सडक दुर्घटना, जाम, अवरोध विश्वभरिको समस्या हो। मानिस हरेक काम न्यून समयमा सम्पन्न गर्न चाहन्छ। सहज, सरल र आरामदायी यात्रा हरेक मानिसको रोजाइमा पर्छ। यात्रालाई सहज बनाउने उद्देश्यले नै विश्वमा ठूलठूला राजमार्ग र सडक बनेका छन्। नेपालले पनि हरेक आर्थिक वर्षको बजेटको ठूलो हिस्सा सडक पूर्वाधारमा खर्च गर्ने गरेको छ। नेपालको भौगोलिक बनावट, संरचना, डिजाइन, अव्यवस्थित सहरीकरणका कारण सडक यातायात सहज बन्न सकेको छैन। विशेष गरी मनसुनको समयमा नेपाली सडक झनै अस्तव्यस्त बन्ने गरेका छन्।
यस वर्षको मनसुन सुरु भए यतामात्रै नेपालका करिब डेढ सय सडकमा क्षति पुगिसकेको छ। सडकको विकास, विस्तार र स्तरोन्नतिमा मुलुकले बर्सेनि खर्बौं रकम खर्चिने गरेको छ। अझ, नेपाली सडक दुर्घटनाको तथ्यांक हेर्ने हो भने झनै अत्यासलाग्दो छ। पछिल्लो डेढ दशकमा मात्रै नेपालमा ३ लाख बढी सवारीसाधन दुर्घटनामा परेको देखिन्छ। प्रहरी प्रधान कार्यालय काठमाडौंका अनुसार २०६५/६६ देखि २०८०/८१ को मंसिरसम्म मुलुकभर ३ लाख १६ हजार २१२ सवारीसाधन दुर्घटनामा परेका छन्। उक्त दुर्घटनाबाट ३२ हजार ८३१ जनाको ज्यान गुमेको छ भने ७१ हजार ७९९ जना गम्भीर घाइते भएका छन्।
सार्क सदस्य राष्ट्र श्रीलंकामा सन् २०२४ को पहिलो छ महिनामा मात्रै १ हजार १०३ सडक दुर्घनाबाट १ हजार १५४ जनाले ज्यान गुमाएका छन्। सन् २०२३ मा श्रीलंकामा सडक दुर्घटनामा परी २ हजार ५५७ जनाले ज्यान गुमाएका थिए। छिमेकी मुलुक भारतमा सन् २०२२ मा ४ लाख ६१ हजार ३१२ सडक दुर्घटनामा परी १ लाख ६८ हजार ४९१ जनाको ज्यान गुमेको थियो। यस्तै, ४ लाख ४३ हजार ३६६ जना घाइते भएको थिए। बिहीबार मात्रै उत्तरी फिलिपिन्समा यात्रुवाहक बससँग पिकअप ट्रक ठक्कर हुँदा एकै परिवारका ११ जनाको ज्यान गुमाएको खबर बाहिरिएको थियो।
सडक दुर्घटनापछि सडक जाम विश्वको अर्को चुनौतीको विषय रहेको छ। नेपालको राजधानी काठमाडौंको प्रमुख समस्यामध्येमा सडक जाम पनि पर्छ। सडक जामले नागरिकको दैनिकी अस्तव्यस्त बनाउँछ भने छटपटी र बेचैनी बढाएर रक्तचाप तथा मानसिक रोग निम्त्याउँछ। नेपाल मात्रै नभएर छिमेकी मुलुक भारत, चीनदेखि विश्वका विकसित राष्ट्रका लागि समेत सडक जाम र दुर्घटना चुनौतीको विषय बनेको छ। यही, समस्या र चुनौतीको सामना गर्ने उद्देश्यले पछिल्लो केही वर्ष यता विश्वको ध्यान ‘स्मार्ट हाइवे’ (स्मार्ट राजमार्ग)तर्फ मोडिएको छ।
