काठमाडौं । निकै निरस अवस्थाबाट गुज्रिरहेको नेपालको सेयर बजार पछिल्लो समय केही गुलजार देखिन थालेको छ। त्यसको सिधा असर फेसबुक, ट्विटर, क्लब हाउसजस्ता सामाजिक सञ्जालमा समेत देखिइरहेको छ। कुनै बेला सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२०० बिन्दु पुग्ने/नपुग्नेमा केन्द्रित हुने बहस अहिले निकै अगाडी बढेर ३ वर्षअघिको उच्च बिन्दु ३२०० पार गर्ने तर्फ केन्द्रित हुन थालेको छ। सरसर्ती भन्दा नेप्सेले नयाँ रेकर्ड कायम गर्ला/नगर्ला छुट्टै विषय हो तर, लगानीकर्तामा सेयर बजारले सकारात्मक लय समाउँछ भन्ने एक किसिमको आत्मविश्वास जागेको छ।
खासगरि संघीय संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने निर्णय, चालू वर्षको अन्त्य र नजिकिँदो लाभांश चक्र र आउँदै गरेको नयाँ मौद्रिक नीतिले चाल्ने सकारात्मक कदमका कारण लगानीकर्तामा एक किसिमको आत्मविश्वास जागेको हो। अझ ब्याजदर एकल बिन्दुमा झर्नु, बैंकमा अधिक तरलता रहनु, उद्योगतर्फ बिस्तारै कर्जा वृद्धि हुँदै जानु सेयर बजारका सकारात्मक पक्ष हुन्।
२०७८ भदौ २ गते हालसम्मकै उच्च ३१९९.०२ (त्यस दिन ३२२६ सम्म) मा रहेको नेप्से २०७९ असार ९ मा १८४८.२८ बिन्दुसम्म झ¥यो। त्यसपछि पटक पटक नेप्सेले न्यून बिन्दुको परीक्षण गरेको छ। २०७९ असोज ९ मा १८१५, २०८० जेठ १ मा १८१८, २०८० कात्तिक १९ मा १८२६ का रूपमा परीक्षण गरेको छ। यद्यपि नेप्सेले न्यूनबाट उच्च बिन्दुको खोजी नगरेको होइन। तर, एकाध पटक पहिल्याएका उच्च बिन्दुमा टिकेर कारोबार हुन सकेन। घटेको बिन्दुबाट नेप्से उच्चतातिर लाग्दा पहिलो पटक २०७९ पुस ११ मा २२११, २०८० साउन ७ मा २२२७, २०८० माघ ३ मा २२०० बिन्दुसम्म चढ्यो। घटेको बजारमा चौथो पटक नेप्से बिहीबार २२०४.६१ बिन्दुमा रोकियो।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएनन् र आगामी प्रधानमन्त्रीका रूपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहयोगमा राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन्। सम्भवतः आइतबार ओली प्रधानमन्त्री बन्छन् र सँगै अर्थमन्त्रीमा पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको चर्चा भइरहेको छ। पछिल्लो दशकमा सरकारमा एमाले र अर्थमन्त्री पौडेल हुँदा सेयर बजारले नयाँ उचाइ लिने गरेको छ। त्यसैले पौडेललाई लगानीकर्ताले सेयर बजारमैत्री अर्थमन्त्रीका रूपमा लिँदै आएका छन्। त्यसको पछिल्लो घटना गत फागुनमा प्रधानमन्त्री दाहालले कांग्रेस छाडेर एमालेसँग गठबन्धन गर्ने र पौडेल अर्थमन्त्री हुने चर्चासँगै फागुन २१ गते ११७ अंकले नेप्से बढेको थियो। त्यति मात्रै असार १७ गते एमाले र कांग्रेसबीच सत्ता सहकार्य गर्ने र पहिलो चरणमा एमाले अध्यक्ष प्रधानमन्त्री बन्ने चर्चासँगै असार १८ गते सुरुमा दुई पटक सर्किट लाग्दै ५ प्रतिशतभन्दा बढीले नेप्से बढेकोमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने सत्ता यात्रा लम्ब्याउने भएपछि अन्तिम समयमा ४७ अंकले मात्रै बढेको थियो।
नेपाल धितोपत्र दलाल व्यवसायी संघ (स्टक ब्रोकर एसोसिएसन) का पूर्वअध्यक्ष भरत रानाभाट सेयर बजारका लागि आवश्यक धेरै सूचकहरू सकारात्मक रहेको र पछिल्लो केही दिनको कारोबारले सकारात्मक माहौल सिर्जना हुनुको असर नेप्सेमा देखिएको बताउँछन्। ‘नयाँ सरकार बनिरहँदा बजारले खोजिरहेको अर्थमन्त्री पाएमा थप गति समात्ने देखिन्छ। अहिले बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्न खोजिरहेका छन्,’ रानाभाट भन्छन्, ‘नीतिगत रूपमा कुनै कठोर निर्णय नआएसम्म बजार सकारात्मक रूपमा अघि बढ्ने देखिन्छ। राज्यका निकायबाट बजारलाई असहज हुने नीति तत्काल नआउने देखिएकाले सूचक सकारात्मक बन्ने अपेक्षा गर्न सकिन्छ।’
