काठमाडौं। सिन्धुपाल्चोकका यांग्री तथा इन्द्रावती नदीमा गए राती आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
७.५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सबस्टेसन’ र पावर हाउसमा क्षति पु¥याएको पाँचपोखरी थाङपाल पालिका अध्यक्ष टासी लामाले जानकारी दिए।
आयोजनामा क्षति पुगेसँगै सिन्धुपाल्चोक क्षेत्र क्षेत्र २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ। साथै, खाल्डेखोलादेखि तिपेनीसम्म सडकसमेत अवरुद्ध भएको छ।
यस क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनसमेत चल्न नपाउँदा बिरामी मारमा परेको उनले बताए।
त्यस्तै, चिन्डे जतन जोड्ने र झोलुंगे पुल र यांग्र्री पुल पनि बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताए। यांग्र्री तथा इन्द्रावती नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ । चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवा र खाल्डेखोलाजस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा रहेको बताइएको छ।
मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको ‘बेलिबृज’ पनि जोखिममा परेको छ। त्यस्तै, मेलम्चीमा नवनिर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्डहल समेत बाढीको जोखिममा बताइएको छ।
यसैगरी अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोलामा रहेको ‘बेलीब्रिज’ बाढीले बगाएको छ।