हालै मात्र अमेरिकाको मिसिगन राज्यमा स्मार्ट राजमार्ग उद्घाटन भएको छ। मिसिगनले अमेरिकाको पहिलो स्मार्ट हाइवे बनाउन सुरु गरेको हो। अब मिसिगनको इन्टरस्टेट ९४ को तीन माइल स्ट्रेच स्मार्ट हाइवे (स्मार्ट राजमार्ग)मा परिणत हुनेछ। एक्सियोसको प्रतिवेदनअनुसार स्टार्टअप क्याभन्यूले पाइलट परियोजनाको रूपमा स्मार्ट हाइवे निर्माण गर्नेछ। स्मार्ट हाइवे यातायात विभाग मिसिगन र राजमार्गका चालकहरूका लागि ठूलो र लामो ट्रयाकिङ प्रणाली हुनेछ। स्मार्ट हाइवेमा त्यहाँका निकाय र सवारी चालहरूलाई सम्भावित जोखिम, सडकमा आउने अवरोध, दुर्घटना, जाम लगायतको बारेमा जानकारी दिने किसिमले डिजाइन गरिएको छ। स्मार्ट हाइवेले ट्राफिक जामलाई कम गर्ने, दुर्घटना रोक्न र सडक आपतकालिनमा प्रभावकारी प्रतिक्रिया गर्न सहयोग गर्नेछ।
यो पाइलट आयोजना एनआर्बर र डेट्रोइट मिसिगनको बीचमा हुनेछ जुन, पूरा भएपछि दुवै सहरमा जोड्न थप छ चरणमा स्मार्ट राजमार्गलाई ४० माइलसम्म विस्तार गरिनेछ। स्मार्ट हाइवेको छेउमा प्रत्येक २०० मिटरमा पोलहरू हुनेछन्, जसमा सेन्सर पोड, कम्प्युटर पोड र सञ्चार उपकरणहरू जडान हुनेछन्। राजमार्गमा राखिएका क्यामेराहरूले सडकको प्रत्येक भागलाई निगरानी गर्ने, खतरायुक्त ड्राइभिङ अवस्थाहरू पहिचान गर्न एआई र मेसिन लर्निङ एल्गोरिदमहरूद्वारा विश्लेषण गर्ने काम गर्नेछ। क्याभन्यूका अनुसार यसले सडकको अवस्था विश्लेषण गरी यातायात कार्यालय र चालक तथा सडकसँग जोडिएका निकाय र अधिकारीलाई जोड्नेछ। सडकमा कुनै घटना भएमा, प्रयोगकर्ताहरू र सम्बन्धित अधिकारीहरूलाई अलर्ट पठाउने काम पनि सडकमा जडित प्रविधिहरूले गर्नेछन्। यो राजमार्गले आगामी दिनमा हुने भिडभाड र जामलाई कम गर्नका लागि मद्दत गर्नेछ।
स्मार्ट हाइवे निर्माणका लागि सन् २०२० मा नै मिसिगन डिपार्टमेन्ट अफ ट्राफिकेसन (एमडिओटी)ले स्वचालित सवारीसाधनको कोरिडोर विकास गर्ने अवधारणा अगाडि सारेर स्थान छनौट गरिएको थियो। स्मार्ट हाइवेको पहिलो छ किलोमिटर कोरिडोर बेलेभिल सहरको पश्चिममा छ। पाइलट परियोजनाको नाम दिइएको यस परियोजनामा क्यामेरा, सेन्सर, ताररहित सञ्चार प्रणाली र डिजिटल तथा भौतिक पूर्वाधारको समग्र रूपलाई जोडिनेछ। यी अत्याधुनिक प्रविधिको संयोजनलाई पूर्वाधारहरूको भर्चुअल मनोरञ्जन तथा सडक नेटवर्क भन्ने गरिन्छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फोब्र्सका अनुसार स्मार्ट हाइवेको प्रमुख उद्देश्य भनेको स्वचालित सवारीका लागि पर्याप्त सुरक्षित लेनहरू उपलब्ध गराउनु हो। यसले, सवारी चालकले लगाउनुपर्ने इफोर्टलाई एकदमै कम गर्नेछ। यस सडकमा चल्ने सवारीसाधनले ट्राफिक जाममा अप–टु–डेट रहँदा तुरुन्तै जानकारी दिन्छ भने सबै घटनालाई कम गर्न आपत्कालीन जानकारीसमेत रिपोर्ट गर्छ।
