा ओली प्रधानमन्त्री बन्दा पौडेल पहिलोपटक अर्थमन्त्री बनेका थिए। ओलीको दोस्रो कार्यकालकाे सुरुमा युवराज खतिवडा अर्थमन्त्री भए। तर, पछि खतिवडा बाहिरिएपछि २०७७ मा पौडेलले नै अर्थ मन्त्रालयको जम्मेवारी सम्हाले।
यो उनको दोस्रो कार्यकाल थियो। २०७८ वैशाखमा प्रधानमन्त्री ओलीले राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त भएपछि पौडेल तेस्रो पटक अर्थमन्त्री बनेका थिए। चौथोपकट ०७९ पुसमा उप–प्रधान सहित अर्थमन्त्री बनेको पौडेल यस पटक पनि उपप्रधान सहित अर्थमन्त्री बनेका हुन्।
संसदीय राजनीतिमा २०५१ सालबाट प्रवेश गरेका पौडेल २०५१ मा पाल्पा ३ बाट निर्वाचित भएका थिए। यसपछि उनी २०५४ मा युवा तथा खेलकुदमन्त्री बने। २०५६ मा रुपन्देही झरेका पौडेल क्षेत्र नम्बर ३ मा पराजित भए।
यसपछि, २०६४ मा सोही क्षेत्रबाट निर्वाचित भए। यसबीचमा उनी ०६५ मा प्रचण्ड सरकारमा जलस्रोतमन्त्री बनेका थिए भने झलनाथ खनालको पालामा रक्षामन्त्री बनेका थिए। ओली प्रधानमन्त्री भएको बेला अर्थमन्त्रीका रुपमा उनले आफूलाई सफल बनाएका थिए।
सपछि पुनः कोरोनाको बेला अर्थमन्त्री बन्ने अवसर पाएका थिए। २०७० र २०७४ मा पनि रुपन्देहीबाट नै निर्वाचित भएका पौडेल २०७९ को निर्वाचनमा पनि रुपन्देही–२ बाट विजयी भए। पौडेलले २७ हजार एक सय ४८ मत प्राप्त गरेका थिए।
२०७२ मा त्यतिबेलाको उच्च बिन्दु कायम हुँदा पनि अर्थमन्त्रीमा पौडेल नै थिए। २०७२ पुसमा त्यसअघिको उच्च अंक ११७५ बिन्दुलाई उछिनेर सूचक अघि बढ्दा अर्थमन्त्री पौडेल थिए।
२०७२ असोजदेखि २०७३ साउनसम्म केपी शर्मा ओली नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले सम्हालेका थिए। सो समयमा २०७३ साउन १२ मा नै नेप्सेले १८८१ अंकको उच्च रेकर्ड कायम गरेको थियो।
२०७७ असोजबाट फेरि एमाले सरकारमा आयो र पौडेल नै दोस्रो पटक अर्थमन्त्री बने। २०७८ असारसम्म उनी अर्थमन्त्री थिए। उनकै पालामा नेप्सेले पछिल्लो बुल यात्रा गरेको थियो। २०७८ भदौ २ मा नेप्से हालसम्मकै सबैभन्दा उच्च बिन्दु ३१९८ अंकमा पुगेको थियो।
२०७८ भदौ २ पछि समाएको बजार २०७९ पुस ७ मा १८६५ अंकसम्म झरेको थियो। त्यतिबेलै फेरि एमाले सरकारमा जाने सहमति बन्यो। पुस ११ मा अर्थमन्त्रीका रूपमा पौडेलले नै तेस्रो पटक कार्यभार सम्हाले। उनको सपथपछि बजार एकाएक माथि उक्लियो र पुस २६ मै २२१३ अंक पुग्यो।
त्यसबेला एमाले–माओवादी गठबन्धन दुई महिना पनि टिक्न सकेन। अर्थमन्त्रीबाट पौडेल बाहिरिने चर्चापछि नै बजार ओरालो लाग्यो।
२०७९ फागुन १२ मा एमालेका मन्त्रीहरु हटे, जतिबेला बजार २०७८ अंकमा झरिसकेको थियो। २०८० जेठ १ मा बजार १८१८ अंकसम्म झ¥यो। यद्यपि, यो पटक भने अर्थमन्त्रीमा पौडेल नियुक्त हुँदा बजार घटेको छ। १२ बजेर ४२ मिनेटमा नेप्से २४।८९ अंक अर्थात् २२३२।७० को बिन्दुमा सीमित भएको छ।
यसअवधिसम्म २०२ कम्पनीको सेयर मूल्य घट्दा ३५ कम्पनीको घटेको छ। यस्तै, ४ कम्पनीको सेयर मूल्य स्थिर छ। हालसम्म ३ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भइसकेको छ।
दलतर्फ २०६५ सालको आठौं महाधिवेशनबाट केन्द्रीय कमिटीको सचिव र २०७१ को नवौं महाधिवेशनबाट पौडेल उपमहासचिव निर्वाचित भए। २०७५ जेठमा एकीकृत भएका पूर्व एमाले र माओवादी केन्द्रको सचिवालय गठनसँगै महासचिवमा जिम्मेवारी पाएपछि नेकपामा विष्णु पौडेलको चर्चा चुलियो। सो बेला पूर्व एमालेका महासचिव ईश्वर पोखरेललाई पाखा लगाउँदै पौडेल महासचिवमा चयन भएका थिए।
नेतृत्वको विश्वासमा रहेर काम गर्ने स्वभाव पौडेलको छ। २०७२ मा ओली प्रधामन्त्री भएको बेला अर्थमन्त्रीका रुपमा उनले आफूलाई सफल बनाएपछि पार्टी र बाहिर पनि उनको व्यक्तित्व थप माथि उठ्यो। एमालेको १० औं महाधिवेशन पौडेलले पार्टी उपाध्यक्षको जिम्मेवारी पाएका थिए।
देवीलाल र रेवती पौडेलका छोरा विष्णुप्रसाद पौडेलको जन्म २०१६ मंसिर ५ मा स्याङ्जाको पुतलीबजारमा भएको थियो। स्कूल पढ्दापढ्दै भूमिगत राजनीतिमा होमिएका पोडेल २०३३ बाट सक्रिय राजनीतिमा लागेका थिए। सोही क्रममा २०३७ सालमा पौडेलले ३ वर्ष राजकाजको मुद्धा खेपेका थिए। सो समयमा भैरहवा जेल चलानभएपछि ४५ दिनको परिश्रमपछि उनले जेल विद्रोह गरेका थिए।