काठमाडौं । बिमांकीय मूल्यांकन (एक्चुअरी) विषय अध्यापन गराउने ‘स्कुल अफ म्याथम्याटिकल साइन्स’मा हाल १३३ विद्यार्थी अध्ययनरत छन्। त्रिभुवन विश्वविद्यालयले अनुमति दिएसँगै २०७३ असोजबाट ४ वर्षे एक्चुअरी विषय सेमेस्टर प्रणालीमा आधारित भएर नेपालमा अध्यापन सुरु भएको हो। केही ब्याच नेपालबाट एक्चुअरी ‘पासआउट’ भइसकेका छन्।
स्कुल अफ म्याथम्याटिकल साइन्सका अनुसार ६ महिने सेमेस्टर तयार गरी अध्ययन÷अध्यापनको काम हुन्छ। तर, विद्यार्थी भर्ना हरेक वर्षको एक पटक मात्र लिने गरिन्छ, जसले एक सेमेस्टर बीचमा खाली रहने गर्छ। म्याथम्याटिकल साइन्समा अध्ययन गरेका सुरुआती ४ वर्षका विद्यार्थी पहिलो ब्याचमा २५, दोस्रोमा २०, तेस्रोमा २० र चौथोमा २४ गरी ८९ जना पासआउट भइसकेका छन् अर्थात्, सुरुआती ४ वर्षका विद्यार्थीले स्नातक गरिसकेका छन्। पछिल्लो चार वर्षमध्ये पाँचौ वर्षका ३५, छैटौंका ३४, सातौंका ३३ र आठौं वर्षका ३१ गरी १३३ विद्यार्थी अहिले अध्ययनरत छन्। यसरी हेर्दा एक्चुअरी पढ्न २२२ जना विद्यार्थी सक्रिय भएको देखिन्छ। स्कुल अफ म्याथम्याटिकलमा सुरुआती वर्षमा ३६ कोटा निर्धारण गरिए पनि हाल बढाएर ४० जना पु¥याइएको छ।
४ वर्षे कोर्ष पूरा गरी स्नातक उपाधि हासिल गरे पनि पूर्ण रूपले उनीहरू एक्चुअरी भइसकेका हुँदैनन्। व्यावसायिक एक्चुअरी बन्न इन्स्टिच्युट अफ फ्याकल्टी एक्चुअरी यूकेका १३ वटा अथवा सोसाइटी अफ एक्चुअरीज् अमेरिकाका १० वटा छुट्टै एक्चुअरीसम्बन्धी पेपर उत्तीर्ण गर्नुपर्छ। तर, अहिले स्कुल अफ म्याथम्याटिकल साइन्समा अध्ययनरत विद्यार्थीले युकेको कोष गर्दा १० पेपर र अमेरिकी कोर्ष गर्नेले ५ पेपरसम्मको परीक्षा उत्तीर्ण गरेको उक्त कलेजका प्रोगाम को–अर्डिनेटर केशवराज फुलारा बताउँछन्।
‘नेपालमा पढेकामध्ये केही अमेरिका र बेलायतलगायत मुलुकमा छन्। २० जति बाहिरी मुलुक हुँदा ३०÷४० जना स्वदेशमै काम गरिहेका छन्,’ फुलारा भन्छन्, ‘एक्चुअरी कोर्ष गरेका विद्यार्थी विभिन्न बिमा कम्पनी तथा अन्य ठाउँमा पनि प्रशिक्षार्थीको रूपमा काम गरिरहेका छन्।’
एक्चुअरीको चार वर्षे कोर्स सुरु गर्दा ३ लाख ७० हजार रुपैयाँ शुल्क लिने गरिए पनि अहिले बढेर ५ लाख ३० हजार पुगेको छ। विश्वविद्यालयले शुल्क सेमेस्टरअनुसार लिने गर्छ। १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति व्यवस्था छ। सामान्यतया एक्चुअरी अध्ययनका लागि लिइने प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने तथा सरकारी विद्यालयबाट एसइई र कक्षा १२ उत्तीर्ण हुँदा बढी अंक प्राप्त गर्ने विद्यार्थीलाई छात्रवृत्ति दिने गरिन्छ। पहिलो सेमेस्टरमा भर्ना भएर अन्तिम सेमेस्टरसम्म पुग्दा करिब १० प्रतिशत