काठमाडौं । सत्ता समिकरण फेरिने निर्णयसँगै सेयर बजारमा आएको उतारचढावले आइतबार पनि निरन्तरता पाएको छ। नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्। चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुन लागेका ओलीलाई सेयर बजारले स्वागत गरेको छ। आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.९७ अंक (२.४० प्रतिशत)ले बढेर २२५७.५९ को बिन्दुमा पुगेको छ।
आइतबारको ‘प्रिओपन सेसन’मै ३४.७९ अंक अर्थात १.५७ प्रतिशतले बढेर २२३९.४१ अंकमा पुगेको नेप्से ११ बजेर २ मिनेटमा २२९०.९५ को बिन्दुसम्म पुगेको थियो। त्यसपछि २२३०.५० को बिन्दुसम्म घटेको बजार कारोबार बन्द हुँदा भने २२५७.५९ को बिन्दुमा सीमित भएको हो। अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्से २९.२१ अंकले बढेर २२०४.६१ को बिन्दुमा बन्द भएको थियो।
आइतबार नेप्सेमा कुल ७ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन बिहीबार पनि नेप्सेमा कुल ७ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। आइतबारको कारोबार २०८० माघ ७ यताकै उच्च हो। माघ ७ मा नेप्सेमा कुल ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बन्द भएको सूचकको आधारमा हेर्दा नेप्से २५ महिना यताकै उच्च बिन्दुमा पुगेको छ। उद्यपि बीचको कारोबारले भने अझ अघि बढेको देखाउँछ। यसअघि २०७९ जेठ ४ गते २२७४.४२ बिन्दुमा नेप्से थियो।
आइतबार कारोबारमा आएकामध्ये २०१ कम्पनीको सेयर मूल्य बढ्दा ३६ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ। आज रिडि पावर कम्पनी र मान्डु हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। हिमाल दोलखा हाइड्रोपार, अरुन भ्याली हाइड्रोपावर र जानकी फाइनान्सको सेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ।
आज सर्वाधिक सेयर मूल्य बढ्ने १० कम्पनीमा ७ जलघुविद्युत कम्पनी रहेका छन्। समग्रमा जलुविद्युत समुहमा ३.३० प्रतिशतको वृद्धि भएको छ। आइतबार बैंकिङ समुहको सेयर मूल्य सर्वाधिक अर्थात् ३.७४ प्रतिशतले बढ्दा उत्पादनमूलक समुहमा २.६६ प्रतिशतको वृद्धि भएको छ।
पटक-पटक २२०० बिन्दुलाई छोएर फर्किएको नेप्से त्यसअघि बढ्न कठिन मानिरहेको थियो। घट्दो बजारमा २३०० बिन्दु पार गरेमा भने सेयर बजार नयाँ ढंगले अघि बढ्ने आकलन भइरहेको छ।
सेयर बजार बढ्दै गर्दा मुलुकका आर्थिक सूचकहरूले पनि केही सहयोग गरिरहेको छ। खासगरि अर्थतन्त्रका बाह्य सूचकहरू मजबुद देखिएका छन्। आन्तरिक रुपमा संघीय संसद्का दुई ठूला दल मिलेर सरकार बनाउने निर्णयसँगै रोकिएर बसेका आर्थिक तथा राजनीतिक मुद्दाले पनि निकास पाउने र त्यसको असर समग्र अर्थतन्त्रमा देखिने लगानीकर्ताको विश्वासका कारण सेयर बजार नयाँ उचाइ समाउन अग्रसर भएको हो।
त्यसैगरि सेयर बजारले रुचाएका विष्णु पौडेल अर्थमन्त्री हुने चर्चाले लगानीकर्तामा थप आत्मविश्वास पलाएको हुनसक्छ।
त्यसैगरि आगामी आर्थिक वर्षको मौद्रिक नीति छिटै सार्वजनिक हुने र मौद्रिक नीतिले सेयर ऋणमा लगाएको सीमा र जोखिमभार घटाउने अपेक्षा लगानीकर्ताको छ। जसको परिणाम दुई सातादेखि निरन्तर सेयर बजार उकालो लागिरहेको छ। त्यसमध्ये ठूलो अंकको वृद्ध असार १७ मा ४७ अंक र आज करिब ५३ अंक देखिएको छ।
ओली पहिलो पटक २०७२ साल असोज २४ मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यसपछि, २०७४ फागुन ३ मा दोस्रो र २०७८ वैशाख ३० मा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओली आइतबार चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदैछन्।
पछिल्ला केही वर्षमा एमाले सत्तामा आउँदा सेयर बजारले सकारात्मक संकेत गर्ने गरेको छ। २०७८ सालमा पनि सेयर बजारले नयाँ उचाइ बनाइरहँदा एमाले सरकारमा थियो। यसपछि, एमाले सत्ताबाट बाहिरिएको ३५ दिन नपुग्दै नेप्सेले २०७८ भदौ २ गते हालसम्मकै उच्च ३१९९ (त्यसदिन ३२२६ सम्म) पुगेको थियो।
२०७२ फागुनमा ओली प्रधानमन्त्री हुँदा नेप्से ३६ अंकले बढेको थियो। सामान्यतया एमाले सरकारमा आउँदा सेयर बजारले सकरात्मक प्रतिक्रिया देखाउने गरेको छ। र, त्यसैको असर आइतबार नेप्सेमा परेको देखिएको छ।