आगामी आर्थिक वर्ष २०८१/८२ चालू साताको मंगलबारबाट सुरु हुँदैछ। छिटोमा यही साताको अन्तिम वा ढिलोमा अर्को सातासम्म नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने छ। नयाँ सरकारप्रति लगानीकर्ता सकारात्मक देखिएकै बेला आउने मौद्रिक नीतिले लगानीकर्तामा थप उत्साह थप्ने छ। बिहीबार २९.२१ अंकले नेप्से सूचक बढेर करिब ७ अर्ब रुपैयाँको कारोबार भएको छ। गत साता नेप्से सूचक मात्रै बढेको छैन कारोबार रकममा पनि उच्च वृद्धि भएको छ। अघिल्लो साता २२ अर्ब २० करोड २३ लाखको सेयर किनबेच हुँदा गत साता २८ अर्ब २६ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ। गत साता नेप्से सूचक ८४.९१ अंकले बढेको छ।
आगामी मौद्रिक नीति गभर्नर महाप्रसाद अधिकारीको अन्तिम नीति हो। विगतमा अप्ठ्यारो परिवेशमा जतिसुकै बदनाम भए पनि अर्थतन्त्रलाई ट्याकमा ल्याउनुपर्ने दबाबमा रहेका अधिकारीलाई अहिले सजिलो छ। खसगरि अर्थतन्त्रका बाह्य सूचकहरू मजबुत अवस्थामा रहेकाले आफ्ना नीतिहरूलाई सहजीकरण गरी विगतको नराम्रो छवि पखालेर अघि बढ्ने अवसर छ। यही बेला प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनिरहेको छ। ओलीले नै अधिकारीलाई गभर्नर बनाएका थिए। यस्तो अवस्थामा मौद्रिक नीति अझ विस्तारित हुने अपेक्षा गर्न सकिन्छ।
लगानीकर्ता छोटेलाल रौनियार प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नर एउटै लाइनको हुँदा मौद्रिक नीति अझ परिष्कृत भएर राम्रो आउने अपेक्षा गर्छन्। ‘बिस्तारै लगानीकर्तामा एक किसिमको कन्फिडेन्स विकास हुँदै गएको छ। २२०० बिन्दुको मनोवैज्ञानिक अंक पार भएको छ,’ रौनियार भन्छन्, ‘बिहानीले दिनको संकेत गर्छ भनेझैँ अहिले सेयर लगानीकर्ताका लागि सकारात्मक अवस्था देखिएको छ। अझ बजारले खोजेको अर्थमन्त्री, लगानीमैत्री मौद्रिक नीति र चालू वर्षको सकारात्मक वित्तीय विवरण आएको खण्डमा सेयर बजारमा थप रौनक देखिन्छ।’
लामो समयदेखि सुस्ताएको बैंकिङ समूह गत साता ५.२९ प्रतिशतले बढ्यो। बैंकिङ समूह धेरै पुँजी भएकाले सितिमिति ट्रेडरले चलाउने गर्दैनन्। त्यसैले बैंकिङ समूह निकै न्यून अवस्थामा छ। गत साताको कारोबारले लगानीकर्तामा एक किसिमको मनोबल उकासिएको देखाउँछ र लगानीकर्ताको मजबुत मनोबलले ठुला क्षेत्र चल्ने सम्भावना रहन्छ। त्यति मात्र होइन तीन साताभित्र सार्वजनिक हुने ठूला कम्पनीका वित्तीय विवरण थप माहौल सिर्जना गर्ने छ। गत साता लगानीकर्ताहरू बढी लघुवित्तमा झुम्मिएका कारण लघुवित्त समूह सूचक ६.५९ प्रतिशतले बढेको छ।
‘अहिले न्यून मूल्य/पुँजी (लो क्याप) कम्पनीहरू चलिरहेका छन्। बिस्तारै बढी पुँजी भएका कम्पनीहरू चल्ने संकेत देखिएको छ। हाल लघुवित्तको भाउ राम्रो छ भने बढी पुँजी भएका कम्पनीहरूको तुलनात्मकरुपमा कम भाउ छ,’ रौनियार भन्छन्, ‘बैंकिङ समूह ११०० बिन्दु हाराहारी छ, कम्तीमा १८०० माथि हुनुपर्ने हो। तर, अब सबै समूह बिस्तारै चलायमान बन्ने देखिन्छ।’ पछिल्ला दिनहरूमा नेप्से देखाएको गति र भएको कारोबार रकमले आगामी दिन आशावादी देखिएको र मौद्रिक नीतिले साथ दिएको खण्डमा सेयर बजार थप चलायमान हुने रौनियारको भनाई छ।
पछिल्लो पटक २०८० असार १६ मा २०३७.०९ अंकमा रहेको नेप्से ९ कारोबार दिनमा १ दिन सामान्य घटे पनि समग्रमा १६७.६२ अंकले बढेको छ। लगानीकर्ताले खोजेको अर्थमन्त्री आए सुधारका धेरै काम अघि बढ्ने छन्। साउन लागेसँगै लाभांश सिजन हुने र अधिकांश सेयर मूल्य न्यून बिन्दुमै रहेकाले थप वृद्धिको आधार बन्ने छ। सबै आधारहरूलाई हेर्दा साउन महिनाभित्रै नेप्सेले बजार सूचक २५०० अंक पछ्याउने देखिन्छ। यद्यपि लगानीकर्ताले बेलाबेला नाफा बुक गर्दा आउने उतारचढाव सामान्य हो।