एक्सियोसका अनुसार यस्तै परियोजना अमेरिकाकै अस्टिन र टेक्सास नजिक पनि चलिरहेको छ। खास गरी सन् १९५० र ६० को दशकमा विश्वमा यातायात क्षेत्रले नयाँ गति लियो। यातायात क्षेत्रमा आएको नयाँ नयाँ आविष्कारले सवारीसाधनहरू स्मार्ट र प्रविधिले भरिपूर्ण भएका छन्। त्यसैले सडक पनि अब स्मार्ट र आधुनिक बन्नुपर्नेतर्फ विकसित मुलुकको ध्यान मोडिएको हो। यसले भविष्यमा नयाँ झलकको राजमार्ग प्रदान गर्ने स्वचालित सवारीसाधनका लागि प्रविधियुक्त लेनहरू प्रदान गर्नेछ। यो आयोजना पुरा भएपछि सवारीसाधन मात्रै होइन, सडक र सवारीसाधन दुवै स्मार्ट हुनेछन्।
क्याभनुका अनुसार वासिङ्टन डिसीमा आधारित अल्फाबेटको साइडवाक इन्फ्रास्ट्रक्चर पार्टनर्सको सहायक कम्पनीले मिसिगनमा जडान गरेको पहिलो प्रकारको टेकले ट्राफिक, मौसम, खाल्डाहरू, अवरोधहरू र अन्य सडक अवस्थाहरूको बारेमा रियलटाइम डेटाहरू प्रदान गर्नेछ। योसँगै दोस्रो स्मार्ट कोरिडोर यसै वर्षको अन्त्यमा वा अर्को वर्षको सुरुमा अस्टिन, टेक्सास नजिकै खुल्नेछ। यसले, टेक्सासलाई चालकविहीन सवारीसाधनको रूपमा चिनाउन मद्दत गर्नेछ। ‘क्याभन्युले एन आर्बर र डेट्रोइट बीचमा गरेको पाइलट परियोजना सकिएपछि यसले मिसिगनलाई गतिशीलताको अत्याधुनिकता प्रदान गर्नेछ’ मिसिगनका गभर्नर ग्रेचेन ह्वाइटमरले एक विज्ञप्तिमा भनेका छन्।
स्मार्ट हाइवेका प्रणालीले सडकमा रोकिएको सवारी साधन, दुर्घटना, जनावर वा अन्य सम्भावित खतराहरू देख्न र तुरुन्तै पहिचान गर्न सक्छ। यी जानकारीले मानव वा रोबोटबाट दुर्घटना कम गर्न, ट्राफिकलाई अग्रिम तयारी गर्न सहयोग गर्नेछ। अमेरिकी यातायात विभागमा झन्डै एक दशक बिताएका क्याभनुका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टायलर डुभाल भन्छन्, ‘स्मार्ट हाइवे सडकको हरेक २०० मिटरमा राखिएका टेक्नोलोजीयुक्त पोलहरूमा सेन्सर पोड, कम्प्युटर पोड र उन्नत सञ्चार उपकरणहरू समावेश गरिन्छ। यसले शारीरिक सुविधा र उपयुक्त प्रकाश पनि प्रदान गर्नेछ।’
सन् २०३० को सुरुवातसम्ममा धेरै प्रतिशत कारमा स्वचालित प्रणाली प्रयोग हुने अनुमान गरिएको छ। विश्वमा यसका लागि विभिन्न परीक्षण तथा कामहरू भइरहेका छन्। कतिपय अटोब्रान्डले स्वचालित सवारीसाधन निर्माणमा ठुलो फड्को मारिसकेका छन्। मिसिगनका अतिरिक्त टेक्सास र अस्टिनमा हुने परियोजनापछि स्मार्ट हाइवे निर्माणमा विश्वले गति लिने अपेक्षा गरिएको छ। ‘यदि १०० मध्ये १ कारले गाडीभित्रको मार्गदर्शन अलर्टलाई प्रतिक्रिया दियो भने पनि यसले सबै सवारी साधनहरूको ट्राफिक जाममा बिताउने समयलाई कम गर्न सक्छ’ युरोपेली अध्ययनलाई उद्धृत गर्दै काभन्युले भनेको छ।
(एजेन्सीको सहयोगमा)