विद्यार्थीले बीचमै पढाइ छाड्ने (ड्रपआउट) गरेको स्कुल अफ म्याथम्याटिकल साइन्सले जनाएको छ। को–अर्डिनेटर फुलाराका अनुसार ड्रपआउट हुने विद्यार्थीको संख्या अन्य क्षेत्रको तुलनामा कम भएकाले यसलाई स्वाभाविक रूपमा लिने गरिएको छ। भारतमा एक्चुअरीको कोर्ष यूकेको मात्र पढाइ हुन्छ। तर, नेपालमा भने अमेरिका र यूके दुवैतिरको कोर्ष डिजाइन गरिएको छ।
जुनसुकै संकाय पढे पनि १०० पूर्णांकको गणित विषय पढेर १२ कक्षा उत्तीर्ण जोकोही विद्यार्थी एक्चुअरी साइन्स पढ्न योग्य ठहरिन्छ। तर, विश्वविद्यालयले प्रवेश परीक्षामार्फत विद्यार्थी छनोट गर्छ। लामो समयदेखि नेपालका बिमा कम्पनीहरूले बिमांकीय मूल्यांकन (एक्चुअरी) को अभाव खेप्दै आएका छन्। एक्चुअरीको प्रारम्भिक अध्ययन नेपालमा हुने र पूर्ण एक्चुअरीका निम्ति सम्पूर्ण रूपले नेपालमा पढाइ नहुँदा थप अध्ययनका लागि विदेश जानुपर्ने बाध्यताले समस्या ‘ज्यूँका त्यूँ’ रहेको बिमा कम्पनीहरूको ठम्याइ छ। विशेषतः नेपालका बिमा कम्पनीले भारतीय एक्चुअरीमार्फत काम गराउँदै आएका छन्।
एक्चुअरीको प्रारम्भिक अध्ययन नेपालमा हुने र पूर्ण एक्चुअरीका निम्ति सम्पूर्ण रूपले नेपालमा पढाइ नहुने हुँदा थप अध्ययनका लागि विदेश जानुपर्ने बाध्यताका कारण समस्या ‘ज्यूँका त्यूँ’ रहेको बिमा कम्पनीहरूको ठम्याइ छ। विशेषतः नेपालका बिमा कम्पनीले भारतीय एक्चुअरीमार्फत काम गराउँदै आएका छन्।
स्कुल अफ म्याथम्याटिकल साइन्सबाट एक्चुअरीमा स्नातक इशा तक्षकार हाल हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत छन्। स्कुल अफ म्याथम्याटिकलमा भर्ना भएर पढ्न सुरु गरेको दोस्रो वर्षबाट हिमालयनमा काम थालेकी तक्षकारले इन्स्टिच्युट अफ फ्याकल्टी एक्चुअरीज् यूकेको ९ पेपर पास गरिसकेकी छन्। सन् २०२१ मा पासआउट भएकी तक्षकार आफूसँगै स्नातक गरेका अधिकांश साथीहरू नेपालमै भए पनि केही बाहिर गएको सुनाउँछिन्।
‘नेपालमै राम्रो सम्भावना भएकाले अहिले नै बाहिर जाने योजना बनाएकी छैन। तर, केही साथीहरू स्नातकोत्तर अध्ययनका लागि बाहिर गएका छन्,’ तक्षकार भन्छिन्, ‘सरकारले पछिल्लो समय एक्चुअरी शिक्षालाई प्राथमिकता दिएकाले अझै राम्रो हुने अपेक्षा छ। सुरुमा थोरै विद्यार्थीले एक्चुअरी अध्ययन गर्न रुचि देखाउने गरेकामा अहिले धेरैको आकर्षण हुनु पनि राम्रो संकेत हो।’ तक्षकार एक्चुअरीयल सोसाइटी अफ नेपालमा आबद्ध छन्।
