काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार संसद्मा विश्वासको मत गुमाएसँगै सोही दिन राष्ट्रपतिले नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबारसम्मको समय दिएर प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए।
राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेसका ८८ र एमालेका ७८ गरी १६६ सांसदको हस्ताक्षरसहितको समर्थन बोकेर ओली शुक्रबार राति सवा ९ बजे प्रधानमन्त्रीमा दाबी पेस गर्न शितल निवास पुगेका थिए।
नयाँ सरकारमा नेपाली कांग्रेसले उपप्रधानमन्त्रीसहित १० वटा मन्त्रालय र एमालेले प्रधानमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्ने टुंगो लागिसकेको छ। तर, अन्य दललाई समेत सहभागी गराउनुपर्ने भएकाले मन्त्रालयको संख्या थपघट हुन सक्ने बताइएको छ।
ओली नेतृत्वको सरकारलाई संसद्का अन्य साना दलहरू जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत समर्थन छ।
ओलीलाई आज प्रधानमन्त्रीमा नियुक्त गरिए पनि शपथ भने सोमबार बिहान ११ बजे हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथका लागि संघीय सांसदलाई निमन्त्रणा पठाइसकेको छ। संसद सचिवालयलाई पत्राचार गर्दै राष्ट्रपति कार्यालयले सबै सांसदलाई शपथ ग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा गरेको हो।
‘नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूको भोलि मिति २०८१/३/३१ गते बिहान ११ बजे हुने शपथ ग्रहण समाहरोहमा उपस्थितिको लागि संघीय संसदका सम्पूर्ण माननीय सदस्यज्यूहरुलाई बिहान १०:३० भित्र राष्ट्रपतिको कार्यालय, शीतल निवास प्रवेश गरिसक्ने गरी निमन्त्रणा सहितको जानकारी सम्प्रेषण गरिदिने व्यवस्था हुन अनुरोध छ’, राष्ट्रपति कार्यालयले संघीय संसदका महासचिवलाई पठाएको पत्रमा भनिएको छ।
को हुन् ओली?
एमाले अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री ओलीको जन्म पिता मोहनप्रसाद ओली र आमा स्व. मधु ओलीको कोखबाट वि.सं. २००८ साल फागुन ११ तेह्रथुम जिल्लाको इवा २ मा भएको हो। ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए। त्यसपछि आदर्श माध्यमिक झापाबाट २०२८ साल एसएलसी उत्तीर्ण गरे। हाल ओली भक्तपुरको बालकोटका स्थायी बासिन्दा हुन्।
ओली २०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री बनेका थिए। त्यसपछि उनी २०७४ फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री नियुक्त भए। तेस्रो पटक ओली २०७८ वैशाख ३० गते प्रधानमन्त्री बनेका थिए ।
उनी वाकपटुतामा माहिर र नेपाली राजनीतिका चतुर खेलाडीको रूपमा चिनिन्छन्। ओलीले १४ वर्ष लामो जेल जीवन बिताएका छन्। झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा सुरु गरेका ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि मुलुकको पहिलो प्रधानमन्त्री बन्न सफल भएका थिए।
ओली २०५१ देखि २०५२ सम्म गृहमन्त्री र २०६४ देखि २०६५ सम्म उपप्रधान एवं परराष्ट्र मन्त्री बनेका थिए।
वि.सं. २०२२ सालमा कम्युनिस्ट राजनीतिमा लागेका ओली २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिए। ओलीले २०२३ मा माक्सवादी अध्ययन दलमा संगठित भई प्रशिक्षण प्राप्त गरेका छन्।
उनले २०२५ सालबाट तत्कालीन नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीमा आबद्ध भई त्यसको नेतृत्व गरे। २०२६ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका ओलीले २०२६ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको उपसचिवको जिम्मेवारी बहन गरे। उनले २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका थिए।
२०२७ फागुन १६ गते आइतबार उनी झापाबाट गिरफ्तारीमा परे। २०२७ र २०३० का बीचमा १० पटकभन्दा बढी गिरफ्तारीमा परेका ओलीको जेल जीवन २०३० असोज २३ गतेबाट सुरु भएको थियो। उनी २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा भएका थिए।