काठमाडौं। नबिल बैंकले स्थापनाको ४०औं वार्षिकोत्सव मनाएको छ। ‘फोर्टी एन्ड फर्दर फर सस्टेनबल फ्युचर’ नामक वार्षिकोत्सव कार्यक्रममा दिगो विकासमा बैंकिङको भूमिका विषयमा छलफल गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा बैंक अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित गरेको उल्लेख गर्दै कार्यक्रम र सेवा प्रवाहलाई सोहीअनुसार अघि बढाइएको जानकारी दिए।
बैंकले सुरु गरेको दिगो बैंकिङ योजना दीर्घकालीन सोचमा आधारित रहेको उल्लेख गर्दै उनले यसमार्फत कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक एवं आर्थिक विकासलाई प्रवर्द्धन गर्ने परियोजना अगाडि बढाउन सहयोग पुग्ने उनले बताए।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले सेवा सञ्चालनको ४० वर्ष अवसरमा आगामी ४० दिनसम्म दिगो विकाससम्बन्धी जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिए। आगामी ४० दिनमा साइकलिङ, प्रभातफेरी, ‘चार दशक नेपालको’ यात्रा झल्काउने तस्बिर प्रदर्शनीलगायत कार्यक्रम तय भएको उनको भनाइ थियो।
कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर हाम्डीले दिगो विकासका लक्ष्य प्राप्तिका लागि ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि नबिलजस्ता बैंकले लगानी गर्नुपर्नेमा जोड दिइन्।
‘दिगो विकासका लक्ष्य पूरा गर्न विश्वका लागि प्रत्येक वर्ष ४ ट्रिलियन डलर आवश्यक पर्छ, जुन कोरोना महामारीअघि वार्षिक २.५ ट्रिलियन डलर आवश्यक पर्ने अनुमान थियो’, उनले भनिन्, ‘नेपालका हकमा २३ अर्ब डलर आवश्यक भएको र प्रत्येक वर्ष ६ अर्ब डलर अपुग छ, जुन कुल जीडीपीको ११ प्रतिशत हो।’
नेपालले दिगो विकासका लक्ष्य पूरा गर्नका लागि ठूलो लगानी आवश्यक भएको र बैंकले दिगो विकासका क्षेत्रमा ठूलो लगानी बढाउन सक्नेसमेत धारणा व्यक्त गरिन्।
सामाजिक उद्यमी अनिल चित्रकारले पर्यावरण जोगाउन आवश्यक भएकामा जोड दिए। नबिलजस्ता बैंकले दिगो विकासका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको उनको धारणा थियो।
सन् १९८४ मा जुलाई १२ मा नेपाल अरब बैंकका नाममा स्थापना नबिल बैंक ग्राहक सुविधा तथा सरल बैंकिङ सेवालाई केन्द्रमा राखी सेवा प्रवाह गर्दै आएको छ। स्थापनाकालदेखि नै प्रविधि प्रयोगमा जोड दिएको बैंकले पछिल्लो समय डिजी बैंकमार्फत ग्राहकलाई सरल र सहज सेवा दिँदै आएको बताएको छ।
नबिलले सन् १९९४ मा पहिलो पटक एटिएम, सन् २०१२ मा पहिलो पटक मोबाइल बैंकिङ, सन् २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप सेवा सुरु गरेको थियो।
सन् २०१६ मा कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको थियो। बैंकले पछिल्लो पटक सन् २०२२ मा ‘एन बैंक’ सुरुआत गरी नेपालमा पहिलो पटक मोबाइलबाटै ६० भन्दा बढी बैंकिङ सेवा प्रवाह गरेको थियो।
उक्त अवसरमा नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर, इसिमोडका प्रबन्ध निर्देशक डा पेमा ग्याम्त्सो, डब्ल्युडब्ल्यूएफ नेपालका प्रतिनिधि डा. घनश्याम गुरुङ, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ह्याबिट्याट फर ह्युमनिटी इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक एलिजा स्थापितलगायत उपस्थिति थियो।
बैंकले हाल देशभर २६८ शाखा, २२ एक्सटेन्सन काउन्टर र ३१६ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ।