काठमाडौं। असार १७ मध्यराती कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको अप्रकाशित सातबुँद सहमतिअनुसार आज नयाँ मन्त्रिपरिषद् गठन हुँदै छ।
प्रधानमन्त्री ओलीले शीतलनिवासमा शपथ लिनै लाग्दा हालसम्म एमाले र कांग्रेसबाट मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालय पठाइएको छ। हलसम्म शीतलनिवासमा २१ मन्त्रीको नेमलिस्ट पठाइएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
रकांग्रेसमा देउवा र शेखर कोइराला गुटबाट मन्त्री बन्नेहरुको नाम करिब करिब टुंग्याइएको छ भने एमालेमा ओली सर्वेसर्वा हुँदा सहमतिमा मन्त्रीको नाम टुंगिइसकेको छ।
कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले आ–आफ्नो भागमा परेका मन्त्रालय सम्हाल्ने गरी मन्त्रीहरूको नाम शीतलनिवास पठाएका हुन्। कांग्रेसले १०, एमालेले ८, जसपाले २, लोसपाले १ मन्त्रीको नाम पठाएका छन्।
कांग्रेसले पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू सरकारमा पठाउने भएको छ। सिंह उपप्रधान तथा सहरी विकास मन्त्री हुनेछन्।
यस्तै, गृहमन्त्रीमा रमेश लेखक, आरजु राणाा देउवा परराष्ट्र, तेजुलाल चौधरी युवा, अजय चौरसिया कानुन, दीपक खड्का ऊर्जा, ऐनबहादुर शाही वन, प्रदीप पौडेल स्वास्थ्य, रामनाथ अधिकारी कृषि र बद्री पाण्डे पर्यटन मन्त्री बन्ने भएका छन्।
एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ सञ्चार, बलराम अधिकारी भूमि व्यवस्था, दामोदर भण्डारी उद्योग, विद्या भट्टराईले शिक्षा, मानवीर राई रक्षा, राजकुमार गुप्ता संघीय मामिला, देवेन्द्र दाहाल भौतिकमन्त्री बन्ने भएका छन्।
लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन्। जनता समाजवादीका प्रदीप यादव खानेपानी र नवलकिशोर साह महिला तथा बालबालिका मन्त्री बन्ने भएका छन्।