सुरुका वर्षमा विश्वविद्यालयले नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्समा प्रशिक्षार्थी (इन्टर्नसिप) व्यवस्था गरेको थियो। तर, पछि नेपाल बिमा प्राधिकरणले एक्चुअरी अध्ययन गर्दै गरेका विद्यार्थीलाई अन्य कम्पनीमा पनि पठाउन सहजीकरण गरिदियो। प्राधिकरणले बेलाबेला प्रशिक्षार्थीका रूपमा बिमा कम्पनीमा सामेल हुन के–के गर्नुपर्छ भनेर सुझावसमेत लिँदै आएको छ। प्रोग्राम को–अर्डिनेटर फुलाराका अनुसार सम्बन्धित क्षेत्रबाट प्राप्त सुझावकै आधारमा प्राधिकरणले तीन÷चार पेपर पास गरेकालाई हरेक जीवन बिमा कम्पनीमा प्रशिक्षार्थीका रूपमा राख्ने प्रक्रिया अघि बढाएको छ। यसले एक्चुअरी पढ्दै गरेका र पढ्न रुचि देखाएका विद्यार्थीलाई उत्साही बनाएको छ।
एक्चुअरीसम्बन्धी सबै क्रियाकलापमा बाहिरी मुलुकको भर पर्नुपर्दा बिमा कम्पनीको काममा ढिलासुस्ती हुने गरेको छ। नेपाल बिमक संघका अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीका अनुसार अरू सबै काम भए पनि एक्चुअरी विदेशबाटै ल्याउनुपर्ने बाध्यताले बिमा कम्पनीलाई कठिनाइ हुने गरेको छ। ‘एनएफआरएसलगायतका दर्जनौं काम गराउन भारतमा निर्भर हुनुपर्ने अवस्था छ। यसले काममा ढिलाइ मात्रै भएको छैन, बिमा कम्पनीको लागत पनि बढेको छ,’ अध्यक्ष क्षेत्रीले क्यापिटल नेपालसँग भने, ‘त्रिविबाट एक्चुअरी पढाइ हुने भए पनि पूर्ण कोर्षको अध्ययन नहुँदा बाहिर जानुपर्ने र नेपाल नफर्कने समस्या छ।’ क्षेत्रीका अनुसार विश्वभर एक्चुअरी क्षेत्रमा अत्यधिक सम्भावना भएकाले विदेश गएर पढ्ने र नेपालमा पढेर पनि ‘सर्टिफिकेसन’का लागि बाहिरिनेहरू नेपाल फर्कंदैनन्। कपिपय बिमा कम्पनीले एक्चुअरी अध्ययनमा सहुलियत दिँदै आएको बताउँदै क्षेत्रीले भने, ‘पूर्ण कोर्ष र इन्टर्नसिपका लागि बाहिर जाने प्रवृत्ति रोकेर बढीभन्दा बढी नेपालीले एक्चुअरी अध्ययन गरे समस्या समाधान हुन सक्छ।’
एक्चुअरीले बिमा कम्पनीको सम्पत्ति तथा दायित्व अवस्था मूल्यांकन, बीमितलाई दिनुपर्ने बोनस दर निर्धारण, बिमकको वार्षिक वित्तीय विवरण, नयाँ बिमालेख निर्माणलगायत महत्त्वपूर्ण काम गर्नुपर्ने हुन्छ। बिमा क्षेत्र (बिमा प्राधिकरण र बिमा कम्पनी) मा मात्रै नभएर एक्चुअरीको माग नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता थुप्रै कार्यालयमा हुँदै आएको छ।
दिनप्रतिदिन बिमा कम्पनीको आर्थिक स्थिति लेखाजोखा र दायित्वको मूल्यांकन गर्नुपर्ने ठाउँबाट एक्चुअरीको दायरा फराकिलो बन्दै गएको छ। बिमा कम्पनीहरू जोखिम उठाउने क्षेत्रमा काम गर्नुपर्ने संस्था भएकाले बिमांकीय मूल्यांकन अनिवार्य हुन्छ। एक्चुअरीका लागि बाहिरी मुलुकको भर पर्दा विगतको तथ्यांकअनुसार सम्भावित जोखिम निर्धारण, नयाँ बिमा योजना बनाउन तथा बोनस दर निर्धारणजस्ता काममा ढिलाइ हुने गरेको छ।
