क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
यातायात व्यवस्था विभागको प्रणालीभित्रै छिरेर नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको अभियोगमा सरकारका उपसचिवसहित १५ जनाविरुद्ध किर्ते अभियोगमा मुद्दा दायर भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले असार २४ मा लुम्बिनीको वन तथा वातावरण मन्त्रालयमा कार्यरत उपसचिव केशव अर्यालसहित १५ विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। मुद्दा दायर गरिएकामध्ये ६ जना पक्राउ परिसकेका छन्। बाँकी ९ जनालाई फरार सूचीमा राखेर प्रतिवादी बनाइएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रतिनिधिसभाबाट विश्वासको मत पाउन असफल भएका छन्। २०७९ पुस ११ मा प्रधानमन्त्री नियुक्त भएका दाहालले असार २८ मा पाँचौंपल्ट प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन्। प्रधानमन्त्रीलाई संसदमा उपस्थित २५८ सांसदमध्ये ६३ जनाले पक्षमा मतदान गरेका छन्। प्रधानमन्त्रीको विपक्षमा १५८ मत परेको छ भने १ मत तटस्थ रहेको सभामुख देवराज घिमिरेले घोषणा गरे। प्रधानमन्त्री दाहाललाई आफ्नै पार्टी नेकपा माओवादी केन्द्रका ३२, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का २१ र माधव नेपाल नेतृत्वको नेकपा एसका १० जना गरी ६३ जना सांसदले पक्षमा मतदान दिए। प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ सदस्यीय रहेका छन्। प्रधानमन्त्रीले विश्वासको मत पाउन १३८ मत आवश्यक पर्ने संविधानमा उल्लेख छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले असार २८ मा संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेसँगै कांग्रेस–एमाले नेताहरूका साथमा शीतलनिवास पुगेर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्। ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७७ गरी १६५ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका छन्।संसद्का अन्य साना दलहरू जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टीसमेत कांग्रेस–एमाले गठबन्धन सरकारकै पक्षमा भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ वर्षे अवधिमा १ हजार ५२० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। २०८० साउनदेखि २०८१ असार २५ सम्म अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार प्रतिवादीमध्ये प्रदेश सरकारका मन्त्री÷सांसद, नगरपालिका र पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित १ सय जनप्रतिनिधि छन्। मनोनीत पदाधिकारी १ सय ८१ जना छन्। भ्रष्टाचार मुद्दा दायरमध्ये घुससहित पक्राउ पर्नेमा ४० जना छन्। अख्तियारका अनुसार यो अवधिमा मुख्यसचिवसहित विशिष्ट श्रेणीका १२, सहसचिव तहका २५, उपसचिव तहका ७२ जना, शाखा अधिकृत तहका १६७ जनालगायत ५२० जना कर्मचारी रहेका छन्। अख्तियारले मुद्दा दायर गरिएका प्रतिवादीविरुद्ध करिब साढे ८ अर्ब ४० करोड ५५ लाख रुपैयाँ बिगो मागेको छ।
नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन्। बसमा चालकसहित ६५ जना रहेको प्रहरीको प्रारम्भिक अनुमान छ। असार २८ गते बिहान ३ः३० बजे काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन्। गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ थिए। समाचार तयार पारुन्जेल बेपत्ता बस नभेटिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ।
सरकारले चालू आर्थिक वर्षको भुक्तानी अन्तिम दिन असार २४ गते एकै दिन ३३ अर्ब ६१ करोड रुपैयाँ बढी भुक्तानी दिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। महालेखाका अनुसार असार २४ गते राती १२ बजेसम्म सरकारी कार्यालय, विभाग तथा मन्त्रालयका लागि एकमुष्ट ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँको चेक तथा भुक्तानी गरिएको हो। यसमा कुल भुक्तानीमध्ये १४ अर्ब ४० करोड १३ लाख पुँजीगत खर्च र बाँकी नियमित खर्च भुक्तानी भएको हो। असार १ यता मात्रै सरकारले १ खर्ब ७७ अर्ब १२ करोड ७१ लाख रुपैयाँ बजेट खर्च गरेको महालेखा जनाएको छ।
कास्कीका विभिन्न स्थानमा पहिरोमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ। पोखरा महानगरमा १० र मादी गाउँपालिकामा एक जनाको पहिरोेमा परेर असार २७ गते राती मृत्यु भएको हो। पोखरा–१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात र पोखरा–३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए।
गृहमन्त्री र गृहसचिवको नाम लिएर भिजिट भिसामा मान्छे विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी निर्मल विष्ट असार २७ मा पक्राउ परेका छन्। विष्टले गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृहसचिव एकनारायण अर्याललगायतसँग कुरा भइसकेको छ’ भन्दै असार २१ मा थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएको आरोप छ।
साताभर सेयर बजारमा ८४.९१ अंकको वृद्धि भएको छ। गत साताको अन्तिम कारोबार दिन असार २० मा २११९.७० को बिन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यो साताको अन्तिम कारोबार दिन बिहीबार ८४.७८ अंकले बढेर २२०४.६१ को बिन्दुमा बन्द भएको हो। गत साता पनि नेप्से पाँच कारोबार दिनमा ६७.७८ अंकले बढेर २११९.७० को बिन्दुमा बन्द भएको थियो। यो साताको पाँच कारोबार दिनमा नेप्सेमा २८ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको छ। गत साता कुल २२ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको थियो।
बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद–बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई असार २४ मा पत्राचार गरेको छ। बीपीडीबीले १६ पुस २०८० मा नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायबीचको त्रिपक्षीय सम्झौताअनुसार हुने गरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र आह्वान गरेको थियो। योसँगै प्राधिकरणले बंगलादेशमा बिजुली बिक्री गर्ने बाटो खुलेको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन्। १०७ सदस्यीय प्रदेशसभामा असार २२ मा मुख्यमन्त्रीलाई ६७ प्रदेश सांसदले समर्थन जनाए भने विपक्षमा ३४ मत परेको थियो।