काठमाडौं । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ। राजमार्गको खुर्कोट-घुर्मी सडक खण्ड (सिन्धुली) अन्तर गोलन्जोर गाउँपालिका २ कुखुरेटारमा सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको हो।
आइतबार राती झरेको सुख्खा पहिरोका कारण सोमबार बिहानैदेखी पूर्वरुपमा सडक अवरुद्ध भएको गोलन्जोर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सोमप्रसाद बरालले बताए। उनकाअनुसार सुख्खा पहिरोले करिब ५० मिटर सडक ढाकेको छ। यद्यपि मानवीय वा अन्य क्षति नभएको अध्यक्ष बराल बताउँछन्। 'राति पहिरो खसेछ, अहिले एम्बुलेन्ससहित अन्य सवारी साधन रोकिएका छन्,' उनले भने।
पहिरो पन्साउन मध्यपहाडी राजमार्ग निर्देशनालयको एउटा मेसिन पुगेपनि 'टायर पम्चर' भएर काम हुन सकेको छैन। 'आयोजनाको मेसिन बिग्रीयो, स्थानीय तहले पहिरो पन्साउँदा केन्द्रको सडकमा किन काम गरेको भन्ने प्रश्न आउने रहेछ। पोहोर पन्साउँदा हाम्रो खर्च पाएनौं,' क्यापिटल नेपालसँग अध्यक्ष बराल भन्छन्, 'एउटा सडकमा २ निकायले काम गर्नु भ्रष्टाचार गर्न खोजेको जस्तो देखिने रहेछ। त्यसैले अहिले गाउँपालिकाले पन्साइहाल्न सहज छैन।'
मध्यपहाडी राजमार्ग निर्देशनालयका इन्जिनियर एवं सूचना अधिकारी किरण घिमिरेका अनुसार स्थानीय तहले आयोजना कार्यालयसँग समन्वय गरेर काम गर्दा खर्च दिने गरेको बताउँछन्। 'स्थानीय तहले आफैं पहिरो पन्साउँदा हामीले केही गर्दैनौं तर, समन्वय गरेका छन् भने खर्च दिन्छौं,' इन्जिनियर घिमिरेले भने। साथै आयोजना कार्यालयको मेसिन बिग्रीए पनि 'सडक डिभिजन खुर्कोट'सँग समन्वय गरेर पहिरो पन्साउने मध्यपहाडी राजमार्ग निर्देशनालयले जनाएको छ। डिभिजन खुर्कोट सडक विभाग मातहतको कार्यालय हो।
मेसिन भए ३/४ घण्टामा सडक खुलाउन सकिने वडा अध्यक्ष बरालको भनाइ छ। मध्यपहाड एवं पूर्वका जिल्लालाई संघीय राजधानी काठमाडौं जोड्ने छोटो बाटोका रूपमा मध्यपहाडी राजमार्गलाई लिने गरिन्छ। तर, पहिरो गएको स्थानमा वैकल्पिक बाटो प्रयोग गर्न सकिँदैन।