जीवन बिमक संघका अध्यक्ष तथा सिटिजन लाइफ इस्योरेन्सका सीईओ पोषकराज पौडेल एक्चुअरीका कारण बिमा कम्पनीले भोगेको समस्यामा रत्तिभर कमी नआएको बताउँछन्। ‘नेपालमा पढाइ भए पनि पूर्णताका लागि विदेशी कोर्ष गर्नुपर्ने बाध्यताका कारण विद्यार्थीहरू यहाँ नबस्ने हुँदा विगतका समस्यामा कुनै कमी देखिँदैन,’ पौडेलले भने, ‘एक्चुअरीका लागि भारतमा निर्भर रहनुपर्दा नियामकले तोकेको समयसीमामा कतिपय काम पूरा गर्न कठिन भइरहेको छ।’
नेपालमा हाल २ पुनर्बिमा कम्पनी, १४ जीवन बिमा कम्पनी, १४ निर्जीवन बिमा कम्पनी र ७ लघुबिमा कम्पनी सञ्चालनमा छन्। लघु बिमकहरू केही समयअघि मात्रै सञ्चालनमा आएकाले बिमा प्राधिकरणले एक्चुअरी अभावमा सुस्त गतिमा बिमालेख स्वीकृति दिइरहेको छ। बिमकका एक्चुअरीले तयार पारेको ‘प्रोडक्ट’ स्वीकृतिका लागि प्राधिकरण जाने गर्छ। त्यसपछि प्राधिकरणका एक्चुअरीले पनि बिमकले पठाएको प्रोडक्ट र त्यसले पार्ने प्रभाव अध्ययन गरी स्वीकृत गर्ने व्यवस्था छ। यसरी बिमक र नियामक दुवै विदेशी एक्चुअरीमा निर्भर हुनुपर्दा नयाँ बिमालेख जारी गर्न ढिलाइ हुने पुगेको गुनासो सुनिन्छ।
गार्डियन माइक्रो इन्स्योरेन्सका सीईओ चिरायु भण्डारी एक्चुअरीका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाएका कारण छिट्टै समस्या समाधान हुने अपेक्षामा छन्। ‘लघु बिमकलाई एक्चुअरीका कारण केही समस्या हुँदै आएको थियो। तर, प्राधिकरणले नियुक्तिसम्बन्धी प्रक्रिया अगाडि बढाएको छ,’ सीईओ भण्डारीले भने, ‘यसपछि थप सजिलो हुँदै जाने अपेक्षा छ।’ प्राधिकरणले बिमकको बिमांकीय नियुक्तिसम्बन्धी मार्गदर्शनको मस्यौदा बनाई सरोकारवालासँग रायसमेत लिइसकेको छ। मार्गदर्शन मस्यौदामा बिमकले अनिवार्य एक्चुअरी नियुक्त गर्नुपर्ने व्यवस्था छ। बिमकले बिमा व्यवसाय सञ्चालनका लागि आवश्यक देखिए ‘पियर रिभ्यू एक्चुअरी’ नियुक्त गर्नुपर्ने व्यवस्था मार्गदर्शनमा समेटिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार बिमांकीय मूल्यांकनमा सहजीकरण गर्ने उद्देश्यले जारी गर्न लागिएको मार्गदर्शन मस्यौदामा एक्चुअरी नियुक्त हुने व्यक्ति जीवन बिमा क्षेत्रमा कम्तीमा २ वर्ष ‘पोस्ट फेलोसिप’ कार्यानुभव प्राप्त हुनुपर्ने व्यवस्था छ। निर्जीवन बिमा कम्पनीमा काम गरेको, ‘फर्म’ मा काम गरेको वा परामर्शदाता एक्चुअरीका रूपमा कार्यरत व्यक्तिलाई पनि कम्पनीले एक्चुअरी नियुक्त गर्न पाउने छैनन्।
इन्स्टिच्युट अफ फ्याकल्टी अफ एक्चुअरीज् यूके, इन्स्टिच्युट अफ फ्याकल्टी अफ एक्चुअरीज् इन्डिया, सोसाइटी अफ एक्चुअरीज् अमेरिका, फ्याकल्टी एक्चुअरीयल सोसाइटी, क्यानेडियन इन्स्टिच्युट अफ एक्चुअरीज्, इन्स्टिच्युट अफ एक्चुरीज् अस्ट्रेलिया वा विश्वस्तरमा परिचित अन्य व्यावसायिक एक्चुअरी निकायमा सक्रिय व्यक्ति मात्र एक्चुअरी नियुक्त गर्न पाइनेछ।
(क्यापिटल म्यागजिनकाे असार अंकबाट)