काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली उपभोग गरेका उद्योगीको धमाधम विद्युत् काट्न थालेपछि केही बेरमै प्रधानमन्त्री नियुक्त हुने तयारीमा रहेका केपी शर्मा ओली प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग आक्रोशित बनेका छन्।
औद्योगिक वातावरण बिग्रिएको र बजारमा आर्थिकमन्दी छाइरहेका बेला नयाँ सरकारलाई अप्ठेरोमा पार्ने रणनीतिसाथ प्राधिकरणले विभिन्न उद्योगमा बत्ती काटेर गलत सन्देश दिन खोजेकोभन्दै नेकपा एमाले अध्यक्षसमेत रहेका ओली आक्रोशित बनेका हुन्।
देशमा औद्योगिक वातावरण बिग्रिएको, आर्थिक गतिविधि सुस्ताएको तथा सरकारप्रति व्यवसायीको विश्वास गुम्दै गइरहेको अवस्थामा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले उद्योगमा बत्ति काट्नथालेको भन्दै ओली रुष्ट बनेका छन्।
प्राधिकरणले गलत नियतका साथ उद्योगमा लाइन काट्न थालेको उनको भनाइ छ। कामचलाउ प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सरकार ढल्ने र एमाले नेतृत्वमा सरकार बन्ने भएसँगै प्राधिकरणले लाइन काट्न थालेको उनको आरोप छ। प्राधिकरणले असार २५ गते साँझबाट उद्योगमा लाइन काट्न थालेको हो।
सत्तापक्षमा हुँदा होस या प्रतिपक्षमा हुँदा निजी क्षेत्रको पक्ष रहेका ओलीले माओवादी सरकारमै रहेको बेला पनि प्राधिकरणलाई लाइन नकाट्न निर्देशन दिएका थिए। माओवादीसँग सत्तासाझेदर रहँदासमेत ओलीले कार्यकारी निर्देशक घिसिङलाई फोन गरेर सहमति अनुसार नै अगाडी बढ्न निर्देशन दिएका थिए। तर, पछिल्लो समय माओवादी सरकारबाट बाहिरिने निश्चित भएसँगै प्राधिकरणले नयाँ सरकारलाई अप्ठेरोमा पार्न लाइन काटेको निष्कर्षमा ओली पुगेका छन्।
उद्योगमा विद्युत् कटौती भएपछि गुनासो लिएर शनिबार उद्योगी ओलीलाई भेट्न पुगेका थिए। उद्योगीसँगको भेटमा ओलीले प्रधानमन्त्रीको शपथ लिएसँगै समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। ‘अब केही समय पर्खिनुस्। तपाईंहरूको समस्या दीर्घकालीन रूपमै समाधान गर्छु’, ओलीको भनाई उदृत गर्दै एक व्यवसायीले भने।
मुलुकमा औद्योगिक वातावरण सुधार गरी आर्थिक गतिविधि चलायमान बनाउन नयाँ सरकार गम्भीर भएर लाग्ने ओलीको आश्वासन थियो। गिरिशचन्द्र लालको संयोजकत्त्वमा बनेको आयोगले नियम सम्मत विद्युत् बक्यौता असुल्न भने पनि कार्यकारी निर्देशक घिसिङले त्यसलाई अपव्याख्या गर्दै बिल तिर्न मनमौजी पत्र काटेका थिए। उद्योगीले विद्युत् उपभोग गरेको प्रमाण देखाए आफूहरू महसुल तिर्न तयार रहेको बताइरहेका छन्। तर, घिसिङले प्रमाण नदिई बक्यौता तिर्न पत्र पठाएको उद्योगीको गुनासो छ।
प्रचण्डले आश्वासन दिए, काम गरेनन्
सहमति विपरीत लाइन काटेपछि कामचलाउ प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले असार २७ गते करिब ३५ मिनेट उद्योगीलाई समय दिएका थिए। प्रचण्डले उद्योगीलाई भेटेर सोही दिन अन्तिम मन्त्रिपरिषदको बैंठक रहेको र सोही बैंठकबाट तत्कालका लागि बिजुली जोड्न निर्देशन दिने आश्वासन दिएका थिए।
प्रचण्डले ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतलाई समेत साथमै राखेर काटिएको लाइन जोड्ने र अरुमा नकाट्ने निर्णय गर्ने आश्वासन व्यवसायीलाई दिएका थिए। तर, आफूहरूलाई दिएको आश्वासन दाहालले पूरा नगरेको भेटमा सहभागी एक व्यवसायीले क्यापिटल नेपाललाई बताए।
व्यक्तिगत इगो साच्दै विजुली काट्दै कुलमान
बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले हालसम्म अर्घाखाँची सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, जगदम्बा सिन्थेटिक र हुलास स्टिलको बिजुली काटिदिएको छ। प्राधिकरणले गरेको दाबी अनुसार बिजुलीको बक्यौता तिर्न बाँकी यी पाँच उद्योग मात्र भने हैन।
तर, कार्यकारी निर्देशक घिसिङले छानिछानि व्यक्तिगत इगो साच्दै उद्योगमा बिजुली काटेको पाइन्छ। खासगरी कुलमानको विरोध गरी सत्यको पक्षमा वकालतका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका उद्योगीहरु पशुपति मुरारका, शशिकान्त अग्रवाल,पवन गोल्याण, रामचन्द्र संघई, विष्णु न्यौपाने लगाएतका उद्योगलाई लक्षित गरी बिजुली काटिदै आएको छ।
कुलमानले भेट्नै मानेनन्
लाल आयोगको प्रतिवेदन विपरीत गएर बिजुली काटेकोभन्दै कुरा राख्न घिसिङलाई पटक-पटक भेट्न खोज्दा पनि समय नपाएको गुनासो उद्योगीको छ। ‘हामीलाई भेट्नका लागि पटक-पटक समय दिँदै सार्दै आउनु भएको छ,’ एक उद्योगीले भने, ‘यसरी हेर्दा उहाँ समस्या समाधान गर्नेभन्दा बल्झाउन उद्यत देखिनुहुन्छ।'